शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
स्वास्थ्य/ जीवनशैली

अनुहार प्रयोगशाला होइन : चायापोतोको समस्या निम्त्याउन कहिल्यै नगर्नुस् यस्ता गल्ती

आइतबार, ०४ साउन २०८२, ०७ : १३
आइतबार, ०४ साउन २०८२

सारांश

  • अनुहारमा चायापोतोको समस्या बढ्दो रहेको र यसका विभिन्न कारणहरू छन्।
  • घामको किरण, हर्मोन परिवर्तन, प्रदूषण, मोबाइलको नीलो प्रकाश, र गलत मेकअपले चायापोतो निम्त्याउँछन्।
  • चायापोतोबाट बच्न घामबाट जोगिनुपर्ने, छालाको प्रकार अनुसार सनसक्रीन प्रयोग गर्नुपर्ने र विशेषज्ञको सल्लाह लिनुपर्ने हुन्छ।

काठमाडौँ । धेरै महिलाहरू अनुहारमा आउने चायापोतोले हैरान छन् । पहिले यो समस्या ३० वर्षपछि मात्र देखिन्छ भन्ने सोच थियो तर, अहिले यस्तो समस्या त्यसभन्दा कम उमेरकालाई पनि देखिन थालेको छ । 

पुरुषभन्दा महिलामा चायापोतोको समस्या नौ गुणा बढी देखिने गरेको वीर अस्पतालकी छालारोग विशेषज्ञ लैला तामाङ बताउँछिन् । र यस्तो समस्याले कहिलेकाहीँ आत्मविश्वासमा समेत कमी ल्याउने उनको बुझाइ छ । सफा र दाग–धब्बारहित अनुहार कसरी बनाउने ? चायापोतोबाट कसरी छुटकारा पाउने ? विशेषज्ञ तामाङले यहाँ सुझाएकी छन् । 

अनुहारमा पोतो किन आउँछ ?

१. घामको प्रभावः चायापोतोको सबैभन्दा ठुलो (८९ प्रतिशत) कारण सूर्यको हानिकारक किरण हो । घाममा धेरै समय बिताउँदा छालाले आफूलाई बचाउन बढी मेलानिन उत्पादन गर्छ, जसले पोतोको रूप लिन्छ ।

२. हर्मोनको भूमिका: महिलाहरूमा हुने हर्मोनको उतारचढावले पनि पोतो देखिनमा महत्त्वपूर्ण भूमिका खेल्छ । गर्भावस्था वा हर्मोनल परिवर्तनको समयमा यो समस्या बढी देखिन सक्छ ।

३. वातावरणीय असर : बढ्दो प्रदूषण, धुलो धुवाँ र जलवायु परिवर्तनले छालालाई प्रत्यक्ष असर गर्छ, जसले पोतोको समस्या निम्त्याउँछ । 

४. मोबाइलको नीलो प्रकाश : लामो समयसम्म मोबाइल चलाउँदा त्यसबाट निस्कने नीलो प्रकाशले पनि छालामा असर गर्छ । घामको किरणभन्दा २० गुणा कम भए पनि घण्टौँसम्म मोबाइलको स्क्रिन हेर्दा यसले छालालाई हानि पुर्‍याउँछ ।

५. गलत मेकअप र घरेलु उपचार : गुणस्तरहीन कस्मेटिक प्रयोगले पनि छालालाई संवेदनशील बनाउँछ ।

घरेलु उपचारको नाममा अनुहारमा अमिलो (जस्तै: कागती) धेरै दल्दा छालाको माथिल्लो सतह बिग्रिएर पोतो देखिन सक्छ ।

चायापोतोबाट बच्ने उपाय  

  • छालाको प्रकारअनुसार घरबाहिर निस्कनुभन्दा १५–२० मिनेट अगाडि सन्सक्रिम लगाउनुपर्छ । सकेसम्म छालाको प्रकार जाँच गराई लगाएको राम्रो हुन्छ ।   
  • सकेसम्म घामबाट जोगिनुपर्छ । जाडोमा घाम ताप्न परे घामको प्रकाशमा सीधा नफर्किई ढाड फर्काएर बस्नुपर्छ । 
  • अनुहारमा चाया पोतो देखिन सुरु हुने बित्तिकै उपचार गर्नुपर्छ । अनुहारमा पोतो देखिए विशेषज्ञलाई देखाएमा सुरुवाती चरणमै हटाउन सकिन्छ । 

अनुहारको चाया घटाउन यी गल्तीहरू नगर्नुस् 

जोकोहीले सिफारिस गरेकै आधारमा अनुहारमा सन्सक्रिम प्रयोग गर्नुहुँदैन । प्रायः घरबाहिर खेतबारीमा काम गर्ने महिलाहरूले छाला नजचाई पसल वा मेडिकलबाट सन्सक्रिम किनेर लगाउने चलन छ । यसले हानि पुर्‍याउँछ । 

स्टेरोइड क्रिमले धेरै समस्या ल्याउँछ । बजारमा गोरो बनाउने यस्ता विभिन्न क्रिम हुन्छन् । दुई–तीन हप्तासम्म यस्ता क्रिम लगाउँदा छालाका लागि विषसमान हुन जान्छ । जसका कारण, छाला पातलो हुने र रक्तनलीहरू देखापर्ने समेत बनाउन सक्छ । यस्तो क्रिमले छालालाई स्थायी रूपमा बिगार्छ अनि पछि जति उपचार गरे पनि पोतो देखिरहन्छ । हरेक सन्सक्रिम प्रयोग गर्ने निश्चित समय हुन्छ । सन्सक्रिमको म्याद नाघे पनि काम राम्रो गरिरहेको छ भन्दैमा लगाइरहनुहुँदैन । 

पछिल्ला केही अध्ययनहरूले पोतोलाई एक प्रकारको दीर्घरोगसमेत मानेको छ । सही हेरचाह नगरे अनुहार सधैँलाई बिग्रिन सक्ने भएकाले आफ्नो अनुहारलाई कहिल्यै प्रयोगशाला बनाउनुहुँदैन । कुनै पनि समस्या देखिए तुरुन्तै छाला रोग विशेषज्ञको सल्लाह लिन हिचकिचाउनु हुँदैन । विशेषज्ञको सुझावअनुसार अनुहारलाई हेरचाह गर्नुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप