बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
एमाले बैठक

विद्यासँगको छलफलबारे ओलीको ब्रिफिङ : विचार गर्छु भन्नुभएको छ

सोमबार, ०५ साउन २०८२, १४ : २०
सोमबार, ०५ साउन २०८२

सारांश

  • एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्ताको ब्रिफिङ केन्द्रीय कमिटी बैठकमा गरेका छन्।
  • ओलीले भण्डारीलाई राजनीतिमा सक्रिय नहुन सुझाव दिए, जसलाई भण्डारीले 'विचार गर्छु' भनेर जवाफ दिएकी थिइन्।
  • बैठकमा ओलीले भण्डारीसँग कुनै मतभेद नरहेको र विधान महाधिवेशनको तयारीबारे छलफल भएको बताए।

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग हिजो भएको भेटवार्ताबारे ‘ब्रिफिङ’ गरेका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले आइतबार पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको भेटवार्ताबारे ब्रिफिङ गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए । 

उनका अनुसार अध्यक्ष ओलीले भण्डारीलाई राष्ट्रपतिजस्तो उच्च पद र सेनाको परमाधिपति भैसकेको मानिस राजनीतिमा आउँदा पर्ने प्रभावका बारेमा स्मरण गराएको बताएका हुन् । 

‘देशको अभिभावकको रूपमा बस्नुपर्ने मानिस सक्रिय राजनीतिमा आउँदा राम्रो सन्देश नजान सक्छ । सम्मानित भएर बस्दा नै राम्रो हुन्छ’, बैठकमा ओलीले विद्यासँग भएको छलफलबारे भनेका छन् । 

त्यस्तै अध्यक्ष ओलीले आफ्नो सुझावमा भण्डारीले ‘विचार गर्छु’ भनेर जवाफ दिएको पनि बताएका छन् । ‘उहाँले विचार गर्छु भन्नुभएको छ । अब हामी जवाफ कुरेर बसेका छौँ,’ ओलीको भनाई थियो । 

यसैबिच प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकमा अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग कुनै मतभेद नरहेको बताएको जानकारी दिएका छन् । 

‘१० वर्ष भइसक्यो पार्टी अफिस हेरेको छैन भनेर पार्टी कार्यालयमा भेट गर्ने कुरा भयो । भेटका क्रममा सबै कुरा खुला रूपमा भएका छन्’, उनले भने, नेकपा एमाले विभाजित गर्ने तत्त्व कसरी सल्बलाएका छन् भन्नेदेखि सरकारले गरेका कामका बारेमा कुराकानी भएको छ ।’ 

त्यसबाहेक विधान अधिवेशनको तयारीका बारेमा छलफल गरेको कुनै मतभेद नभएको अध्यक्ष ओलीले बताएका छन् । ‘उहाँसँग खुलस्त छलफल भयो । हाम्रोबिचमा मतभेद छैन । उहाँको पार्टी सदस्यताबारे विवाद गर्नुपरेन, यसबारे केन्द्रीय कमिटीले निर्णय गर्छ,’ गौतमले ओलीको भनाइ उद्धृत गर्दै भने । 

उनले विधान महाधिवेशनमा राजनीतिक, सांगठानिक र वैचारिक विषयमा छलफल गर्ने गरी तयार गर्न समेत अध्यक्षले निर्देशन दिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप