बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एमआरपीमा अन्याेलता देखिएपछि चेम्बरले गर्‍यो उद्योगमन्त्री सहित व्यवसायीसँग अन्तरक्रिया

बुधबार, ०७ साउन २०८२, २१ : ०४
बुधबार, ०७ साउन २०८२

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले खुद्रा बिक्री मूल्य एमआरपी कार्यान्वयनमा देखिएको समस्याबारे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको उपस्थितिमा निजी क्षेत्रका उद्यमी व्यवसायीहरुसँग वृहत अन्तरक्रिया गरेको छ ।

एमआरपी कार्यान्वयनमा देखिएको अन्याेलता एवं पर्याप्त जनचेतना नहुँदा आम उपभोक्तामा परेको असरबारे चेम्बरले सरकारको ध्यानाकर्षण समेत गराएको छ । 

काठमाडौँको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीको उपस्थितिमा चेम्बरका पदाधिकारी एव निजी क्षेत्रका १ सय ५० भन्दा बढी उद्यमी व्यवसायीहरूले सहभागिता जनाएका थिए । 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले मन्त्री भण्डारी समक्ष सरोकारवाला निकायसँग सर्वपक्षीय छलफल र सहमतिको आधारमा मात्रै एमआरपीलाई कार्यान्वयनमा लैजानुपर्ने बताए । 

अध्यक्ष अग्रवालले भने,‘वाणिज्य आपूर्ति एवं उपभोक्ता संरक्षण विभागले केही समय देखि बजारमा कडा अनुगमन सुरु गरेको छ र एमआरपी उल्लेख नभएको पाइएमा अधिक जरिवाना लाग्ने गरेको छ ।’

देशमा अधिकांश उपभोग्य सामानका लागि आयातमा नै निर्भर हुनुपरेकाले एमआरपी लेबलको व्यवस्था आयातित वस्तुहरूको हकमा लागु गर्न निकै कठिन हुने अध्यक्ष अग्रवालले बताए । 

भन्सारमा सन्दर्भ मुल्यको व्यवस्था कायमै रहेकाले भन्सार प्रयोजनका लागि विश्व व्यापार सङ्गठनको मान्यता अनुसार कारोबार मूल्यलाई मान्यता दिनुपर्ने अग्रवालले बताए । 

व्यावसायिक र औद्योगिक वातावरण शिथिल रहेको वर्तमान अवस्थामा हाल विभागले अत्यधिक जरिवाना गरी अनुगमन गरेको क्रियाकलापले व्यावसायिक वातावरण थप बिग्रन सक्ने अध्यक्ष अग्रवालले बताए । 

उनले भने,‘गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकार हो, उक्त अधिकारबाट उपभोक्तालाई वञ्चित हुन नदिन तथा बजार र माल वस्तुकाबारे हरेक विषयमा चेतना अभिवृद्धि गर्न प्रचार प्रसार तथा सचेतनाका कार्यहरू अगाडी बढाइनु पर्ने अहिलेको आवश्यकता देखिएको छ ।’ 

कार्यक्रममा निजी क्षेत्रका अधिकांश पदाधिकारीहरूले निजी क्षेत्रका एमआरपी र लेवलिङको नाममा भएको अनुगमनका कारण व्यवसायीले अनावश्यक दुःख पाउनुपरेको गुनासो गरेका थिए । 

एमआरपीको बारेमा अधिकांश व्यवसायी र उद्यमीलाई जानकारी समेत नभएको उनीहरूको भनाई छ । चेम्बरमा आयोजित छलफलमा मन्त्री भण्डारीले सरोकारवाला निकायहरूसँगको समन्वयमा अविलम्ब थप छलफल गरी मात्रै एमआरपी कार्यान्वयन प्रक्रियालाई आवश्यकता अनुसार अघि बढाइने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप