मन्त्री काफ्लेको दक्षिण कोरिया भ्रमणलाई लिएर विवाद
हेटौँडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका आर्थिक मामिलामन्त्री कुन्दनराज काफ्ले गैरआवासीय नेपाली संघ (एनआरएनए)को एक कार्यक्रममा सहभागी हुन दक्षिण कोरिया जान लागेसँगै विवाद उत्पन्न भएको छ ।
नजान भन्दै पार्टीको जनसम्पर्क विभागले गरेको आग्रहलाई समेत बेवास्ता गर्दै उनी राष्ट्रिय समन्वय परिषद् (एनसीसी) दक्षिण कोरियाको एउटा समूहले गर्न लागेको कार्यक्रममा सहभागी हुन बिहीबार राति त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
दक्षिण कोरियामा एनआरएनए दुई वटा रहेको छ । एउटा विपिन कुमार गुरुङ नेतृत्वको एनआरएनए रहेको छ भने अर्को बुद्धि गुरुङ नेतृत्वको कार्यसमिति रहेको छ ।
अहिले बुद्धि गुरुङ नेतृत्वको कार्यसमितिले गर्न लागेको अधिवेशनमा कुन्दन सहभागी हुन लागेका हुन् । बुद्धि नेतृत्वको कार्यसमिति एमाले निकट मानिन्छ भने विपिन गुरुङ नेतृत्वको कार्यसमिति कांग्रेस निकट मानिन्छ ।
एनआरएनएको केन्द्रदेखि विदेशसम्मको कार्यसमितिसम्म विवाद रहेको छ । केन्द्रमा महेश श्रेष्ठलाई कांग्रेसको साथ रहेको छ भने बद्री केसीलाई एमालेको साथ रहेको छ । यसरी एकअर्काबिच विवाद र आधिकारिकताको लफडा रहेको बेला कांग्रेसकै मन्त्री एमाले निकटको कार्यक्रममा सहभागी हुन लागेपछि हलचल उत्पन्न भएको हो ।
उनलाई रोक्न कांग्रेसकै नेताहरु र एनआरएनए अभियन्ताहरुले प्रयास गरेपनि गइछाड्ने अड्डी लिएका छन् । काफ्लेले आज राति ११ बजे आफ्नो फ्लाइट रहेको बताए । । ‘म जाने कार्यक्रम कोरियास्थित नेपाली दूतावासले आधिकारिकता पुष्टि गरेको निर्वाचित कार्य समितिले गरेको हो । त्यसलाई कोरियास्थित नेपाली दूतावासले पनि भेरिफाई गरेको छ । अब विवादित र नेपालको आधिकारिकता भएन भन्न मिलेन नि’, उनले भने ।
यद्यपि एनआएनएमा भने विवाद रहेको आफूले थापा पाएको काफ्लेको भनाइ छ । ‘पक्ष र विपक्ष रहेछन् भन्ने मैले पनि भर्खर बुझ्दै छु । तर, त्यो इलेक्टेड कमिटी हो, त्यति थाहा छ’, उनले भने ।
महेश श्रेष्ठ निकट एनआरएनए दक्षिण कोरियाका अध्यक्ष विपिन कुमार गुरुङले भने अर्को कार्यसमितिले गर्ने कार्यक्रम अवैध भएको बताए । उनले केन्द्रमा महेश श्रेष्ठलाई परराष्ट्रले आधिकारिकता दिएको र सोही कमिटीको मातहतमा रहेर आफूहरूले दक्षिण कोरियामा काम गरिरहेको बताए ।
सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिले गत वैशाखमा एनआरएनएको एकताको महाधिवेशन गराउनुअघि नै दक्षिण कोरियामा अधिवेशन भइसकेको छ । उक्त अधिवेशन अप्रिल ६ तारिख २०२५ मा भएको थियो । त्यतिबेला नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार एनसीसीको अधिवेशनलाई तत्कालीन संस्कृति तथा पर्यटन राज्यमन्त्री अरुण चौधरीले उद्घाटन गरेका थिए ।
तर, हाल विवादित पक्षले जुलाई २६ मा आयोजना गर्न लागेको अधिवेशनमा काफ्ले प्रमुख अतिथिको रूपमा सहभागी हुने कार्यक्रम रहेको हो । यसले एनआरएनएभित्रको विवादलाई थप जटिल बनाउने देखिएको दक्षिण कोरियामा कार्यरत एक अभियन्ताले बताए । गत मे ३–४ मा काठमाडौँमा सम्पन्न भएको एनआरएनएको एकताको महाधिवेशनबाट महेश कुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको थियो । उक्त महाधिवेशनको उद्घाटन परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले गरेकी थिइन् ।
यसैबीच कांग्रेस बागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र बादेले कुन्दनको भ्रमणबारे बागमती सरकार र कांग्रेसको प्रदेश समितिबिच कुनै समन्वय नभएको बताए ।
‘सांसद भएको हिसाबले सरकार र संसदको जानकारी पाउनु स्वाभाविक कुरा हो । तर, औपचारिक रूपमा प्रदेश समितिलाई सरकारको काम कारबाहीका विषयमा जानकारी आउने गरेको छैन । अर्थमन्त्री कुन्दनराज काफ्लेको भ्रमणको विषयमा पनि प्रदेश समितिको कुनै जानकारी छैन’, उनले भने, ‘सरकारको नेतृत्वमा रहेका मुख्यमन्त्री र मनित्रपरिषदबाट प्रक्रिया पुरा गरेर जाने कुरा भएको होला ।’
यद्यपि एनआएनएको विवादमा पार्टीको लाइन विपरीत कुनै पनि नेता कार्यकर्ता अघि बढ्न नहुने उनको भनाइ थियो ।
‘यो विषय पार्टी केन्द्रसँग जोडिएकाले पनि प्रदेश समितिलाई जानकारी नभएको हुन सक्छ । आगामी कदम तथा निर्णय पनि पार्टी केन्द्रबाटै हुने होला’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह
-
सुनिता डंगोल इजरायलमा
-
जेलेन्स्कीले फिर्ता गरे पोल्यान्डको सर्वोच्च राष्ट्रिय सम्मान
-
रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित (सूचीसहित)
-
तस्बिरमा हेर्नुहोस् रास्वपा महाधिवेशनमा देखिएको मोही मोह
-
‘भ्रष्टाचार अन्त्य गरी सुशासन ल्याउने काममा साथ दिन सांसद बनेको हुँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण