बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
देशको समग्र व्यापार

२० खर्बको व्यापार हुँदा १५ खर्ब घाटा, निर्यातमा खाने तेलको रेकर्ड

मङ्गलबार, ०६ साउन २०८२, २० : ११
मङ्गलबार, ०६ साउन २०८२

सारांश

  • आर्थिक वर्ष २०८१/८२ मा नेपालको निर्यातमा ८१.८०% को वृद्धि, खाने तेलको मुख्य योगदान रह्यो।
  • देशले १५ खर्बभन्दा बढीको व्यापार घाटा व्यहोर्‍यो, आयातमा वृद्धि र पेट्रोलियम पदार्थको उच्च आयात कारक रहे।
  • भारत र चीनसँगको व्यापार घाटा उच्च रह्यो, जबकि अफगानिस्तानसँग व्यापार नाफा देखिएको छ।

काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा नेपालको निर्यातमा ८१.८० प्रतिशतको ऐतिहासिक वृद्धि देखिएको छ, जसको मुख्य हिस्सा खाने तेलले ओगटेको छ । कुल २ खर्ब ७७ अर्बको निर्यातमा १ खर्ब २२ अर्बको खाने तेल मात्रै रहेको भन्सार विभागले जनाएको छ । 

तर, पेट्रोलियम पदार्थ, फलाम र सवारीसाधन जस्ता वस्तुको बढ्दो आयातले गर्दा देशले १५ खर्बभन्दा बढी व्यापार घाटा व्यहोर्नुपरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा कुल २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार भएको छ । अघिल्लो आर्थिक वर्ष अर्थात् आव २०८०/८१ को तुलनामा १९.२४ प्रतिशतले बढी निर्यात भएको छ । अघिल्लो वर्ष १७ खर्ब ४५ अर्ब ३६ करोड बराबरको कुल वैदेशिक व्यापार भएको थियो ।

नेपालले कुल १८ खर्ब ४ अर्ब १२ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । सोही अवधिमा निर्यात २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँमा सीमित भएको छ । यसले गर्दा देशले कुल १५ खर्ब २७ अर्ब ९ करोड रुपैयाँको व्यापार घाटा व्यहोरेको छ ।

यसैअवधिमा ४ खर्ब ७७ अर्ब ९९  करोड बराबर राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०८०/८१ मा ४ खर्ब २० अर्ब १६ करोड बराबर राजस्व संकलन भएको थियो । 

८१ प्रतिशत बढ्यो निर्यात 

साथै अघिल्लो आर्थिक वर्षको तुलनामा २०८१/८२ मा आयातमा १३.२५ प्रतिशत वृद्धि भएको छभने निर्यात ८१.८० प्रतिशतले वृद्धि भएको छ । आयात १८ खर्ब ४ अर्ब १२ करोड बरबर रहेको छ भने  निर्यात २  खर्ब ७७ अर्ब ३ करोड बराबर भएको छ  । अघिल्लो वर्षमा १५ खर्ब ९२ अर्ब ९८ करोड बराबरको आयात हुँदा १ खर्ब ५२  अर्ब ३८ करोड रुपैयाँको निर्यात भएको उल्लेख छ । 

सबैभन्दा बढी निर्यात हुने १० वस्तु 

आर्थिक वर्ष २०८१/८२ मा नेपालको निर्यातमा हालसम्मकै ऐतिहासिक उछाल देखिएको छ । यो ८१.८० प्रतिशतले बढेको छ । विभागको तथ्यांकअनुसार, निर्यात २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँ बराबरको निर्यात हुँदा हालसम्मकै रेकर्ड कायम भएको छ । 

पुगेर रेकर्ड कायम भए पनि आयात १८ खर्ब ४ अर्ब १२ करोड पुग्दा देशले १५ खर्ब २७ अर्ब ९ करोडको विशाल व्यापार घाटा व्यहोरेको छ । निर्यातको यो वृद्धिमा सबैभन्दा ठूलो हिस्सा खाने तेलको रहेको छ ।सबैभन्दा धेरै खाने तेल निर्यात भएको छ । १ खर्ब २२  अर्ब ६३ करोड बराबरको खाने तेल निर्यात भएको विभागले जनाएको छ । यसैगरी दोस्रोमा २९ अर्ब ३३  करोड बराबरको धागो निर्यात भएको छ । 

तेस्रोमा १६ अर्ब ३५ करोड बराबरको फलाम तथा फलामजन्य सामाग्री निर्यात भएको छ । १४ अर्ब ८५ करोड बराबरको तयारी कपडा  निर्यात भएको उल्लेख छ । १२ अर्ब २५  करोड बराबरको गलैँचा, ९ अर्ब ४२ करोडको काठजन्य सामग्री, ८ अर्ब ४३ करोड बराबरको पशुजन्य आहार, ७ अर्ब ७४ करोड रुपैयाँको बोटविरुवा, ३  अर्ब ८७ करोडको केमिकल प्रोडक्ट र ३ अर्ब २३  करोड रुपैयाँ बराबरको चिया कफी निर्यात भएको छ  ।

धेरै आयात हुनेमा पेट्रोलपछि फलाम

सबैभन्दा बढी आयात हुने वस्तुको पहिलो नम्बरमा पेट्रोलियम पदार्थ आयात  भएको छ । यो वर्ष ३ खर्ब २६ अर्ब १४ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । 
दोस्रोमा १ खर्ब ६२ अर्ब ४९  करोड बराबरको फलाम तथा फलामका सामग्री र तेस्रोमा १  खर्ब  ५६ अर्ब १४  करोड रुपैयाँको तेल आयात भएको छ । 

यस्तै क्रमश सबैभन्दा बढी आयात हुनेमा १ खर्ब २४  अर्ब १५ करोड बराबरको बोइलर मेशिन, १ खर्ब १६  अर्ब ९५ करोड बराबरको इलेक्ट्रिकल मेशिनरी, १ खर्ब ९ अर्ब १२ करोड बराबरको सवारीसाधन तथा पार्टपुर्जा आयात भएको छ ।

यसैगरी ६० अर्ब ७८ करोड  रुपैयाँ बराबरको खाद्यान्न, ६७ अर्ब ३१ करोड बराबरको प्लाष्टिकजन्य सामग्री, ४२ अर्ब ४६ करोड बराबरको फार्माटिकल प्रोडक्ट, ३१ अर्ब २० करोड बराबरको रासायनिक मल, २९ खर्ब ६ करोड बराबरको तेलजन्य बाली, २५ अर्ब ५४ करोड बराबरको पशुजन्य आहार आयात भएको छ । 

१६४ देशसँग व्यापार घाटा 

१६४ देशसँग व्यापार गरेको नेपालले १२७ देशसँग व्यापार घाटा व्यहोरेको छ । २०८१ साउनदेखि २०८२ असारसम्म विभिन्न उत्पत्ति मुलुकबाट आएका मालवस्तुका आधारमा यस्तो अवस्था देखिएको हो । बाँकी ३७ देशसँगको व्यापारमा मात्रै नाफा रहेको विभागको तथ्यांकमा उल्लेख छ । 

सबैभन्दा बढी व्यापार घाटा भारतसँग रहेको छ । नेपालले भारतबाट १० खर्ब ७१ अर्ब १९ करोड रुपैयाँको आयात गर्दा जम्मा २ खर्ब २४ अर्ब ६८ करोड रुपैयाँको मात्र निर्यात गर्न सकेको छ । यसबाट भारतसँग मात्रै ८ खर्ब अर्ब ४६ करोड ५४ लाख रुपैयाँको घाटा देखिन्छ ।

त्यसै गरी, दोस्रो ठुलो व्यापार घाटा चीनसँग रहेको छ । चीनबाट ३ खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा नेपालबाट चीनतर्फको निर्यात केवल २ अर्ब ६३ करोड रुपैयाँमा सीमित छ । यसले चीनसँग मात्रै ३ खर्ब ३८ अर्ब ४७ करोड रुपैयाँको घाटा देखाउँछ । यी दुई देशसँगको कुल घाटा मात्रै ११ खर्ब ८५ अर्ब रुपैयाँ भन्दा बढी छ, जुन कुल व्यापार घाटाको ठुलो हिस्सा हो ।

भारत र चीनबाहेक बढी व्यापार हुने मुलुकहरूमा अर्जेन्टिना, युक्रेन, संयुक्त अरब इमिरेट्स (युएई), इन्डोनेसिया, थाइल्यान्ड, ब्राजिल, मलेसिया र अस्ट्रेलिया लगायत देशहरू क्रमशः छन् । यो अवधिमा नेपालले सबैभन्दा बढी व्यापार नाफा अफगानिस्तानसँग गरेको छ । अफगानिस्तानतर्फ ७७ करोड रुपैयाँको निर्यात हुँदा आयात भने जम्मा ८४ हजार रुपैयाँको मात्र छ, जसले गर्दा ६८ करोड ६१ लाख रुपैयाँ नाफा भएको छ ।

यसैगरी, डेनमार्कसँग ३३ करोड ८९ लाख र रसियासँग ७ करोड ७४ लाख रुपैयाँको व्यापार नाफा रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप