साहित्यकारहरू लेखनभन्दा महोत्सवमा बेसी केन्द्रित हुँदै गए कि !
सारांश
- झापाकी बान्तावाको उपन्यास 'प्याउली' प्रकाशित भएको छ, जसले साहित्यपोस्ट पुरस्कार जितेको छ।
- लेखिका बान्तावाले आफूभित्रको घाउ निको पार्न उपन्यास लेखेको बताइन्, र यसलाई पाठकले माया दिए।
- उनले साहित्यिक बजारमा उपन्यासको बढ्दो महत्व र आफ्नो जीवनको अनुभवलाई उपन्यासमा उतारेकी छिन्।
झापाको पृथ्वीनगरमा जन्मिएकी बालिका बान्तावाको उपन्यास ‘प्याउली’ (२०८१) प्रकाशित छ ।
कविता, गीत तथा आख्यान लेख्न र पढ्न रुचि राख्ने बान्तावा लामो समयदेखि वैदेशिक रोजगारीमा छन् । उनै बान्तावालाई यसपालि रातोपाटीको ‘नौ प्रश्न’ स्तम्भमा निम्त्याएका छौँ ।
१) भर्खरै तपाईंको पहिलो उपन्यास ‘प्याउली’ले साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार प्राप्त गर्यो । सबैभन्दा पहिला त यो कृति र तपाईं दुवैलाई हार्दिक बधाई । वास्तवमा तपाईं किन लेख्नुहुन्छ ? लेख्नका लागि यहाँलाई कुन कुराले सबैभन्दा धेरै झकझकाउँछ ? त्यो पनि बताइदिनु न ।
तपाईंको प्रश्न र शुभेच्छाका लागि प्रथम त धन्यवाद व्यक्त गर्दछु । वास्तवमै पुरस्कार मेरा लागि ‘सप्राइज’जस्तै भयो । मैले उपन्यास लेखिरहँदा न पुरस्कार पाइएला भन्ने सोचेँ न त पुस्तकले पाठकको यति धेरै माया पाउला भनेर सोचेको थिएँ । मैले पुस्तक लेख्दै गर्दा यति सोचेको थिएँ कि मभित्र एउटा गहिरो घाउ छ । जसलाई उपन्यास नामको औषधिमार्फत निको बनाउन चाहन्छु । पुस्तक प्रकाशन भइसकेपछि सबैले माया दिनुभयो । यसलाई धेरैले आफ्नै कथा सम्झिदिनुभयो, प्रेमले स्पर्श गर्नुभयो । म आफैँ प्याउली सबैको मायाले झनै प्याउलिएँ । यति भनिसक्दा सायद म किन लेख्छु भन्ने प्रश्नको जवाफ दिएँ कि जस्तो लाग्छ तर यति मात्रै होइन, लेख्नुपर्ने कारण अरू पनि धेरै छन् । हामी स्वभावैले सामाजिक प्राणी हौँ । समाजका विद्यमान विकृति, लैङ्गिक विभेद र असमानताले समेत मेरो सर्जक मनलाई चिमोट्ने गर्छ, लेख्न झकझकाउने गर्छ । आम मान्छेका स–साना उतारचढावले समेत छोइन्छु म । मलाई यस्तै कुराले लेख्न प्रेरित गर्छ । सबैभन्दा बेसी त मान्छे आफू स्वभावले आत्माकेन्द्रित भएर होला, आफ्नै जीवनका उकाली–ओरालीले लखेट्ने गर्छ । लेख्नलाई त्यही कुराले बेसी झकझकाउने गर्छ ।
२) हिजोआज केमा व्यस्त हुनुहुन्छ ? अन्तिमपटक कुन कृति पढ्नुभएको थियो ? यो कृति कस्तो थियो ?
नियमित रोजीरोटीका लागि काम गर्नु परिगयो । त्यसका साथसाथै कार्यक्रम र भेटघाटमा सामेल हुनैपर्यो । समय त्यसै भाग्दोरहेछ, थाहै नदिई । मैले अन्तिमपटक पढेको पुस्तक लेखक छुदेन काविमोको उपन्यास ‘उरमाल’ हो । अत्यन्तै कलात्मक भाषाशैलीका कारण पुस्तक पठनीय लाग्यो । पूर्वाेत्तर भारत, त्यसमा पनि चियाकमानका आदिवासीको कथा बुनिएको छ ‘उरमाल’मा । अनेक पात्रहरूको नागबेली दुःख र संघर्षले लेखिएको पुस्तक हो, काविमोको ‘उरमाल’ ।
३) पछिल्लो समयको साहित्यिक बजार र बहस कस्तो छ ? यसबारे यहाँको धारणा के छ ?
यस विषयमा मलाईभन्दा बेसी हजुरलाई थाहा हुनुपर्छ । खासगरी नेपालमा वर्षैभरि साहित्य महोत्सव भइरहेको हुन्छ । मिडिया प्रत्यक्ष रूपमा जोडिएका हुन्छन् उत्सवहरूमा । साहित्यिक बजारको सूचना तपाईंहरूजस्तो मिडियाले नै सम्प्रेषण गर्नुहुन्छ । मलाई त साहित्यकारहरू लेखनभन्दा पनि महोत्सवमा बेसी केन्द्रित हुँदै गएको हो कि जस्तो पनि लाग्न थालेको छ । यसमा गलत पनि हुन सक्छु म । यद्यपि बजारमा राम्रा पुस्तकहरू समेत आइरहेकै छन् ।
म आफ्नो बाङ्गोटिङ्गो जीवनलाई पुस्तकमा लेख्न चाहन्थेँ । तर मैले मेरो जीवन कसलाई पढाउनु ? यसको के अर्थ ? यसो सोचेँ, मेरो जिन्दगी कुनै आख्यानभन्दा के फरक छ ? त्यसो भए म आफैँलाई उपन्यास बनाएर लेख्छु ।
४) यहाँको बुझाइमा उपन्यास के हो ? यहाँ उपन्यास विधामै किन र कसरी आकर्षित हुनुभयो ? उपन्यास लेख्दा तपाईंलाई सबैभन्दा चुनौतीपूर्ण कुरा के लाग्छ ? अनि तपाईंले कविता, आलेख र संस्मरणमा पनि कलम चलाइरहनुहुन्छ । आफूले कलम चलाइरहेका विधामध्ये यहाँलाई सबैभन्दा धेरै कुन विधाले तान्छ ?
कथालाई विस्तार गर्ने विशाल आकाश हो उपन्यास । जहाँ उपन्यासकारले आफ्नो क्षमता अनुसारको सीप तथा कला देखाउन सक्छ । उपन्यासकारको सीप रातको आकाशमा देखिने ताराहरू जस्तै हुन्छन्— केही ठुला र चम्किला, केही साना र कम चम्किला । यी सब लेखकमा भरपर्ने कुरा हुन् भन्ने लाग्छ ।म खासमा संयोगले उपन्यासकार भएँ भन्दा पनि फरक पर्दैन । म आफ्नो बाङ्गोटिङ्गो जीवनलाई पुस्तकमा लेख्न चाहन्थेँ । तर मैले मेरो जीवन कसलाई पढाउनु ? यसको के अर्थ ? यसो सोचेँ, मेरो जिन्दगी कुनै आख्यानभन्दा के फरक छ ? त्यसो भए म आफैँलाई उपन्यास बनाएर लेख्छु । यसरी मैले उपन्यास विधा रोजेकी हुँ । उपन्यास लेखिरहँदा धेरै चुनौती नआएका होइनन् । म कथा, कविता, संस्मरण लेख्न प्रयास गरिरहेकी लेखकलाई एकैपटक उपन्यासमा जानु सजिलो छँदै थिएन । उपन्यासमा पात्रहरूको छनोट, प्लट सेटिङ, कथाको विस्तार, उपकथाहरूको निर्माण कसरी गर्ने ? निकै चुनौती थियो ।
यतिखेर प्याउली उपन्यासको कुरा गर्दै गर्दा मैले बिर्सनै नमिल्ने नाम लिनैपर्छ । मेरो भाइ कवि हेमन यात्री जसले मैले उपन्यास लेख्दै गर्दा बारम्बार सल्लाह, सुझाव र आइडियाहरू दिइरह्यो । म एकदमै हतारमा लेख्ने मान्छे । उपन्यासका धेरैजसो भाग घरबाट काममा जाँदा, कामबाट घर फर्कंदा लेखेकी हुँ । मेरो हतारो लेखन देखेर कहिलेकाहीँ भाइको गाली समेत खाएकी छु मैले । लेखकले पर्खेर लेख्नुपर्छ । लेखकसँग धैर्यता चाहिन्छ । अध्ययनको जरुरी पर्छ भनेर सिकाउने गुरु पनि हो ऊ । एकपटक लेखेपछि सकियो भन्ने मलाई उपन्यास लेख्ने क्रममा पुनर्लेखन गर्नुपर्छ भनेर कराइरह्यो । त्यसैले कहिलेकाहीँ भाइलाई जिस्केर हेडसर भन्ने गरेकी छु । भाइकै कारण हिजोआज लेख्नलाई हतार गर्दिनँ म । लेख्नलाई पर्खिन्छु ।
अब तपाईंले भनेको कुन विधाले लेख्नलाई आकर्षण गर्छ भन्ने प्रश्न छ । जहाँसम्म एउटा लेखकका लागि लेखनको जुन विधालाई निरन्तरता दिन सक्यो उसका लागि त्यही विधा प्रिय बन्दै जान्छ जस्तो लाग्छ । मेरो हकमा कविता, कथा, संस्मरण यदाकदा गीत पनि लेख्ने गर्छु । तर पछिल्लो समय मैले उपन्यास लेख्दै गर्दा यही विधाको प्रेमले तानिरहेको सत्य हो । प्याउली उपन्यास लेखिरहँदा त्यसले लतीजस्तो बनायो मलाई । पात्रहरूसँग घोत्लिने बानी परेछ । प्लटहरूको कम्पोजिसन कसरी गर्ने जस्ता कुरा दिमागमा खेलिरहन्छन् । हिजआज दिमागमा आख्यानका यस्तै नयाँ प्लटहरू आइडियाहरू खेलिरहन्छन् ।
५) समकालीन नेपाली उपन्यासको अवस्था कस्तो देख्नुभएको छ ? यसले कुन दिशा लिइरहेको छ ?
आज पनि बजारमा पाठकको छनोट सबैभन्दा बेसी उपन्यासमै छ जस्तो लाग्छ । पठनका हिसाबले र बिक्रीको हिसाबले पनि उपन्यास अघि छ जस्तो लाग्छ । हरेक वर्ष प्रतिष्ठित पुरस्कार गुठीहरूका नजरमा उपन्यास नै परेको देखिन्छ । सायद पाठकका लागि सम्प्रेषण हुन सहज भएर पनि उपन्यास वा आख्यान रोजाइमा परेको हुन सक्छ । पछिल्लो समय आख्यान लेखकहरूको सङ्ख्या बढ्दै गइरहेको सत्य कसैले नकार्न सक्ने अवस्था छैन । अझ स्थापित कविहरू समेत उपन्यास लेखनमा आइरहनुभएको छ । यसले के देखाउँछ भने आगामी दिनमा आख्यान विधा अझ विस्तार भएर जान्छ भन्ने लाग्छ ।
मैले सुरुमै भनेँ नि, प्याउली लेख्दै गर्दा लेख्नुबाहेक मेरो उद्देश्य केही थिएन । बस, म आफू रित्तिन चाहन्थेँ ।
६) लेखेर अहिलेसम्म के कति कमाउनुभयो वा के गुमाउनुभयो ?
लेखेर प्रशस्तै माया कमाएँ । नयाँ–नयाँ पाठकहरू कमाएँ । सबैभन्दा बेसी समाजले मलाई हेर्ने सकारात्मक दृष्टि कमाएँ । मेरा लागि लाख हो यो । अब लेखेरै मैले गुमाएको के छ ? अहं, केही छैन ।
७) फेरि कुरा यहाँको पछिल्लो कृतितिर मोडेँ । पाठकलाई पढ्न सिफारिस गर्नका लागि ‘प्याउली’मा त्यस्तो के छ ? पाठकले यो कृति किन पढ्नुपर्छ जस्तो यहाँलाई लाग्छ ?
मैले सुरुमै भनेँ नि, प्याउली लेख्दै गर्दा लेख्नुबाहेक मेरो उद्देश्य केही थिएन । बस, म आफू रित्तिन चाहन्थेँ । मैले जेका लागि लेखेकी थिएँ, त्यो प्राप्त गरिसकेकी छु । पुस्तक बजारमा गइसकेपछि त्यसको प्रतिक्रिया आउने नै भयो । पाठकहरू, अध्येताहरू, समीक्षक वा लेखक कवि भन्ने गर्नुहुन्छ कि प्याउली आजभन्दा पचास वर्षअघिको झापाको पृथ्वीनगर हालको भद्रपुरको चित्र, समय, त्यसबेलाको व्यवस्थाको झिल्को बुझ्नका लागि पढ्नुपर्छ । त्यो समयमा जन्मिएकी एक किशोरीको उतारचढाव बुझ्नका लागि पढ्नुपर्छ भन्नुहुन्छ । आजका किशोरीहरूले प्याउली पढेर प्याउलीको मुख्य पात्र लादिप्माको जीवनबाट पाठ सिकेर अगाडि बढ्नुपर्छ भन्नुहुन्छ । उपन्यास लेख्दै गर्दा मैले यसरी कहिल्यै सोचेकी थिइनँ ।
८) अन्तिमपटक तपाईंलाई झकझकाएको कुनै एउटा साहित्यिक कृति सम्झिन पर्यो भने कसलाई सम्झिनुहुन्छ र किन ?
यसरी एउटै पुस्तकले झकझकाएको भन्ने छैन मलाई । किन छैन भने, कुनै पुस्तकको विषय राम्रो लाग्छ । विषयले तान्छ । कुनै पुस्तकको लेखनशैली मन पर्छ, शैलीले तान्छ । कुनै पुस्तकमा लेखकको कल्पनाशीलताले झकझकाउँछ । यसरी भिन्नभिन्न पुस्तक भिन्नभिन्नै कारणसहित मन पर्छन् ।
९) अब अन्तिम प्रश्न, सोध्छुँ है । आखिर जिन्दगी के रहेछ ?
जब एउटा मान्छे जन्मन्छ, हुर्किन्छ । अनेकौँ अनुभवहरूमा बाँच्छन् । अन्तिममा उमेरको उपल्लो डिलमा पुगेर आफूले बाँचेका दिन सम्झेर टोलाउँछ । सायद एउटा जिन्दगीको नाम हो त्यो । अथवा यसो भनौँ, जन्मदेखि मृत्युसम्मको यात्राको नाम हो जिन्दगी । यसै कारण त जिन्दगी जिन्दावाद छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण