सल्यान दुर्घटना अपडेट : १५ मध्ये अधिकांश घाइतेको अवस्था गम्भीर
सारांश
- सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका छन्।
- घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि नेपालगन्ज पठाइएको छ।
- प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ।
सुर्खेत । नेपालगन्जबाट सल्यानको रागेचौरतर्फ जाँदै गरेको फोर्स गाडी बिहीबार दिउँसो कुमाख गाउँपालिका–२, बढाई ज्युला भन्ने स्थानमा दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार भे १ ख ३९९४ नम्बरको उक्त गाडी अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेको थियो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी रमेश खत्रीले दिएको जानकारीअनुसार दुर्घटना दिउँसो करिब १ : ०० बजे भएको हो । दुर्घटनाको खबर पाउनासाथ नजिकैको प्रहरी पोस्ट नेटाबाट प्रहरी सहायक निरीक्षक पदमबहादुर वलीको कमान्डमा ४ जनाको टोली र इलाका प्रहरी कार्यालय रागेचौरबाट प्रहरी निरीक्षक धर्मेन्द्र खड्काको नेतृत्वमा ६ जनाको थप टोली तत्कालै घटनास्थलमा पुगेर उद्धार कार्यमा जुटेको थियो ।
अधिकांश घाइतेको अवस्था गम्भीर, उपचारका लागि नेपालगन्ज रेफर
दुर्घटनामा घाइते भएकामध्ये अधिकांशको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगन्ज पठाइएको छ । घाइते हुनेमा गाडी चालक सल्यान, कुमाख गाउँपालिका–६ बस्ने अन्दाजी २७– २८ वर्षीय पारस आचार्य रहेका छन् । उनको शरीरको विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर छ ।
यसैगरी, सोही ठेगानाका ३६ वर्षीय भूपेन्द्र बस्नेतको टाउको र खुट्टामा तथा ६३ वर्षीय टिकाराम आचार्यको टाउको र छातीमा गम्भीर चोट लागेको छ । कुमाख गाउँपालिका–१ का १६ वर्षीय इन्द्र रावत, वडा नम्बर ४ का ५६ वर्षीय डोले बस्नेत र ३५ वर्षीया निर्मला बुढाथोकीको पनि टाउकोमा गम्भीर चोट लागेको छ ।
दुर्घटनामा बालबालिका पनि गम्भीर घाइते भएका छन् । कुमाख–४ की १० वर्षीया जेनिशा रानाको टाउको र खुट्टामा तथा ७ वर्षीय महेन्द्र बस्नेतको टाउको र दुवै खुट्टामा गम्भीर चोट छ । यस्तै, कुमाख गाउँपालिकाकै ६२ वर्षीय कालीमान हमालको टाउकोमा, सुर्खेत भेरीगंगा नगरपालिका–९ की ३१ वर्षीया तुलसा सुनारको टाउको र दुवै खुट्टामा तथा रुकुम पश्चिम चौरजहारी नगरपालिका–१ की ८४ वर्षीया चन्दी विष्टको टाउको र दुवै हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । यी सबै दश जना गम्भीर घाइतेलाई उपचारका लागि नेपालगन्ज पठाइएको हो ।
साथै, मध्यम घाइते भएका कुमाख गाउँपालिका–२ की ३२ वर्षीया दिपा बुढाथोकी र उनकी ६ वर्षीया छोरी कोपिला बुढाथोकीको दुवै खुट्टामा चोट लागेको छ । रुकुम पश्चिम चौरजाहारीकी ३१ वर्षीया कुन्ता विष्टको पनि दुवै खुट्टामा चोट लागेको छ र उनीहरूलाई पनि नेपालगन्ज नै पठाइएको छ ।
सामान्य घाइते भएका सल्यान, कुमाख गाउँपालिका–४ का २३ वर्षीय भुवन लामिछानेको शरीरको विभिन्न भागमा चोट लागेको र उनको उपचार रुकुम पश्चिमको चौरजहारीस्थित मिसन अस्पतालमा भइरहेको छ । प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण