बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

एकीकृत समाजवादीमा बामदेवलाई तेस्रो वरीयता

गौतम भन्छन्– हामी नेकपा एकीकृत समाजवादीमा एकीकृत हुने हो
शुक्रबार, २७ असार २०८२, १४ : ०५
शुक्रबार, २७ असार २०८२

सारांश

  • वामदेव गौतम नेकपा एसमा तेस्रो वरिष्ठ नेता दिने सहमति भएको छ।
  • माधव नेपाल र वामदेव गौतमबीच पार्टी एकता गर्ने सहमति भएको छ, साउन २ गते एकता घोषणा हुनेछ।
  • गौतमले एकीकृत समाजवादीको कार्यदिशा र विचार मान्न तयार रहेको बताएका छन्।

काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमलाई नेकपा एकीकृत समाजवादीमा तेस्रो वरीयताको वरिष्ठ नेता दिने सहमति भएको छ । 

शुक्रबार बिहान एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र गौतमबिच पार्टी एकता गर्ने सहमतिसँगै एकीकृत पार्टीमा गौतमको वरीयताबारे पनि टुङ्गो लागेको हो । 

दुई पार्टीबिच एकता गर्ने सहमतिका क्रममा गौतमलाई तेस्रो वरीयताको वरिष्ठ नेता बनाउने सहमति भएको एकीकृत समाजवादीका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले रातोपाटीलाई जानकारी दिए ।

हाल एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपाल पहिलो बरियता, सम्मानित नेता झलनाथ खनाल दोस्रो वरीयतामा रहेका छन् । गौतम खनालपछिको वरीयतामा हुनेछन् । 

‘हाम्रो विधानमा अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेता र वरिष्ठ उपाध्यक्ष लगायत पद रहने व्यवस्था छ । वामदेव कमरेडलाई सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरीयतामा वरिष्ठ नेता दिने सहमति भएको छ’, ज्वालाको भनाइ छ । 

दुई पार्टी बिचको एकता घोषणा साउन २ गते हुने सहमतिमा उल्लेख छ । साउन २ मा हुने पार्टी एकता घोषणपछि गौतमसँग आउने अन्य नेताहरूको पद के हुने भन्ने टुङ्गो लाग्ने ज्वालाको भनाइ छ । 

शुक्रबार माधव नेपालसँग एकता गर्ने सहमतिपछि गौतमले एकीकृत समाजवादीको कार्यदिशा, विचार र सिद्धान्त मान्न आफू तयार भएर एकता गर्ने निर्णयमा पुगेको बताए ।

‘साउन २ गते एकता घोषणा सभा हुन्छ । त्यसैमा जेजे हुने हो हुन्छ’, गौतमले भने, ‘एकतापछि नेकपा एकीकृत समाजवादी नै रहन्छ । हामी नेकपा एकीकृत समाजवादीमा एकीकृत हुने हो ।’

गौतमले एकतापछि आफ्नो पदीय जिम्मेवारीबारे यो चाहिन्छ भनेर नभनेको भन्दै भन्नेजति पहिला नै भनिसकेको बताए । पाँच वर्षअघि नेकपा विभाजन भएर एमाले र नेकपा माओवादी हुँदा कतै पनि नलागी नेकपा एकता अभियान थालेका नेता वामदेव गौतम अन्ततः माधव नेपाल नेतृत्वको समाजवादीमा समाहित हुन पुगेका हुन् । 

यस अगाडि नै गौतम नेकपा एकीकृत समाजवादी जान खोजे पनि त्यसवेला गौतमले मागेको पद एकीकृत समाजवादीले दिन आनाकानी गरेपछि एमालेमा जान छलफल चलाएका थिए । 

एमाले अध्यक्ष केपी ओलीले पनि एमालेमा आएपछि गौतमलाई उचित जिम्मेवारी दिने तर विधान महाधिवेशनले पद व्यवस्थापन गर्ने बताएका थिए ।

गौतम एमालेमा समाहित हुन तयार नै देखिएपनि एमालेको सचिवालय बैठकले ‘वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्दै जाने’ भन्ने मात्रै निर्णय गरेपनि एमालेले उनलाई खासै वास्ता गरेको थिएन ।

२०७८ सालमा नेकपा एमाले विभाजित भएपछि गौतम ओलीसँग असन्तुष्ट बन्दै सोही पार्टी छाडेका थिए । त्यही बेला माधव नेपाल एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गर्न पुग्दा अलग्गै बसेका थिए । नेकपाकालमा ओली र प्रचण्डबिच अन्तरविरोध चुलिँदा गौतम प्रचण्ड/माधवतिर लागेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप