शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चौकीदार नियुक्तिमा ‘सेटिङ’को गन्ध : छानबिनको माग

मङ्गलबार, ०६ साउन २०८२, २१ : १४
मङ्गलबार, ०६ साउन २०८२

सारांश

  • कास्की कारागारमा चौकीदार नियुक्तिको विषयलाई लिएर कैदीबन्दीहरूबीच विवाद उत्पन्न भयो।
  • कैदीबन्दीहरूले प्रकाश गुरुङलाई चौकीदार बनाउन माग गर्दै आन्दोलन गरेपछि उनलाई तनहुँ सरुवा गरियो।
  • नयाँ चौकीदार अजय गुरुङको नियुक्तिलाई लिएर कैदीबन्दीहरूले विरोध जनाउँदै छानबिनको माग गरेका छन्।

पोखरा ।चौकीदार नियुक्तिको विषयलाई लिएर कास्की कारागारमा उत्पन्न विवादलाई सरकारले जबरजस्ती मत्थर पार्ने प्रयास गरेको छ ।

कैदीबन्दीहरूले चौकीदार बनाउनुपर्ने माग राखेर आन्दोलन गरेपछि कारागार प्रशासनले प्रकाश गुरुङलाई तनहुँ सारिदिएको छ । 

प्रकाशको सरुवा गरेर चौकीदारका रूपमा अजय गुरुङलाई नियुक्ति थमाइएको छ । आइतबार कारागार व्यवस्थापन विभागले कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका अजय गुरुङलाई नयाँ चौकीदार नियुक्त गरेको थियो ।

तर, कारागारको ‘क’ ब्लकमा रहेका कैदीबन्दीहरूले विभागको निर्णय स्विकारेनन् । कारागार प्रशासनले सिफारिस गरेका अर्का कैदी प्रकाश गुरुङलाई चौकीदार बनाउनुपर्ने माग राखेर कारागारभित्रै प्रदर्शन गरे । सोही साँझ कैदीबन्दीबिचमा झडपकै स्थिति बनेपछि अजय र प्रकाशलाई कास्की प्रहरीको हिरासतमा लिएको थियो । 

सोमबार ‘क’ ब्लकका बहुमत कैदीबन्दीले प्रकाश गुरुङलाई नै चौकीदार बनाउन माग गर्दै गृहमन्त्रीलाई पत्र लेखेका थिए ।

कैदीबन्दीको चर्को विरोधका बाबजुद कारागार प्रशासनले विभागको निर्णय परिवर्तन नहुने अडान लियो । त्यसैले विवाद समाधानका लागि भन्दै प्रकाश अन्यत्रै सरुवा गर्ने विकल्प रोज्यो । मंगलबार साँझ उनलाई तनहुँ स्थानान्तरण गरिदिएको हो । 

नवनियुक्त चौकीदार अजयलाई कारागारमा फर्काएको छ । कास्की कारागारका सूचना अधिकारी महेन्द्र कुँवरले प्रकाशलाई स्थानान्तरणको निर्णय भएको बताए । 

कारागार व्यवस्थापन विभागले हरेक वर्ष कैदीबन्दीमध्ये एक जनालाई चौकीदार नियुक्त गर्छ । चौकीदारले कारागारभित्रको व्यवस्थापनमा महत्त्वपूर्ण जिम्मेवारी पाउँछ । त्यसबापत सरकारबाट तलब भत्ता पनि पाउँछ । कैदीबन्दीहरुले अजयको चौकीदारी नस्विकार्ने प्रस्ट पत्र गृहमा पठाएका हुन् । उनीहरूले आर्थिक चलखेल गरेर चौकीदार नियुक्त गरिएको भन्दै छानबिनको मागसमेत गरेका छन् । माग पूरा नभए नयाँ चौकीदारलाई बहिष्कार गर्ने र आमरण अनशन बस्ने चेतावनी दिए ।

अरू ५ कैदीबन्दीको पनि सरुवा भएको तर उक्त सरुवा पारदर्शी नगरिएको कैदीबन्दीहरुले गुनासो गरेका छन् ।‘५ जनालाई भीमफेदी र अर्को १ जनालाई पर्सा लगिएको भन्ने छ । यसमा पारदर्शिता छैन,’ एक कैदीले भने, ‘यसमा ठुलो आर्थिक चलखेल भएको छ । सबै काम पैसा र सेटिङमा गरिएको छ । यसको छानबिन हुनुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप