सोविताको अभिव्यक्तिले अल्मलियो संसद्
सारांश
- रास्वपा सांसद सोविता गौतमको अभिव्यक्तिले प्रतिनिधिसभामा विवाद निम्त्यायो।
- सांसद गौतमले प्रधानमन्त्रीको स्पेन भ्रमणमा गएका नेपाली नफर्किएको विषय उठाएकी थिइन्।
- विभिन्न सांसदहरूले गौतमको भनाइप्रति असन्तुष्टि जनाउँदै स्पष्टीकरणको माग गरे।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमको धारणामा सिंगो प्रतिनिधिसभा अल्मलिएको छ । सांसद गौतमले मंगलबारको प्रतिनिधिसभा बैठकमा ‘स्वयं सम्माननीय प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा केही मानिसहरू कार्यक्रमको बाहना बनाएर सहभागी हुने बाहनामा गएर भन्नेलगायत समाचारहरू आइरहेका छन्’ भन्ने धारणा राखेकी थिइन् ।
उनको यही भनाइमा बुधबारको प्रतिनिधिसभा बैठक अल्मलिएको हो । बुधबारको बैठक सभामुख घिमिरेले सुरु गर्नेबित्तिकै रास्वपा र राष्ट्रिय प्रपातन्त्र पार्टीका सांसदहरू उठेर विरोध गरे । उनीहरू उठेपछि सभामुख घिमिरेले उनै सांसद गौतमलाई बोल्न समय दिए ।
उनले आफूले मंगलबारको प्रतिनिधिसभामा बोलेको अभिव्यक्ति नेपाली भाषा बुझाइमा समस्या भएकाहरूले मात्रै नबुझेर आफूमाथि आरोप लगाएको बताइन् । प्रधानमन्त्रीको स्पेन भ्रमणमा गएर नफर्किएका नेपालीहरूको बारेमा कसैले अपव्याख्या गर्छ भने त्यो आफ्नो नभई उनीहरूकै समस्या भएको दाबी उनले गरिन् ।
गौतमले प्रश्न गर्दै भनिन्, ‘मेरो भनाइ रेकर्डबाट किन हटाउनुपर्ने ?’गौतमले प्रधानमन्त्री गएको कार्यक्रममा कोही गएर फर्किएनन् भन्नु र प्रधानमन्त्रीसँग गएर फर्किएनन् भन्नुमा निकै अन्तर भएको बताइन् । उनले सांसदहरूमा नेपाली भाषा बुझाइमा समस्या भएका कारण आफ्नो भनाइ हटाउनु नपर्ने त होइन नि ? भन्दै प्रतिप्रश्न पनि गरिन् ।
‘सांसद महोदयहरूको नेपाली भाषा बुझाइमा समस्या भएका कारण मेरा भनाइ हटाउनुपर्ने त होइन होला नि ? मैले बोलेको विषय कसैले नबुझेर अपव्याख्या गर्छ, चुनौती दिन्छ भने त्यो मेरो समस्या होइन । जसको समस्या हो, उसैको उपचार गरियोस्,’ सांसद गौतमको चुनौती छ ।
आफूले कहीँ पनि स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएकै मान्छे फर्किएनन् भनेर नभनेको गौतमले दाबी पेस गरिन् । ‘सभामुख महोदय मैले कहीँ पनि स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मान्छेहरू फर्किएनन् भनेको छैन । राम्रोसँग काम खोलेर सुन्नुहोस्,’ सांसद गौतमले भनिन् । उनले आफूले बोलेको कुराको पूर्ण जिम्मेवारी आफैँ लिने दाबी गर्दै प्रधानमन्त्री गएको कार्यक्रममा सहभागी हुने बहानामा सयौँ नेपाली स्पेन गएको र उतै बसेको सत्य रहेको दोहोर्याइन् । ‘मैले बोलेको कुराको म पूर्ण जिम्मेवारी लिन्छु । यो सत्य हो, प्रधानमन्त्रीज्यूको आधिकारिक प्रतिनिधिमण्डल सबै कार्यक्रम सकेर नेपाल फर्किनुभयो,’ गौतमले भनिन्, ‘तर, यो पनि सत्य हो कि प्रधानमन्त्री जानुभएको कार्यक्रममा सयौँ नेपाली कार्यक्रमको बहानामा गएर फर्किएका छैनन् र उतै बसेका छन् ।’
गौतमपछि बुधवारको बैठकमा बोलेकी एमाले सांसद सुनिता बरालले भने गौतमलाई भाषा र परिभाषाको ज्ञान सिकाउन तयार रहेको जवाफ दिइन् । ‘पटक पटक टिप्पणी गरिएका माननीयलाई म प्रश्न गर्न चाहन्छु, भाषाको ज्ञान र परिभाषाको ज्ञान तपाईँलाई सिकाउन हामी तयार छौँ । तर, बोल्दा हेक्का राखेर बोल्न म चुनौती पनि दिन चाहन्छु,’ बरालको पनि चुनौती छ ।

बरालले संसद् अफवाह फैलाउने र गलत कुराको प्रचार गर्ने थलो नभएकोमा सचेत गराइन् । ‘यो संसद् अफवाह फैलाउने, गलत कुराको प्रचार गर्ने, गलत टिप्पणी गर्ने र आफू बाहिरिने, कुनै कुराको धैर्यतापूर्वक सुन्न पनि नसक्ने ठाउँ होइन,’ बरालले भनिन्, ‘फेरि पनि म दोहोर्याएर भन्न चाहन्छु, तथ्यको आधारमा कुरा गरौँ, देशको प्रधानमन्त्री दल विशेष मात्रै होइन राष्ट्रको एउटा कार्यकारी प्रमुखको हिसाबले गएको हुन्छ ।’
कांग्रेस सांसद शान्ति विकले प्रधानमन्त्रीमाथि तथ्यहिन आरोप लगाउनु गरिमामय सदनको ओज घटाउनु भएको बताइन् । ‘बिना आधार, विना उजुरी मानव तस्कर प्रयोग गरेर अरुको राजनीतिक, सामाजिक, व्यक्तिगत चरित्र समाप्त पार्ने कोसिस केवल सहकारीको रिस साधेको भन्ने मेरो बुझाइ छ । देशको प्रधानमन्त्रीसँग देशको गरिमा जोडिएको हुन्छ,’ सांसद विकले भनिन्, ‘माननीयज्यूले स्पेन भ्रमणमा एउटा बाहानामा टोली लिएर गएर उही छोडेको भनेर आरोप लगाउनुभयो । तथ्यहिन आरोप प्रधानमन्त्रीमाथि लगाउनु गरिमामय सदनको ओज घटाउनु हो ।’
उनीमात्रै होइन कांग्रेसकी अर्की सांसद रमा पौड्याल कोइरालाले पनि संसदमा राष्ट्रको छबिलाई धमिलो पार्नेगरी गौतमले धारणा व्यक्त गरेको बताइन् । उनले भनिन्, ‘हिजो संसदमा राष्ट्रको छबिलाई धमिलो पार्नेगरी माननीयज्यूले जुन कुरा व्यक्त गर्नुभयो, त्यसको विषयमा मलाई गम्भीर चासो भएको छ । हाम्रो नेपालीहरूको छवि विश्वमा नै राम्रो देखिएको थियो । प्रधानमन्त्रीज्यूको टोलीमा गएका मान्छेहरू लुकायो भन्नेखालको अभिव्यक्ति दिनुभयो त्यो भनेको एउटा गम्भीर विषय हो ।’
सांसद् पौड्यालले सभामुखले कार्य व्यवस्था परामर्श समितिमा कुराहरूले हाम्रो संसद्को छविलाई कहाँ पुर्याउँछ भनेर सांसदहरूलाई प्रश्न गर्नुपर्ने बताइन् । ‘हामी सांसदहरूलाई भोलि विदेशका इमिग्रेसनमा अनुहार हेरेर फर्काइदिँदा हाम्रो छवि के हुन्छ ? त्यो कुरालाई हामीले बुझ्न पर्छ कि पर्दैन’ पौड्यालले भनिन् ।
गौतमको धारणाबारेको क्रम त्यतिमै रोकिएन । प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन गएका गृहमन्त्री रमेश लेखकले पनि यसबारे धारणा राखे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणबारे केहीले असत्यका पुलिन्दा बाध्ने काम गरिरहेको बताए । लेखकले प्रधानमन्त्रीसँग विदेश भ्रमण जान टिलोको निधो मन्त्रिपरिषद् बैठकले निर्णय गरेर मात्रै टुंगो लगाउने बताए ।

‘प्रधानमन्त्रीको भ्रमणमा जाने मानिसहरू नेपाल सरकार मन्त्रिपरिषद्ले निर्णय गरेर मात्रै जान्छ । त्यो कुरा सार्वजनिक हुन्छ । को को मानिस सम्माननीय प्रधानमन्त्रीसँग विदेश जानुभएको छ भन्ने लिष्ट हुन्छ,’ गृहमन्त्री लेखकले भने, ‘साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने को–को मान्छे जानु भएको थियो, त्यसमध्य को फर्किएर आएन भन्दिनुभयो भने सरकारलाई सजिलो हुन्थ्यो भन्ने मेरो आग्रह छ । होइन भने यस्ता कल्पनामा असत्यका पुलिन्दा बाधेर कही पुगिदैन ।’
गृहमन्त्री लेखकले सांसदहरूले जिम्मेवार ढंगले सत्य तथ्य सूचना संसद्मा बोल्नुपर्ने बताए । सांसदले जुनसुकै विषयको पनि सामान्य जानकारी राख्न पर्ने गृहमन्त्री लेखकको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
-
झापामा हुरी र वर्षाले केराखेती नष्ट
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण