बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

शेखर कोइराला प्रधानमन्त्री बन्ने सम्भावनालाई नकार्न सकिँदैन : माओवादी नेता शाही

‘ओली रहेसम्म वाम एकता सम्भव छैन’
सोमबार, ०५ साउन २०८२, १६ : ५६
सोमबार, ०५ साउन २०८२

सारांश

  • माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले वर्तमान सरकार ढाल्ने सोचमा नरहेको बताए।
  • उनले कांग्रेस-एमाले मिलेर बनेको सरकारले जनताको अपेक्षा पूरा गर्न नसकेको बताए।
  • उनले एमालेको नेतृत्वमा केपी शर्मा ओली रहेसम्म वाम एकता सम्भव नरहेको बताए।

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाहीले आफूहरू वर्तमान सरकार ढाल्ने सोचमा नरहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको स्थिरताको लागि माओवादीले सरकार ढाल्ने कुनै पनि सोच नबनाएको बताएका हुन् । 

शाहीले कांग्रेस–एमाले मिलेर सरकार बनेपछि जनताले गरेको अपेक्षा पूरा नभएको बताए । विकासको तीव्रता, आर्थिक समृद्धि, सामाजिक न्याय, सुशासन जनताको अपेक्षा भएको तर वर्तमान सरकारले ती पूरा गर्न नसकेको उनले बताए । 

‘यो सरकार ढाल्ने सोचमा, ढाल्ने नियतमा माओवादी पार्टी छैन । हामीले त नेपालका ठुला राजनीतिक दलहरू एमाले र कांग्रेस एक ठाउँमा आइसकेपछि सरकार अस्थिर होइन स्थिर होस्, सरकारले राम्रो काम गरोस् भन्ने चाहेका थियौँ,’ उनले भने । 

साथै, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार जनताको हितको लागि नबनेको उनको दाबी छ । यो सरकार सीमित हुनेखाने मान्छेहरूको पक्षमा, दलालहरूको पक्षमा र हितमा बनेको उनले बताए । सरकारले ल्याएका विभिन्न प्रकारका अध्यादेशहरू, बजेट, नीति तथा कार्यक्रम सबै उक्त कुराको पुष्टि गर्ने नेता शाहीको दाबी छ । जनता यो सरकारबाट अब हामीले चाहेको अपेक्षा पूरा गर्न सक्दैन, जति लामो समय यो सरकार टिक्यो, त्यति धेरै क्षति हुन्छ भन्ने निष्कर्षमा पुगिसकेको उनले बताए । जनताले यो सरकारको विकल्प तुरुन्तै खोजिरहेको उनको दाबी छ । 

साथै, उनले नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला प्रधानमन्त्री बन्ने सम्भावनालाई नकार्न नसकिने बताए । अहिलेको राजनीतिमा असम्भव भन्ने कुरा केही पनि नरहेको उनको भनाइ छ । ‘नेपाली राजनीतिमा असम्भव भन्ने कुरा केही पनि छैन । शेखर के अहिले प्रधानमन्त्री हुन्छन् त भन्ने प्रश्न उठाउनुभयो । म भन्छु असम्भव भन्ने कुरा केही पनि छैन । अर्को कुनै पनि पात्र हुनसक्छ । त्यसको मुख्य कारण चाहिँ भनेको नेपालको राजनीतिका अस्थिरता हो । अस्थिरत राजनीतिको परिणाम के आउँछ भनेर अहिले हामीले भन्नै सकिँदैन । नसुत्नुभन्दा अगाडिको स्थिति एउटा हुन्छ भने भोलि बिहानको स्थिति अर्को भइसकेको हुन्छ,’– उनले भने । 

साथै, अहिले सत्ता समीकरण परिवर्तनको पक्षमा निकै चलखेल भइरहेको पनि उनले स्वीकार गरे ।  राष्ट्रिय,अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरू  सरकारको विरुद्धमा चलखेलमा रहेको उनको दाबी छ ।

‘निकै चलखेलहरू छन् । अन्तर्राष्ट्रिय शक्ति केन्द्रको पनि चलखेल छ । नेपालका राजनीतिक दलहरूको पनि आ–आफ्ना विभिन्न प्रकारका स्वार्थमा केन्द्रित छन् । आफ्नो व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर हिँड्ने राजनीतिक नेता कार्यकर्ताहरू छन् । कहाँ जाँदा आफ्नो स्वार्थ परिपूर्ति हुन्छ, के गर्दा आफ्नो स्वार्थ परिपूर्ति हुन्छ भन्ने, स्वार्थकै लागि भौँतारिएर हिँड्ने हुँदाखेरिमा यही हुन्छ भनेर भन्न सकिँदैन । अहिले आम जनताले पनि राजनीतिक दलमाथि प्रश्न गरिराखेका छन्, इमानदारिता छैन । अहिले राजनीतिक दलप्रतिको विश्वास गुमिसकेको छ,’– उनले भने । 

साथै, फरक प्रसङ्गमा उनले एमालेको नेतृत्वमा केपी शर्मा ओली रहेसम्म वाम एकता सम्भव नरहेको बताए । उनले भने, ‘एमाले भित्रको पनि केपी शर्मा ओलीप्रति विश्वास गर्न सकिँदैन, विश्वासघाती मान्छे हुन् । अब यीसँग कुनै पनि हालतमा पार्टी एकता सम्भव छैन । यिनको नेतृत्वमा नेकपा ९एमाले० रहिरहन्छ जबसम्म त्यहाँसँग यिनीसँग एकता असम्भव कुरा हो भनेर हामीले भनिसकेका छौँ ।’ 

साथै, उनले आफूहरूले अहिले नेपाली कांग्रेसलाई एमाले गठबन्धन छाडेर आउनुस् नभनेको उनले बताए । तर, अप्ठ्यारो छ भने साथ दिन्छौँ चाहिँ भन्दै आएको उनले बताए । ‘कांग्रेसलाई अहिले गठबन्धन टुटाएर आउनुस् भनेका छैनौँ । हामीले  भनेको के भन्दा यदि तपाईँलाई अप्ठ्यारो छ, हाम्रो सहयोग चाहिन्छ भने दिन्छौँ,’– उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप