बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

यो वर्ष अर्थतन्त्रका लागि अवसर खेर फालिएको वर्ष : अध्यक्ष प्रचण्ड

सोमबार, ३० असार २०८२, १४ : ४९
सोमबार, ३० असार २०८२

सारांश

  • प्रचण्डले वर्तमान सरकारले अघिल्लो सरकारका योजनाबाट फाइदा लिएको आरोप लगाए।
  • उनले रोजगारी सिर्जना नभएको र रेमिटेन्स बढेको विषयलाई लिएर सरकारको आलोचना गरे।
  • प्रचण्डले सरकारले स्रोतको सदुपयोग गर्न नसकेको र विकासमा ध्यान नदिएको बताए।

काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विशेष सम्बोधन गर्दै अघिल्लो सरकारले थालेका योजनाबाट प्राप्त परिणामबाहेक वर्तमान सरकार आफैँले कुनै उल्लेखनीय काम नगरेको आरोप लगाएका छन् । सम्बोधनका क्रममा उनले यो वर्ष अर्थतन्त्रका लागि ‘अवसर खेर फालिएको’ वर्ष भएको टिप्पणी गरे ।

प्रचण्डले भने, ‘रोजगारीको अवसर सिर्जना नभएकोले वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेको छ, र त्यसैकारण रेमिटेन्स बढेको देखिएको हो। तर, सरकारले यसलाई आफ्नै उपलब्धि भनेर भ्रम छर्न खोजेको छ।’

उनले ब्याजदर घट्दा पनि कर्जा प्रवाह नहुनु, बैङ्कहरूमा ६–७ खर्ब रुपैयाँ थुप्रिनुजस्ता तथ्याङ्क प्रस्तुत गर्दै सरकारले स्रोत साधनको सदुपयोग गर्न नसकेको आरोप लगाए । सरकारको नीतिका कारण पुँजी पलायन हुने, बचत निरुत्साहित हुने, कमजोर प्रतिफल भएका क्षेत्रमा लगानी हुने र त्यसले अर्थतन्त्रलाई अझ सङ्कटमा पुर्‍याउने खतरा औँल्याए ।

प्रचण्डले उत्पादनमूलक क्षेत्र, रोजगारी सिर्जना, र दिगो विकासजस्ता पक्षलाई बेवास्ता गर्दै सरकार घरजग्गा र सेयर कारोबारमा मात्र ध्यान केन्द्रित गरेर राष्ट्रिय अर्थतन्त्र निर्माण नहुने उनले बताए ।

उनले कीर्तिपुरस्थित क्रिकेट रङ्गशालाको उदाहरण दिँदै भने, ‘मेरो सरकारले फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता गरिसकेको थियो। तर, नयाँ सरकारले त्यसलाई प्रतिष्ठाको विषय बनाउँदै ३०० दिनमा निर्माण सकिने घोषणा गर्‍यो। एक वर्ष बितिसक्दा न फ्लडलाइट जडान भयो, न प्याराफिट बन्यो’ भने । 

त्यसैगरी, राष्ट्रिय गौरवका आयोजना पनि सरकारको प्राथमिकतामा नपरेको उनको आरोप छ। सुनकोसी–मरिन डाइभर्सनदेखि महाकाली करिडोरसम्मका योजनाको प्रगति अत्यन्तै कमजोर रहेको उल्लेख गर्दै प्रचण्डले भने, ‘प्रगति अधिकांश आयोजनामा ५० प्रतिशतभन्दा कम छ, कतिपय त १० प्रतिशत पनि नाघेका छैनन्। बैठक बसेर निर्देशन दिएर मात्र काम अघि बढ्दैन। नियमित अनुगमन र ठोस पहल चाहिन्छ।’

उनले वर्तमान सरकार योजनाबद्ध, उत्तरदायी र क्रियाशील ढङ्गले काम गर्न नसकेकोले देशले आर्थिक अवसर गुमाएको र विकासको गति सुस्त भएको टिप्पणी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप