देशको समृद्धिमा इन्जिनियरको भूमिका
नेपाल विकासोन्मुख मुलुक हो र यसको समृद्धिको मूल चाबी भनेको पूर्वाधार निर्माण हो । पूर्वाधारको कुरा गर्दा इन्जिनियरिङ आफैँमा त्यो मेरुदण्ड हो, जसले राष्ट्रको भौतिक, सामाजिक र आर्थिक विकासलाई सन्तुलित बनाउँछ । नेपाली समाजमा इन्जिनियरको योगदानको यथोचित मूल्याङ्कन, विश्लेषण र सम्मान गर्ने अवसरका रूपमा इन्जिनियरिङ दिवस (साउन ३) लाई लिने गरिन्छ । इन्जिनियरिङको औपचारिक इतिहास नेपालमा त्यति पुरानो नभए पनि यसको भूमिका आजका दिनमा झन् महत्त्वपूर्ण बन्दै गएको छ ।
राणाशासनकालमा नेपालमा प्राविधिक शिक्षाको अभाव थियो । त्यसबेला भारतका विभिन्न राज्यबाट ल्याइएका प्राविधिक जनशक्तिहरूले भवन, सडक, पुल आदि निर्माणमा काम गर्थे । यी कर्मचारीलाई ‘बाबु साहेब’ वा ‘ओभरसियर साहेब’ भनेर चिनिन्थ्यो । सन् १९५० पछि अन्तर्राष्ट्रिय सहयोग विस्तारसँगै नेपालले स्वदेशी इन्जिनियर उत्पादन गर्नुपर्ने खाँचो महसुस गर्यो । यसै क्रममा २०२९ सालमा नेपाल इन्जिनियरिङ इन्स्टिच्युट स्थापना भयो भने २०३५ सालमा पुल्चोक इन्जिनियरिङ क्याम्पसको सुरुवात गरियो, जसले नेपाली इन्जिनियर उत्पादनको मुख्य आधारशिला बन्यो ।
आजको दिनमा नेपालमा करिब आठ हजारदेखि १० हजार इन्जिनियर हरेक वर्ष उत्पादन भइरहेका छन् । विभिन्न कलेजहरूबाट इन्जिनियरिङ शिक्षा प्रदान गरिँदै छ । यति ठुलो संख्यामा दक्ष जनशक्ति उत्पादन हुँदाहुँदै पनि रोजगारी, प्रयोगशाला अभ्यास, बजारमा सीपको प्रयोग र राष्ट्रिय योजनामा सहभागिताको सन्दर्भमा गम्भीर खाडल देखिन्छ ।
‘नेपाल इन्जिनियर्स एसोसिएसन’ (एनईए) को स्थापना २०३१ सालमा भएको हो । यस संस्थाले इन्जिनियरहरूको पेसागत हित संरक्षण गर्ने, नीति–निर्माणमा आवाज उठाउने तथा प्रविधिको प्रयोग र अनुसन्धान प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ । यद्यपि यो संस्था अझै ७० हजारभन्दा बढी इन्जिनियरको वास्तविक प्रतिनिधि बन्न सकिरहेको छैन भन्ने गुनासो व्यापक छ । संगठनको राजनीतीकरण, पारदर्शिताको अभाव र नवप्रवर्तनमा नेतृत्व दिन नसक्नु संस्थाको प्रभावकारितामाथि प्रश्न उठाउने कारक बनेका छन् ।
२०७२ सालको भूकम्पले नेपालमा संरचनात्मक कमजोरी कति भयावह छ भन्ने उजागर गरिदियो । लाखौँ संरचना भत्किए, हजारौँ मानिसले ज्यान गुमाए । पूर्वतयारीविना बनाइएका संरचना, भूकम्प प्रतिरोधी प्रविधिको अभाव र जोखिमपूर्ण क्षेत्रमा बसोबासका कारण क्षति झन् बढेको हो । पहाडमा भू–स्खलन, तराईमा बाढी र कटान, हिमालमा पहुँचको अभावजस्ता समस्या अहिले पनि उत्तिकै छन् । यस्ता समस्याले एकीकृत र दिगो पूर्वाधार विकासलाई अवरुद्ध बनाइरहेका छन् ।
दोस्रो महत्त्वपूर्ण पक्ष हो, सहरीकरण । नेपालको सहरी क्षेत्रहरू अनियन्त्रित रूपमा फैलिँदै छन् । सडकहरू साँघुरा छन्, भवनहरू योजना र कानुनविपरीत बनेका छन्, तथा पानी निकास र फोहोर व्यवस्थापन अत्यन्त कमजोर छ । यी सबै समस्याले नगरहरूलाई अव्यवस्थित बनाइरहेका छन्, जहाँ साना समस्याले पनि ठुलो संकट निम्त्याउन सक्छ ।
तेस्रो प्रमुख समस्या हो— शिक्षा र रोजगारबिचको असन्तुलन । यति धेरै इन्जिनियर उत्पादन हुँदाहुँदै पनि उनीहरूका लागि पर्याप्त रोजगारी छैन । परीक्षणका नाममा थोरैजना मात्र सरकारी सेवामा प्रवेश गर्छन्; बाँकीका लागि न निजी क्षेत्रमा अवसर छ, न त उद्यमशीलताको वातावरण । यसकारण धेरै दक्ष जनशक्ति विदेश पलायन भइरहेका छन् । सीप र अवसरबिचको असन्तुलन, व्यावहारिक अभ्यासको अभाव र प्रेरणा नभएको शिक्षा प्रणालीले स्थिति झनै गम्भीर बनाएको छ ।
आजको नेपाललाई केवल संरचना निर्माण गर्ने इन्जिनियर होइन दृष्टिकोण निर्माण गर्ने इन्जिनियर चाहिएको छ । हामी नक्सा बनाउने मात्र होइन नयाँ सम्भावनाको मार्गचित्र बनाउने इन्जिनियर बन्नुपर्ने समय आएको छ ।
यस चुनौतीपूर्ण अवस्थामा नवप्रवर्तन र प्रविधिले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । आजको युग केवल भवन, सडक वा पुल निर्माणको होइन स्मार्ट, लचिलो र दिगो इन्जिनियरिङको युग हो यो । भूकम्प प्रतिरोधी संरचना बनाउने प्रविधिको प्रयोग अब केवल वैकल्पिक होइन अनिवार्य बन्नुपर्छ । भवन निर्माणमा स्थानीय सामग्रीको वैज्ञानिक प्रयोग, आधुनिक डिजाइन सफ्टवेयरको प्रयोग र प्रविधिमैत्री वातावरण बनाउनु अब इन्जिनियरको प्रमुख कर्तव्य बनेको छ ।
सहरहरू पनि अब इँटा र ढुंगाका संरचना मात्रै होइनन्, ती स्मार्ट प्रणालीद्वारा सञ्चालित हुन थालेका छन् । डिजिटल ट्राफिक लाइट, ‘जीआईएस’मा आधारित मास्टर प्लान, स्मार्ट कचरा व्यवस्थापन, सार्वजनिक सेवाको डिजिटल प्रवाह– यी सबै कुरा नेपालमा पनि सुरु भइसकेका छन् । स्मार्ट सहरको अवधारणाले ट्राफिक जाम, प्रदूषण र आपतकालीन क्षतिको न्यूनीकरणमा सहयोग पुर्याउँछ ।
त्यस्तै, हरित प्रविधिको प्रयोग पनि अपरिहार्य बनिरहेको छ । जलवायु परिवर्तनको प्रत्यक्ष असर नेपाली समाजमा देखिँदै गएको छ । यस्तो अवस्थामा सोलार प्यानल, बायोग्यास, माइक्रो हाइड्रोजस्ता वैकल्पिक ऊर्जा स्रोतको प्रयोग, सेन्सर आधारित सिँचाइ प्रणाली, ड्रोन प्रविधिमा आधारित कृषि प्रविधिको प्रयोगले ग्रामीण विकास र आत्मनिर्भरतातर्फ नयाँ बाटो खोल्न सक्छ ।
अन्ततः नीति, प्रविधि र कार्यान्वयनबिचको समन्वय नै समृद्धिको सूत्र हो । नेपालको नीति निर्माणमा प्रविधिको प्रतिनिधित्व नगर्ने परिपाटी छ । इन्जिनियर परामर्शदाताको हैसियतमा समावेश नभईकन बनाइने योजना व्यावहारिक हुन सक्दैनन् । त्यस्तै, सरकारी योजनामा युवा इन्जिनियरको सहभागिता अनिवार्य गरिनु आवश्यक छ ताकि नवप्रवर्तनात्मक सोच योजनामा समाहित होस् ।
नेपाल इन्जिनियर्स एसोसिएसनले पनि अब आफ्नो संरचनात्मक रूपान्तरण गर्न आवश्यक छ । राजनीतिक छायाबाट मुक्त हुँदै यो संस्था इन्जिनियरको सोच, प्रविधिको नेतृत्व र नवप्रवर्तनको केन्द्र बन्न सक्नुपर्छ । सदस्यता विस्तार, पारदर्शी संरचना र सार्वजनिक जवाफदेहिता यसको पहिलो प्राथमिकता हुनुपर्छ ।
६३औँ इन्जिनियरिङ दिवस केवल अतीतको सम्झना होइन, यो भविष्यको दृष्टिकोण निर्माण गर्ने, नवप्रवर्तनलाई आत्मसात् गर्ने र प्रविधिमा आधारित समृद्ध राष्ट्र निर्माणको संकल्प गर्ने दिन हो । आजको नेपाललाई केवल संरचना निर्माण गर्ने इन्जिनियर होइन दृष्टिकोण निर्माण गर्ने इन्जिनियर चाहिएको छ । हामी नक्सा बनाउने मात्र होइन नयाँ सम्भावनाको मार्गचित्र बनाउने इन्जिनियर बन्नुपर्ने समय आएको छ ।
इन्जिनियरिङ दिवसले हामीलाई सम्झाउँछ, नवप्रवर्तनको आत्मा, प्रविधिको साहस र राष्ट्रप्रेमको समर्पणको समिश्रण नै इन्जिनियर हो । यो दिवस हाम्रो आत्मसमर्पण, समर्पण र प्रतिबद्धताको दस्ताबेज बन्नुपर्छ ।
(ई. धिताल युनिर्भसल इन्जिनियरिङ एन्ड साइन्स कलेजमा प्रशिक्षक छन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण