कोशीमा खडेरीको मार : २१ प्रतिशतले घट्यो रोपाइँ
सारांश
- कोशी प्रदेशमा मनसुन कमजोर हुँदा धान रोपाइँ प्रभावित भएको छ, जसले गर्दा गत वर्षको तुलनामा रोपाइँ २१ प्रतिशतले घटेको छ।
- पानी कम परेका कारण झापा, मोरङ र सुनसरी लगायतका जिल्लाहरूमा धान रोपाइँ कम भएको छ, जसले खाद्य सुरक्षामा असर पार्न सक्ने देखिएको छ।
- सोलुखुम्बु र खोटाङमा भने रोपाइँ सन्तोषजनक रहेको छ, तर समग्रमा प्रदेशभर रोपाइँको अवस्था चिन्ताजनक छ।
विराटनगर । यस वर्ष मनसुनले धोका दिँदा कोशी प्रदेशका अधिकांश जिल्लाहरूमा धान रोपाइँ प्रभावित भएको छ । आकाशे पानीको भरमा खेती गर्ने किसानहरूका लागि पर्याप्त वर्षा नहुनु प्रमुख चुनौती बनेको छ । जसका कारण प्रदेशभरिको रोपाइँ गत वर्षको तुलनामा २१ प्रतिशतले घटेको छ ।
कृषि विकास निर्देशनालय कोशी प्रदेशले साउन ४ गते सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रदेशमा हालसम्म जम्मा ६१.७९ प्रतिशत मात्रै रोपाइँ भएको छ । गत वर्ष यही समयमा ८२.६८ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो ।
निर्देशनालयको प्रतिवेदनमा उल्लेख गरिएको कैफियतमा रोपाइँ घट्नुको मुख्य कारण ‘पानी कम परेर’ उल्लेख छ । प्रदेशका १४ जिल्लामध्ये ताप्लेजुङ, सङ्खुवासभा, इलाम, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुङ्गा, झापा र सुनसरी लगायतका अधिकांश जिल्लामा रोपाइँ कम हुनुको कारण ‘पानी कम परेर’ उल्लेख छ ।
तराईका धान उत्पादनका मुख्य पकेट क्षेत्र मानिने झापा, मोरङ र सुनसरीमा समेत पर्याप्त वर्षा नहुँदा खेतहरू बाँझै छन् । मोरङमा जम्मा ५० प्रतिशत र झापामा ६८.६० प्रतिशत मात्र रोपाइँ भएको छ । जुन चिन्ताजनक अवस्था हो ।
समयमा पानी परेका जिल्लाहरूमा भने रोपाइँको अवस्था उत्कृष्ट छ । सोलुखुम्बुमा ८४.३१ प्रतिशत र खोटाङमा ८१.३० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यी जिल्लाहरूमा समयमा वर्षा भएकाले रोपाइँ सन्तोषजनक रहेको निर्देशनालयले जनाएको छ ।
उच्च पहाडी जिल्ला ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बुमा औसत ५०.४२ प्रतिशत मात्र रोपाइँ भएको छ । ताप्लेजुङमा प्रदेशकै सबैभन्दा कम ४३.७३ प्रतिशत मात्रै रोपाइँ भएको छ । मध्य पहाडमा ६४.५५ प्रतिशत र तराईमा ६१.७३ प्रतिशत रोपाइँ भएको छ ।
तथ्याङ्क अनुसार प्रदेशमा कुल २ लाख ७६ हजार ३८६ हेक्टर धान खेतीयोग्य जमिनमध्ये १ लाख ७० हजार ७९० हेक्टरमा मात्र रोपाइँ भएको छ । अबका केही दिनभित्र मनसुन सक्रिय भई पर्याप्त वर्षा नभएमा प्रदेशको खाद्य सुरक्षा र कृषि अर्थतन्त्रमा समेत नकारात्मक असर पर्ने निर्देशनालयका प्रमुख प्रकाश डाँगीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण