बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
कञ्चनपुर प्रहरीको वार्षिक प्रगति

लागुऔषध र फरार प्रतिवादी पक्राउमा उल्लेख्य सफलता, ७ करोडको भन्सार छलीको सामान बरामद

बुधबार, ०७ साउन २०८२, १२ : ०२
बुधबार, ०७ साउन २०८२

सारांश

  • कञ्चनपुर प्रहरीले आर्थिक वर्ष २०८१/८२ मा अपराध नियन्त्रण, लागुऔषध बरामद, र फरार प्रतिवादी पक्राउमा सफलता हासिल गर्‍यो।
  • प्रहरीले ७ करोडभन्दा बढीको भन्सार छलीको सामान बरामद गर्‍यो, र ४८७ फरार प्रतिवादी पक्राउ गर्‍यो, जसबाट १ करोड ४६ लाख जरिवाना असुल गरियो।
  • प्रहरीले लागुऔषध विरुद्ध जनचेतना जगायो, सवारी दुर्घटनामा कमी ल्याउन ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्‍यो, र आगामी चुनौतीको रूपमा साइबर अपराधलाई लियो।

धनगढी । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ।  सार्वजनिक गरिएको विवरणअनुसार प्रहरीले अपराध नियन्त्रण, लागुऔषध बरामद, फरार प्रतिवादी पक्राउ र राजस्व सङ्कलनमा उल्लेख्य सफलता हासिल गरेको छ। 

यस अवधिमा विभिन्न प्रकृतिका ९६४ मुद्दा दर्ता भएका छन् भने ७ करोडभन्दा बढीको भन्सार छलीको सामान बरामद गरिएको छ।

आर्थिक वर्ष २०८१/८२ मा जिल्ला प्रहरी कार्यालयमा विभिन्न ३४ शीर्षकमा कूल ९६४ वटा मुद्दा दर्ता भएका छन्, जसमध्ये ६२३ मुद्दा फर्स्यौट भइसकेका छन् भने ३४१ मुद्दा अनुसन्धानकै क्रममा छन्। दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी लागुऔषध सम्बन्धी १७७, अभद्र व्यवहार सम्बन्धी १४९, झुन्डिएर आत्महत्या ११५, बैंकिङ कसुर ७२ र साधारण चोरीका ६० वटा मुद्दा रहेका छन्।

यस अवधिमा कर्तव्य ज्यानका १०, ज्यान मार्ने उद्योगका २५, जबरजस्ती करणीका ३६, बहुविवाहका, २४ र मानव बेचबिखन तथा ओसारपसारका ८ वटा लगायतका शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।

लागुऔषध नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेको कञ्चनपुर प्रहरीले यस आर्थिक वर्षमा १७७ मुद्दामा २६५ जनालाई पक्राउ गरेको छ। प्रहरीले ७१८ दशमलव ७ सय ४९ ग्राम हेरोइन, २६ दशमलव ८ सय ८९ केजी चरेस, १ दशमलव ४२ केजी गाँजा, ४ सय ८८ एम्पुल र १ सय २२ ट्याब्लेट लागुऔषध बरामद गरेको छ। जुन गत वर्षहरूको तुलनामा हेरोइनको बरामदमा ठुलो सफलता मानिएको छ।

यसैगरी, सवारी चालकहरूले लागुऔषध सेवन गरे/नगरेको जाँच गर्न ’ड्रग्स किट’ को प्रयोग सुरु गरिएको छ। साउन १ गते गरिएको जाँचमा एक वर्षमा ४ जना चालकले लागुऔषध सेवन गरेको पाइएपछि उनीहरूमाथि अनुसन्धान भइरहेको छ।

प्रहरीले भन्सार छली र चोरी निकासी नियन्त्रणमा पनि सक्रियता बढाएको छ। यस वर्ष ७ करोड ३९ लाख ५ सय ४७ बराबरको अवैध सामान बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ। जुन गत वर्षको तुलनामा करिब ६३ लाख रुपैयाँले बढी हो।

अदालतको फैसला कार्यान्वयनतर्फ पनि प्रहरीले ठुलो सफलता पाएको जनाएको छ। गत वर्षको तुलनामा दोब्बरभन्दा बढी अर्थात् ४८७ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको छ। पक्राउ परेकाहरूबाट १६३ वर्ष २ महिना ११ दिन कैद र  १ करोड ४६ लाख ३०९ जरिवाना असुल उपर हुने देखिएको छ।

कञ्चनपुर प्रहरीले लालझाडी गाउँपालिकाका रामरेसर रानाको मृत्यु प्रकरणको सफल अनुसन्धानलाई प्रहरीले प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरेको छ। २०८२ जेठ १७ गते मृत फेला परेका रानाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान पूरा गरेर अदालतमा पेस गरेको थियो। अदालतको आदेशले एक जनालाई पुर्पक्षका लागि थुनामा र दुई जनालाई धरौटीमा रिहा हुन नसकेपछि कारागार चलान गरिएको छ।

आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा ४५२ वटा सवारी दुर्घटना भएका छन्। जसमा ३८ जनाको मृत्यु भएको छ भने ७७३ जना घाइते भएका छन्। ट्राफिक नियम उल्लंघन गर्ने १५,०६९ सवारी साधनलाई कारबाही गरी रु। १ करोड २ लाख ९९ हजार राजस्व संकलन गरिएको छ। मादक पदार्थ सेवन गरी सवारी चलाउने १ हजार ३ सय ३० जनालाई कारबाही गरिएको छ।

सामुदायिक प्रहरी साझेदारी र जनचेतना

प्रहरीले ‘सामुदायिक–प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत ८५२ वटा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। यसमध्ये लागुऔषध विरुद्धका २६९, मानव बेचबिखन विरुद्ध ४०, घरेलु हिंसा विरुद्ध ३३ र ट्राफिक सचेतना सम्बन्धी १४ वटा कार्यक्रमहरू प्रमुख छन्।

यस अवधिमा प्रहरीले अवैध नदीजन्य पदार्थ उत्खननमा संलग्न ६४ ट्याक्टर र ६ टिप्पर, अवैध काठ चोरी निकासी संलग्न ८ जनालाई पक्राउ गरी कारबाही गरेको छ। आगलागी, जङ्गली जनावरको आक्रमण, डुबान जस्ता प्राकृतिक प्रकोपका घटनामा समेत प्रहरीले उद्धार र राहतमा महत्त्वपूर्ण भूमिका खेलेको  जनाएको छ।

प्रहरीले आगामी दिनमा लागुऔषध ओसारपसार, साइबर अपराध, अनलाइन ठगी, र बढ्दो सवारी दुर्घटनालाई मुख्य चुनौतीका रूपमा लिएको र सोहीअनुसार कार्ययोजना बनाएर अघि बढ्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप