ग्राफिक्स डिजाइनर हुन चाहने विभोर बने फिल्म निर्देशक
सारांश
- कलाकार विभोर पोखरेलले १८ वर्षपछि फिल्म 'रियल रिङ्गेट' निर्देशन गरेका छन्, जुन वैदेशिक रोजगारीमा जाने नेपाली युवाको कथा हो।
- फिल्मले वैदेशिक रोजगारीको संघर्ष, पारिवारिक विछोड, र प्रवासका पीडालाई समेटेको छ, जसले दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
- विभोरले म्युजिक भिडियोबाट फिल्ममा प्रवेश गरेका हुन्, र 'रियल रिङ्गेट' मार्फत आफ्नो दोस्रो निर्देशकीय यात्रा सुरु गरेका छन्।
काठमाडौँ । कलाक्षेत्रमा म्युजिक भिडियोलाई ठुलो पर्दाको ‘प्रवेशद्वार’ मानिन्छ । कलाकार हुन्, प्राविधिक हुन् वा निर्देशक, म्युजिक भिडियोपछि फिल्ममा हाम फाल्ने उत्कट चाहना हुन्छ । थुप्रै प्रतिभा म्युजिक भिडियोमा एक हदसम्मको सफलतापछि फिल्मको ठूलो क्यानभासमा प्रवेश गरेका छन् ।
फरक यति हो, कसैलाई ठूलो पर्दामा पुग्न केही म्युजिक भिडियो नै काफी हुन्छन् भने कसैलाई सयौंको अनुभवपछि मात्रै मौका मिल्छ । विभोर पोखरेल यसमा दोस्रो लहरमा पर्छन् ।
फिल्मको ठूलो क्यानभासमा आइपुग्न उनलाई १८ वर्षसम्मको प्रतीक्षा गर्नुपर्यो । थुप्रै म्युजिक भिडियोमा खारिएपछि उनी फिल्म ‘रियल रिङ्गेट’ लिएर आएका छन् । यसै फिल्ममार्फत विभोरको आफ्नो दोस्रो निर्देशकीय इनिङ्स सुरु हुँदैछ ।
‘हरेक मान्छे जीवनमा एक कदम अगाडि बढ्न चाहन्छ । म्युजिक भिडियोमा एउटा तहको सफलतापछि निर्देशकको अर्को लक्ष्य फिल्म नै हुन्छ,’ विभोर रातोपाटीसँग भन्छन्, ‘यो केवल महत्वाकांक्षा मात्र थिएन । उमेर र अनुभवले ल्याएको परिपक्वता पनि हो ।’
यही साउन १६ गतेबाट प्रदर्शनमा आउन लागेको ‘रियाल रिङ्गेट’ वैदेशिक रोजगारीमा जाने नेपाली युवाको सपना र संघर्षको कथा हो । फिल्मले वैदेशिक रोजगारीले निम्त्याएको पारिवारिक बिछोड र प्रवासका पीडा समेत समेटेको छ ।

‘स्क्रिप्ट खोज्ने क्रममा लभस्टोरी र कमेडी जनराका धेरै कथा आए पनि ‘रियाल रिङ्गेट’को विषयवस्तुले मलाई तान्यो,’ विभोर भन्छन्, ‘देशमै अवसर नदेखेर विदेशिन बाध्य भएका अदक्ष कामदार, पढेलेखेर पनि भविष्य नदेखेपछि बेलैमा कमाउन विदेश हान्निने युवा र राजनीतिक हस्तक्षेपका कारण आफ्नै भूमिमा विभिन्न काम गर्दा असफलता व्यहोर्न बाध्य भएकाहरूको पीडा फिल्ममा छ ।’
डेब्यु फिल्ममा प्रायः निर्देशक सुरक्षित बाटो रोज्छन् । प्रेमकथामा एक्सन, कमेडी र केही गीतका मसला भरिएका फर्मुला फिल्मलाई तुलनात्मक रुपमा सुरक्षित मान्छन् फिल्मकर्मीहरु । तर विभोरले यो स्थापित ‘फर्मुला’लाई पन्छाउँदै एउटा नेपाली समाजको सबैभन्दा संवेदनशील र टड्कारो यथार्थ ‘वैदेशिक रोजगारी’को कथा पस्किँने आँट गरे ।
‘फिल्म हल्काफुल्का कथामा बनाएर आफूलाई निर्देशकको रुपमा उभ्याउन पनि सक्थें । तर मलाई यस्तो गर्न मन लागेन,’ विभोर भन्छन्, ‘किनभने निर्देशकको दायित्व आफु स्थापित हुने मात्र नभएर समाजलाई केही इम्प्याक्ट पार्ने विषय पस्किनु पनि हो ।’
फिल्मको कथाले समाजलाई छुनुपर्छ भन्ने विभोरको मान्यता छ । ‘फिल्मले दिने मनोरञ्जन त आफ्नो ठाउँमा छँदैछ, त्यसका साथै अहिलेको परिस्थिति, आफ्नो देशको राजनीतिक कारणले भइरहेको जे घटनाक्रम भइरहेका छन्, त्यसलाई पनि अलिकति प्रतिनिधित्व गर्नुपर्छ । जसले गर्दा फिल्म मानिससँग टच हुन्छ,’ उनी भन्छन् ।
यही कुराको महसुस निर्माता र उनलाई भएपछि ‘रियल रिङ्गेट’ बन्न पुग्यो ।
फिल्ममा कुनै विषय उठाउनु ठुलो कुरो होइन । त्यो विषयलाई कति गहिराइसम्म पुर्याइएको छ भन्ने महत्वपूर्ण हो ।
‘यो गहन विषय हो, यसको गहिराइमा पुग्न सजिलो छैन । केही बुझाउने मेरो इमानदार कोसिस हो,’ विभोर भन्छन् ।
फिल्मको नाम साउदी अरेबिया मुद्रा रियाल तथा कतार र मलेसियाको ‘रिङ्गेट’बाट राखिएको छ । फिल्मको नामको अर्थ के हो ?
विभोर जवाफ दिन्छन्, ‘हाम्रो नेपाली बोलीचालीमा खाडीका कमाउन जानेलाई गाउँघरमा ‘रियाल रिङ्गेट’ कमाउँछ भनिन्छ । त्यसैबाट नाम राखिएको हो ।’
वैदेशिक रोजगारीको कथा भन्ने बित्तिकै धेरैले रुवाउने फिल्मका रूपमा बुझ्छन् । किनभने यस्ता कथामा यसअघि आएका फिल्मले दर्शक रुवाएका छन् ।
विभोरको मनोरञ्जनप्रतिको बुझाइ अलि भिन्न छ । ‘मनोरञ्जन भनेको हाँस्नु र नाच्नु मात्र होइन । कुनै चीज हेरेर रुँदा मनको बह पोखिन्छ र आनन्द मिल्छ भने त्यो पनि मनोरञ्जन हो,’ उनी भन्छन्, ‘फिल्मले दर्शकको मन छोएर उहाँहरूलाई रुवाउन सक्यो भने मेरो प्रयास सफल भयो भन्ने ठान्छु ।’

अनि बने निर्देशक
विभोरले निर्देशक बन्छु भनेर जीवनमा कहिल्यै सोचेका थिएनन् । बिहान मीनभवनको नेपाल कमर्स क्याम्पसमा पढ्थे, दिउँसो फुर्सद हुन्थ्यो । त्यही समय सदुपयोग गर्न एजेन्सीमा काम गर्ने एक साथीले उनलाई ग्राफिक्स डिजाइनिङ सिक्न सुझाए । त्यो सिकेसँगै काम गर्ने सम्भावना देखाए । त्यही भएर उनी कान्तिपथस्थित पेन्टासफ्टमा पुग्दा उनको जीवनले अर्कै मोड लियो ।
‘म त ग्राफिक डिजाइनिङ सिक्न गएको थिएँ । तर त्यहाँका काउन्सिलरले डिजिटल सिनेम्याटिक टेक्नोलोजी भन्ने नयाँ डिप्लोमा कोर्सबारे जानकारी दिए,’ उनले भने, ‘भर्खर सुरु भएको यो कोर्ष पढेपछि टेलिभिजनमा पनि अवसर मिल्छ भन्ने हिसाबले भर्ना भएँ ।’
त्यहाँ उनले एउटा प्रोजेक्ट वर्क बुझाउनुपर्थ्यो । त्यसका लागि साथीहरुको ग्रुप पनि बनेको थियो । उनको टिमले डकुमेन्ट्री गर्ने निर्णय गर्यो र लेखन रुचि भएकाले उनको भागमा पर्यो । अनि निर्देशनको जिम्मा पनि साथीहरुले विभोरलाई नै दिए । यसरी उनले पहिलोपटक क्यामेरा पछाडि बसेर ‘एक्सन-कट’ गरे ।
त्यसपछि पढ्ने क्रममा एक जना साथीले म्युजिक भिडियो निर्देशनको प्रस्ताव ल्याए । उनका साथीले भनेका थिए, ‘मेरो गाउँका भाइहरूको एउटा म्युजिक भिडियो छ, हामीले निर्देशन गर्ने हो ?’
साथीको यो प्रस्तावपछि उनले त्यो भिडियो निर्देशन गरे । अनि सुरु भयो निर्देशन यात्रा ।
‘पढेको कुरा व्यवहारमा उतार्ने अवसर ठानेर उक्त भिडियो निर्देशन गरेको थिएँ । त्यही भिडियोले मेरो करिअर स्टार्ट गरायो,’ विभोर सुनाउँछन् ।
त्यसपछि साथीकै कारणले अन्य केही भिडियो निर्देशन गरे । सोही सिलसिलामा उनको गायक भरत सिटौलासँग चिनजान भयो । भरतसँग उनी म्युजिक कम्पनी र रेकर्डिङ स्टुडियोहरुमा गइरहन्थेँ । भरतको एल्बम रेबल क्रिएसनबाट आउने भयो । एल्बममा आठ गीत थिए । केही गीत काम सिकोस् भनेर भरतले भिडियो बनाउन उनलाई दिए । त्यसरी उनले एक-दुई गर्दै करिब १०० वटा भिडियो निर्देशन गरे ।
प्रकाश तिमल्सिनाको गीत ‘मान्छे रैछौ खल्ली हजुर’को म्युजिक भिडियो निर्देशन गरेपछि भने उनले पछाडि फर्केर हेर्नुपरेन । त्यसपछि दीपक जंगमको सङ्गीतमा ‘जिन्दगीले हिसाब माग्छ’, कमल खत्रीको ‘बोल्दैन तिम्रो तस्बिर’ र भरत सिटौलाकै ‘बैंसमा’ गीतको म्युजिक भिडियो गरे । यी भिडियोले उनको निर्देशन यात्रालाई उचाई दिए । त्यसपछि उनलाई म्युजिक भिडियोको बाढी नै आउन थाल्यो । उनले हजार बढी भिडियो निर्देशन गरे ।

यसरी भयो फिल्ममा डेब्यु
सयौं भिडियो निर्देशन गरिसकेपछि साथीभाइको आग्रहमा विभोरले केही भिडियोमा अभिनय समेत गरे । म्युजिक भिडियोमा कथा भन्दै जाँदा पाँच मिनेटको समय उनलाई अपुग लाग्न थाल्यो । लामो कथा भन्न र केही फरक काम गर्न मन लाग्न थाल्यो ।
‘जब म अविवाहित थिएँ, मेरो सोचाइको दायरा फरक थियो । विवाह, सन्तान र बढ्दो पारिवारिक दायित्वले जीवनलाई गहिरोसँग बुझ्ने अवसर दियो,’ उनी सुनाउँछन्, ‘जीवनका यी गहिरा भोगाइ र अनुभूतिहरूलाई पस्किन म्युजिक भिडियोको सानो संसार अपर्याप्त लाग्यो ।’
कथालाई मन खोलेर भन्न फिल्म रोजेको विभोर बताउँछन् ।
फिल्ममा होमिएपछि विभोरले बुझे- म्युजिक भिडियो भन्दा धेरै गुणा गाह्रो र गहन विधा रहेछ । म्युजिक भिडियोमा पाँच मिनेटभित्र एउटा पात्रको जन्मदेखि मृत्युसम्मको कथा सङ्केतमा देखाउँदै आएका उनलाई त्यही कथा दुई घण्टाभन्दा लामो समयसम्म दर्शकलाई बाँधेर राख्न चुनौतीपूर्ण हुन्छ भन्ने पहिले कहाँ थाहा थियो र ?
विभोर भन्छन्, ‘फिल्ममा म्युजिक भिडियोमा जस्तो एक्सक्युज चल्दैन रहेछ । यहाँ कन्टिन्युटीदेखि हरेक प्राविधिक पक्षमा इमानदार हुनैपर्छ ।’
अभिनयले खारिएका अनुभवी कलाकारलाई ‘एक्सन-कट’ गर्नु नवनिर्देशकका लागि फलामको चिउरा चपाएसरह हुन्छ । तर अधिकांश कलाकारसँग भिडियोमा काम गरिसकेकाले विभोरलाई खासै अप्ठ्यारो भएन ।
पहिलो फिल्म निर्देशनपछि हराउने धेरै निर्देशक छन् । ‘रियाल रिङ्गेट’लाई यात्राको सुरुवात मान्छन् विभोर । लामो समय यसै क्षेत्रमा बिताइसकेकाले यो यात्रामा हिँडिरहने उनी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण