बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सौर्य एयरलाइन्स दुर्घटनामा न्यायिक छानबिनको माग, आयोगको प्रतिवेदनलाई पीडितले मानेनन्

शनिबार, ०३ साउन २०८२, १७ : ५८
शनिबार, ०३ साउन २०८२

सारांश

  • त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्स दुर्घटनाको छानबिन प्रतिवेदन सार्वजनिक भएपछि पीडितले न्यायिक छानबिनको माग गरेका छन्।
  • आयोगले दुर्घटनालाई अपराध माने पनि घटनाको कारण र जिम्मेवार पक्ष पहिचान गर्न नसकेको आरोप छ।
  • पीडितले विमान कम्पनीको लापरवाही, पाइलटको गल्ती र नियामक निकायको त्रुटिका कारण दुर्घटना भएको बताएका छन्।

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २०८१ साउन ९ गते भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको एक वर्षपछि सरकारले गठन गरेको छानबिन आयोगले अन्तिम प्रतिवेदन सार्वजनिक गरेको छ। तर, दुर्घटनामा आफन्त गुमाएका पीडितले उक्त प्रतिवेदनले दुर्घटनाको समग्र पक्ष उजागर गर्न नसकेको भन्दै पुनः न्यायिक छानबिनको माग गरेका छन्।

रतिशचन्द्र लालको अध्यक्षतामा गठन गरिएको पाँच सदस्यीय आयोगले सार्वजनिक गरेको प्रतिवेदनले दुर्घटना होइन, 'अपराध' भएको स्वीकार गरे पनि, घटनाको वास्तविक कारण र जिम्मेवार पक्ष पहिचान गर्न नसकेको आरोप लगाइएको छ।

दुर्घटनामा तीन सन्तान गुमाएका प्रकाश खतिवडाले शुक्रबार वक्तव्य जारी गर्दै भने, ‘सौर्य एयरलाइन्स कम्पनीको जानाजानको लापरवाही, पाइलटको अक्षम्य गल्ती र नियामक निकायको गम्भीर त्रुटिकै कारण १८ जना निर्दोष नागरिकले ज्यान गुमाएका हुन्। आयोगले यसलाई सत्यतामा पूर्णरूपमा उजागर गर्न सकेन।’

खतिवडाका अनुसार ३४ दिनदेखि विमानस्थलमा थन्किएको जहाज मर्मत नगरी उडाइएको, बिग्रिएको जहाज काठमाडौँबाट पोखरामा लगिएको, मर्मतका लागि गरिएको ‘फेरी’ उडानमा यात्रु बोकिएको, चार वर्षका बालकलाई समेत कम्पनीको कर्मचारी देखाइएकोजस्ता संवेदनशील र गम्भीर कुराहरू प्रतिवेदनमा समेटिएको छैन। उनले आयोगले सरकारले विधि मिचेर गठन गरेको, आयोग सदस्यहरूको योग्यता नियम अनुसार नपुगेको, र प्रारम्भिक तथा अन्तिम प्रतिवेदनबीच तथ्यगत फरक रहेको आरोप पनि लगाए।

‘आयोगको प्रतिवेदनले बीमा क्षतिपूर्ति र पीडितको पीडाको विषयमा मौन बसेको छ। दोषी पत्ता लगाउने र दण्डित गर्ने सवालमा कानुनी स्पष्टता छैन,’ खतिवडाले भने।

गैरसैनिक हवाई उडान जाँच नियमावली २०७१ को नियम २३ अनुसार, प्रारम्भिक र अन्तिम प्रतिवेदनमा तथ्यगत फरक देखिए पुनः छानबिन गर्न सकिने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै उनले न्यायिक जाँच आयोग गठन गर्न सरकारसँग माग गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप