शिक्षकलाई प्रोत्साहन, प्रअलाई जिम्मेवारी : तारकेश्वर नगरपालिकाको शैक्षिक सफलताको सूत्र
सारांश
- तारकेश्वर नगरपालिकाले एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ, जसले शैक्षिक गुणस्तरमा सुधार गरेको छ।
- नगरपालिकाले शिक्षा क्षेत्रमा बजेट वृद्धि गरी प्रधानाध्यापक र शिक्षकहरूलाई प्रोत्साहन गरेको छ, जसले नतिजा ल्याउन मद्दत गर्यो।
- महिला शिक्षकका लागि अभिमुखीकरण र परामर्श कार्यक्रम र स्वास्थ्य सेवामा पनि नगरपालिकाले विभिन्न पहलहरू गरेको छ।
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकाले सार्वजनिक विद्यालयहरूको शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार गर्दै एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ। लगानी, प्रोत्साहन र जबाफदेहितामा आधारित नवीन मोडलमार्फत सफलता हासिल भएपछि नगरपालिकाले पत्रकार भेटघाट कार्यक्रममार्फत आफ्नो अनुभव सार्वजनिक गरेको हो।
कार्यक्रममा नगरप्रमुख कृष्णहरि महर्जनले आफूहरू निर्वाचित हुँदा शिक्षा क्षेत्रको बजेट करिब १ करोड ३० लाख रुपैयाँ रहेकोमा अहिले ५ करोड ८० लाख रुपैयाँ पुर्याइएको जानकारी दिए । ‘यो लगानी अनुमानका आधारमा नभई विद्यालयका प्रधानाध्यापकहरूसँगको छलफलपछि तय गरिएको हो,’ उनले भने।
महर्जनका अनुसार ‘हामी स्रोत दिन्छौँ, तपाईंहरूले नतिजा दिनुपर्छ’ भन्ने जबाफदेहिताको सर्त सहित विद्यालयहरूको योजना अनुरूप बजेट विनियोजन गरिएको थियो। परिणामस्वरूप, असफल विद्यालयका चार प्रधानाध्यापकहरूलाई परिवर्तन गरिनुका साथै उत्कृष्ट शिक्षकहरूलाई नगद सम्मान र भत्ता प्रदान गरिएको छ।
यस रणनीतिक पहलको प्रत्यक्ष परिणाम हालैको एसईई परीक्षामा देखिएको छ। तारकेश्वरकै पृथ्वीनारायण मावि काठमाडौँ जिल्लामै पहिलो स्थानमा आउन सफल भयो भने फुङफुङ मावि, जितपुर मावि र काभ्रेस्थली मावि लगायत चार विद्यालय काठमाडौँका शीर्ष २० मा परेका छन् । त्यस्तै, एसईई मा ४ जीपीए ल्याउने १७ जना विद्यार्थीलाई ल्यापटप र नगद पुरस्कार प्रदान गरिएको छ।
नगर उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले महिला शिक्षकहरूका विशिष्ट चुनौतीहरूलाई सम्बोधन गर्न नगरले सञ्चालन गरेका कार्यक्रमबारे जानकारी दिइन्। उनका अनुसार, २३ वटै सामुदायिक विद्यालयका २०३ जना महिला शिक्षकका लागि विशेष अभिमुखीकरण तथा परामर्श कार्यक्रम गरिएको थियो।
‘महिला शिक्षकका आफ्नै खालका चुनौती हुन्छन्,’ उनले भनिन्, ‘हामीले उहाँहरूलाई एकै ठाउँमा राखेर शिक्षणदेखि व्यक्तिगत समस्यासम्म छलफल गर्ने वातावरण बनायौँ।’ साथै, महिनावारी व्यवस्थापनका लागि हरेक विद्यालयमा भेन्डिङ र डिस्पोजल मेसिन जडान गरिएको छ। एक विद्यालय, एक नर्सु कार्यक्रम अन्तर्गत नर्स अभाव भएका विद्यालयमा नगरपालिकाले नै नर्सको व्यवस्थासमेत गरेको छ।
शिक्षासँगै, तारकेश्वर नगरपालिकाले स्वास्थ्य सेवामा पनि महत्त्वपूर्ण पहलहरू गरेको छ। तिलगंगा आँखा प्रतिष्ठानसँगको सहकार्यमा २९ सयभन्दा बढी व्यक्तिको निःशुल्क आँखा परीक्षण र १२१ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण