च्यासलमा एमाले : केपीले कर्णलाई रोके, शंकरले काशी
सारांश
- नेकपा एमालेका नेताहरूबीच विधानका प्रावधानलाई लिएर सामाजिक सञ्जाल र पार्टी बैठकमा नोकझोंक भयो।
- पूर्व राष्ट्रपति विद्या भण्डारीको एमाले सदस्यता नवीकरणबारे पार्टीमा छलफल भयो, ओलीले सक्रिय राजनीतिमा फर्कन नहुने बताए।
- पोलिटब्युरो बैठकमा कर्ण थापाले ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधान हटाउने प्रस्तावमा ओलीलाई प्रश्न गरे।
काठमाडौँ । प्रस्तावित विधानका केही प्रावधानलाई लिएर नेकपा एमालेका नेताहरूबिच सामाजिक सञ्जालमा मात्रै होइन, पार्टीका आधिकारिक बैठकमै नोकझोंक र घोचपेच भइरहेको छ ।
बिहीबारको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबिच चलेको सवालजवाफको शृङ्खलाले शुक्रबारको पोलिटब्युरो बैठकमा पनि निरन्तरता पायो ।
बिहीबार मध्यराती सकिएको सचिवालय बैठकको प्रतिध्वनि शुक्रबार बिहानैबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत कित्ता काट गर्दै एकअर्का समूहप्रति ध्रुवीकरणको शैलीमा कटाक्ष गर्न पुगे ।
खासगरी पार्टीको विधि निर्माण गर्ने गृहकार्यको सुरुवाती बैठकमै शीर्ष नेताबिचको सवालजवाफ र कटाक्षको प्रभाव दोस्रो दिन बसेको पोलिटब्युरो बैठकमा नपर्ने कुरै थिएन ।
महासचिव पोखरेलले विधि निर्माणको अन्योल हटेको बताइरहँदा वरिष्ठ उपाध्यक्ष पोखरेलले महासचिव पोखरेललाई काउन्टर दिँदै पोलिटब्युरो बैठकमा प्रस्तावित विधान संशोधन मस्यौदामाथिको छलफल र बहसमा निर्भिकताका साथ प्रस्तुत हुन पोलिटब्युरो सदस्यहरूलाई आह्यवान गरे ।
साथै उनले बहस र छलफलबाट प्रस्तावित मस्यौदामा परिमार्जन गर्न सकिने अडान दोहोर्याए । नेताहरुको यस्तो दोहोरीले पनि पोलिटब्युरो बैठकमा गरामराम बहस हुने अपेक्षा स्वाभाविक थियो । दिउँसो १ बजेका लागि तय भएको बैठक साढे डेढ घण्टा पछिमात्र सुरु भयो ।
अध्यक्ष केपी शर्मा ओलीले बैठक प्रारम्भ गरे लगत्तै स्थायी कमिटी सदस्य कर्ण थापा उठेर केही कुरा राख्न समय माग गरे । तर, अध्यक्ष ओलीले थापालाई अहिले बोल्ने समय नभएको भन्दै प्रस्तावहरू पेस भएपछि सदस्यहरुलाई बोल्न समय छट्याइने बताए ।
त्यसपछि थापा आफ्नो पालामा बोल्न राजी भएर आसनमा बसे । अध्यक्षले बैठकमा समासमयक विषयमा कुरा राखेपछि बैठक अघि बढ्यो त्यसपछि उपाध्यक्ष विष्णु पौडेलले आफुले तयार पारेको विधान संशोधन मस्यौदा पेस गरे ।
पौडेलपछि महासचिव शंकर पोखरेलले राजनीतिक सांगठानिक प्रतिवेदन मौखिक रूपमा पेस गरेपछि सदस्यहरूलाई बोल्न समय दिइयो । त्यसक्रममा बैठकको पहिलो दिन सङ्गठन विभाग प्रमुख समेत रहेका काशीनाथ अधिकारी, नेता कर्ण थापा, शेरधन राई लगागत सात जनाले विधान मस्यौदामाथि धारणा राखे । अधिकारीले विधान कार्यान्वयनको सवालमा आफ्ना कुरा राखने क्रममा केही कमजोरी र त्रुटि भएको भन्दै आत्मालोचना गरे ।
‘विधान कार्यान्वयनका सवालमा केही कमजोरी भएका छन् । त्यो मेरो तर्फबाट पनि भएको छ यसमा आत्मालोचित हुन्छु...’ अधिकारीले यसो भन्दै गर्दा महासचिव पोखरेलले अधिकारीलाई बोल्न रोके । सायद अधिकारीले यसको जिम्मेवारी समग्र नेतृत्वले लिनुपर्ने र आत्मालोचना गर्नुपर्ने भन्न लागेका थिए । तर महासचिवले रोकेपछि अधिकारीले आफ्नो भनाई टुङ्ग्याउन बाध्य भए ।
भण्डारीको सदस्यता नवीकरण छैन
बैठकमा अध्यक्ष ओलीले सचिवालयमा जस्तै पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरणका विषयमा पार्टीले छलफल गरेर निर्णय गर्ने बताए । जबकि भण्डारीले असार १४ गते आफूले एमाले सदस्यता नवीकरण गरेको र सक्रिय राजनीतिमा फर्केको घोषणा गरेकी थिइन् ।
त्यसक्रममा उनले भण्डारीको सक्रिय राजनीतिमा आउन घोषणालाई अनपेक्षित भएको व्याख्या गर्दै सक्रिय राजनीतिमा फर्कनु हुन्न भन्ने विश्वासका साथ उनलाई दोस्रो पटक राष्ट्रपति बनाइएको स्मरण गराए । सहभागी एक सदस्यले दिएको जानकारी अनुसार ओलीले भण्डारीको सदस्यता हालसम्म नवीकरण नै नभएको बताएका थिए । उनले पार्टी भित्रको अराजकता रोक्नुपर्नेमा जोड दिँदै पार्टीभित्र हमला बढेको सुनाए । ‘पार्टीलाई ठुलो र सङ्गठित हमला छ । यही बेला पार्टी भित्रबाट पनि बबण्डर उठाउने कोसिस हुनु गलत हो । यो कुरा तत्काल रोकिनुपर्दछ । नरोकिए पार्टीले रोक्छ’, ओलीको चेतावनीयुक्त भनाइ थियो ।
‘दोस्रो पटक उहाँलाई पार्टीले पठाएको हो । अहिले संवैधानिक व्यवस्था अनुसार फर्किनुहुन्न भनेर जिम्मेवारी दिएको हो’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै ती सदस्यले रातोपाटीलाई भने ।
सक्रिय राजनीतिमा आउने कुरा र उचालेका आधारमा अध्यक्ष हुने कुरा फरक रहेको ओलीको भनाइ थियो ।
ओलीलाई थापाको प्रश्न
आफ्नो पालो आएपछि बोलेका कर्ण थापाले ७० वर्षे र दुई कार्यकालको प्रावधान हटाउने प्रस्तावमा ओलीमाथि १६ वर्षअघिको प्रश्नै सम्झाए । थापाले ओलीलाई चुनौती दिँदै विगतमा ओलीले प्रकाशित गरेको पार्टी जीवनको लोकतान्त्रिकरणको पुस्तककाे अंश पढेर समेत सुनाउँदै तपाईँले उठाउँदा हुने हामीले किन नहुने भन्दै प्रश्न गरे ।

उनले पार्टी जीवनमा लोकतान्त्रिकरणको कुरा उठाउँदा ओली ६० वर्षको भएको र अहिले आफूहरु ६० वर्ष पुग्न लाग्दा ७० वर्षे उमेर हदबारे प्रश्न गर्न किन नपाउने भनी सोधे ।

त्यतिमात्र होइन थापाले १०औँ राष्ट्रिय महाधिवेशनपछि विधान पटक–पटक छाप्दा विधानको धारा ६४ को व्यवस्था किन हटाइएको भनी प्रश्न तेर्स्याउँदै पार्टीको विधानमा ७० वर्षे उमेरहद र दुई कार्यकालको प्रस्ताव कायम राख्नुपर्ने अडान राखे । उनले विधिबाट नेतृत्व हस्तान्तरणको मान्यतालाई आत्मसात् गर्न र अध्यक्ष ओलीलाई पुन अध्यक्ष बन्ने चाहाना नराख्न सुझाव दिए ।

थापा बोल्दा बैठकको माहौल नै फेरिएको एक सदस्यले बताए । ‘थापाजीले दमदार कुरा राख्नुभयो । विगत पनि स्मरण गराउनुभयो’ ती सदस्यले रातोपाटीसँग भने ।
१५ प्रतिशत पार्टी सदस्यता बढ्यो
बैठकमा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्दै महासचिव शङ्कर पोखरेलको पार्टीको सङ्गठनात्मक क्षेत्र बलियो बन्दै गइरहेको दाबी गरे ।उनले पार्टी सङ्गठित सदस्य १५ प्रतिशतले बढेको बैठकलाई जानकारी गराउँदै तथ्याङ्क आउने क्रम जारी रहेको सुनाए ।
‘अहिलेको पार्टी सदस्यता, नवीकरण हेर्दा खेरी झन्डै १५ प्रतिशत बढेको भन्ने जानकारी गराउनुभयो, तथ्याङ्क आउने क्रम जारी छ । सबै तथ्याङ्क आएपछि सार्वजनिक गर्दछौ’ पोखरेलले भने, ‘पार्टी सङ्गठित सदस्य बढेकोमा हामी उत्साही भएका छौ ।’
बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव मस्यौदामाथि पहिलो दिन सात जनाले आआफ्नो धारणा राखेका छन् । पहिलो दिन लालबाबु पण्डित, डा. राजन भट्टराई, काशीनाथ अधिकारी, किरण गुरुङ, शेरधन राई, खगराज अधिकारी र कर्णबहादुर थापाले धारणा राखेका छन् ।
विधान संशोधन प्रस्तावमा पार्टीको विधान (२०७८ संशोधन) को धारा ६४ मा रहेको ७० वर्ष उमेर हद र दुई कार्यकाल व्यवस्था हटाउने राखिएको छ ।यस्तै विधान संशोधन प्रस्तावमा पदाधिकारी सङ्ख्या १५ जना सहित केन्द्रीय कमिटीको सङ्ख्या २५१ रहने राखिएको छ ।
यस्तै विधान संशोधन प्रस्तावमा स्थायी कमिटी, पोलिटब्युरो कमिटी र केन्द्रीय कमिटी गरी तीन तह रहने व्यवस्था गरिएको छ ।विधान संशोधन प्रस्तावमा पार्टीको पदाधिकारी सङ्ख्यालाई स्थायी कमिटी मान्ने निर्णय गरिएको छ । यसअघि पदाधिकारीलाई सचिवालय सदस्यको रूपमा मानिएको थियो ।
प्रस्तावित एमालेको विधान जस्ताको तस्तै पारित भए पार्टीमा सदस्य र सङ्गठित सदस्य गरी दुई खालका सदस्य हुने छन् । जनसङ्गठनमा आबद्ध रहेका सदस्यलाई खारिँदै आएपछि र पार्टीले प्रशिक्षित गरेपछि मात्र सङ्गठित सदस्य रहन पाउने छन् ।
बैठकको पहिलो दिन सदस्यले बोल्ने क्रम नसकिएकोले भोलि शनिबार बिहान ११ बजे बस्ने बैठकमा अन्य सदस्यले बोल्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण