आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

परिवार, बाल्यकाल र प्रविधि : आजका बच्चाहरूको चुनौती

बुधबार, ३२ असार २०८२, १७ : १९
बुधबार, ३२ असार २०८२
  • उत्सव भट्टराई 

परिवार भनेको जीवनको पहिलो विद्यालय हो । जहाँ हामी जन्मन्छौँ, हुर्कन्छौँ, सिक्छौँ र जीवनको पहिलो कदम चाल्छौँ । हाम्रो बाल्यकालका अमूल्य दिनहरू परिवारको माया र साथले भरिएका हुन्छन् । आमा, बाबु, दाजुभाइ, दिदीबहिनीका माया, हेरचाह र साथले नै हामीलाई हरेक दिन अघि बढ्न हिम्मत दिएको हुन्छ । त्यो परिवार, त्यो नाता नै हाम्रो जीवनको आधार हो ।

आज जब म विगतका ती सुनौला दिन सम्झन्छु, मन भारी हुन्छ । पहिले हामीसँग परिवारका सदस्यसँग खेल्न, हाँस्न, रमाउन समय हुन्थ्यो । हामी घाममा दौडन्थ्यौँ, गाउँका गल्लीबाट गुज्रेर फुटबल, इन्टुमिन्टु, लल्टनमा, लट्टै, कबड्डी, खोखो, रुमाल लुकाई, डन्डीबियो, चुंगीजस्ता अनगिन्ती खेल खेल्थ्यौँ । ती खेल हाम्रो शारीरिक मात्र होइन, मानसिक र सामाजिक विकासका आधार थिए ।

यी खेलले हामीलाई अनुशासन सिकाए; कसरी सहकार्य गर्ने, हारमा पनि कसरी सहज बन्ने, जितको आनन्द कसरी बाँड्ने भन्ने सिकाए । खेल मैदानमा पाएको अनुभूति हामीलाई जीवनभर याद रहन्छ । साथीहरूको साथ, प्रतिस्पर्धा अनि एकअर्काप्रति देखाएको सम्मानले हाम्रो मन र आत्मालाई बलियो बनायो ।

त्यस्तै, हामी आफैँ काठको टुक्रा, पुराना चक्काहरू र तारले जोडेर साना–साना गाडी बनाउँथ्यौँ । मकैको बोटबाट बनाएको बन्दुकले खेललाई अझ मजा दिने गथ्र्यो । दूधको पोका र मोनामी डेटपेनले बनाएको होलीको पिचकारीले हामीलाई सिर्जनशीलताको कदर सिकायो । त्यो सबै थियो हाम्रो सरल तर रमाइलो बाल्यकाल ।

आजका बालबालिकाको जीवनशैली निकै फरक छ । मोबाइल, ट्याब्लेट, इन्टरनेटले हाम्रा जीवनमा प्रवेश गरिसकेका छन् । यो प्रविधिले ज्ञान र मनोरञ्जन त दिएको छ, सँगसँगैे एउटा ठुलो समस्या पनि ल्याएको छ, त्यो हो ‘मोबाइलको लत’ ।

तर आजका बालबालिकाको जीवनशैली निकै फरक छ । मोबाइल, ट्याब्लेट, इन्टरनेटले हाम्रा जीवनमा प्रवेश गरिसकेका छन् । यो प्रविधिले ज्ञान र मनोरञ्जन त दिएको छ, सँगसँगैे एउटा ठुलो समस्या पनि ल्याएको छ, त्यो हो ‘मोबाइलको लत’ । बालबालिका दिनभर मोबाइलमा व्यस्त हुन्छन्, परिवार र साथीहरूको साथबाट टाढा हुँदै छन् । बाहिरी खेलकुद कम हुँदै गएको छ । संवाद घटेको छ । मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पर्न थालेको छ ।

आजका बालबालिकामा देखिने आत्मबलको कमीले मलाई धेरै चिन्तित बनाउँछ । साना कुरामा थर्थराउनु, सानो असफलतालाई पनि आफ्नो मूल्य घटाउने रूपमा लिनु र तिनका कारण कम उमेरमै डिप्रेसनको चपेटामा पर्नु आम सामाजिक समस्याका रूपमा देखापरेको छ । यो केवल बालबालिकाको समस्या होइन, यो हाम्रो समाजको ठुलो चुनौती हो ।

हाम्रो कर्तव्य छ— आफ्ना छोराछोरीलाई जीवनको साँचो शिक्षा दिनु, जीवन जिउन सिकाउनु, हार्न पनि सिकाउनु, हारपछि उठ्न सक्नुको महत्त्व बुझाउनु, जीवनमा डराउनु कमजोरी होइन, अनुशासनमा नबस्नु कमजोरी हो भन्ने सिकाउनु । अनुशासनविना जीवन अधुरो र अस्थिर हुन्छ ।

हामीले बालबालिकालाई आत्मबल, धैर्य, इमानदारी र मेहनतको मूल्य सिकाउनुपर्छ । उनीहरूलाई वास्तविक जीवनका चुनौती सामना गर्न सक्षम बनाउनुपर्छ । परिवार र समाजले मिलेर बालबालिकालाई प्रेम, मार्गदर्शन र समर्थन दिनुपर्छ ।

म कहिलेकाहीँ सोच्छु, ती पुराना दिनमा हामी फर्केर जान सक्थ्यौँ भने कति राम्रो हुन्थ्यो । जहाँ हामी खुलेर दौडन्थ्यौँ, खेल्थ्यौँ, हाँस्थ्यौँ र आफ्ना आफन्तसँग आत्मीय सम्बन्ध बुनिरहेका थियौँ । तिनै मिठा यादहरूले मलाई आज पनि प्रेरित गर्छन् ।

समयलाई रोक्न सकिन्न । त्यसैले हामीले आजका बालबालिकालाई नयाँ युगको प्रविधि साथमा पुराना संस्कार र मूल्य सिकाउनुपर्छ । सन्तुलन र जिम्मेवारीका साथ मोबाइल र इन्टरनेटको प्रयोग गर्न सिकाउनु हाम्रो साझा दायित्व हो ।

अन्त्यमा, म सबै अभिभावक, शिक्षक र समाजका सदस्यहरूलाई विनम्र अनुरोध गर्छु— आफ्ना बालबालिकालाई मोबाइल र प्रविधि मात्र होइन स्नेह, समय र सही मार्गदर्शन दिनुहोस् । परिवारलाई पुनः तान्ने प्रयास गरौँ, जहाँ हाँसो, प्रेम र समझदारीको वातावरण पुनः स्थापित होस् । किनभने अन्ततः प्रेम र सम्बन्ध नै जीवनको सबैभन्दा ठुलो सम्पत्ति हो ।

हामी सबै मिलेर आजका बच्चाहरूको उज्ज्वल भविष्य निर्माण गर्न सक्छौँ । हाम्रो साथ, हाम्रो माया र हाम्रो समझदारीले उनीहरूलाई जीवनको सही बाटो देखाउन सक्छ ।
हेटौँडा ४, कर्रा
हाल : बसुन्धरा ३, काठमाडौँ

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप