बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
पदाधिकारी चयनमा सकस

पदाधिकारी चयन गर्न राजेन्द्र महतोलाई सकस

बिहीबार, ०१ साउन २०८२, १७ : ०७
बिहीबार, ०१ साउन २०८२

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोलाई पदाधिकारी चयन गर्न सकस भइरहेको छ । केन्द्रीय समिति र राजनीतिक समिति मात्र बनाएका अध्यक्ष महतोले पदाधिकारी चयनका लागि लामो समयदेखि गृहकार्य गरे पनि सफल भइसकेका छैनन् । 

पदाधिकारीका लागि आकाङ्क्षी धेरै भएका कारण अन्तिम रूप दिन सकस भएको स्रोतको दाबी छ । पार्टीको विधान अनुसार ३१ जना पदाधिकारी चयन गर्नुपर्ने हुन्छ, तर झण्डै ५०–६० जना आकाङ्क्षी देखिएका छन् । 

उपाध्यक्ष र महासचिव पदका लागि धेरैले दौडधुप गरेको देखिएको छ । सो पार्टीको विधानमा पाँच जना उपाध्यक्ष र पाँच जना महासचिव रहने व्यवस्था छ । 

पार्टीका अधिकांश सिनियर नेताले उपाध्यक्ष र महासचिवमा दाबी गरेपछि अध्यक्ष महतोका लागि टाउको दुखाइको विषय बनेको छ । 

राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय समिति २२१ सदस्यीय छ भने राजनीतिक समिति ५९ सदस्यीय छ । कार्यकारिणी समिति र सचिवालय गठन गर्न बाँकी नै छ । विभाग, भ्रातृ संगठन तथा अन्य समितिहरू पनि गठन भएको छैन ।

राष्ट्रिय मुुक्ति पार्टीका नेता केशव झाले पदाधिकारी चयन गर्ने जिम्मेवारी अध्यक्ष महतोलाई दिइएको बताए । हाल अध्यक्ष महतोले पदाधिकारी चयनको गृहकार्य गरिरहेको उनको भनाइ छ । ‘एक दुई हप्तामै पदाधिकारी चयनको काम सकिन्छ,’ उनले भने ।

अर्का नेता सन्तोष मेहताले आकाङ्क्षी धेरै देखिनु राम्रो कुरा रहेको बताए । ‘जति धेरै आकाङ्क्षी देखिन्छन्, त्यसबाट राम्रो मान्छे चयन गर्न सजिलो हुन्छ,’ उनले भने ।

मेहताले पदाधिकारी वा अन्य पदका लागि नेताहरू अघि सर्नु भनेको पार्टीप्रतिको आकर्षणका रूपमा बुझ्नुपर्ने बताए । छोटो समयमै राष्ट्रिय मुक्ति पार्टीतिर आकर्षण बढेको उनको भनाइ छ । 

उनले भने, ‘पदाधिकारी चयन गर्न पार्टीले अध्यक्षज्यूलाई जिम्मेवारी दिएको छ, उहाँले त्यसमा काम गर्दै हुनुहुन्छ, चाँडै घोषणा हुन्छ ।’

२०८० फागुनमा महन्थ ठाकुर नेतृत्वको लोसपा नेपालबाट अलग भएर राष्ट्रिय मुक्ति क्रान्ति अभियान सुरु गरेका महतोले २०८१ असोजमा राष्ट्रिय मुक्ति पार्टी नेपाल दर्ता गराएका थिए । 

त्यसअघि राष्ट्रिय मुक्ति क्रान्ति अभियानबाट उनले गतिविधि गर्दै आएका थिए । सो अभियानबाटै विभिन्न आन्दोलनका कार्यक्रम उनले गर्दै आएका थिए । सो अभियान पार्टीको रूपमा दर्ता भएपछि पदाधिकारीमा आकाङ्क्षी बढेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप