बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी साताको कविता

डा. अम्बिका अर्यालका तीन कविता

शनिबार, १० साउन २०८२, १६ : ००
शनिबार, १० साउन २०८२

१) द्वापरयुगको माग
कलियुगमा द्वापर छिरोस्
कृष्णका अनेक रूप मिलोेस्
बर्गेल्ती वयले बयली खेलोस्
जतनले जिन्दगीका कल पेलोस्
 
एउटा वयले जिम्मेवारीका जाँतो घुमाउँदा 
अर्कोले भान्साको भार उठाओस्
एउटाले रोगी र वृद्ध स्याहार्दा
अर्कोले बच्चाका गृहकार्य सघाओस् 

एउटाले अड्डाको भय भगाउँदा 
अर्काेले योजनाको साहस बढाओस्
एउटाले बढोत्तरीको तयारी गर्दा 
अर्कोले विजयी यात्रा थालोस्

एउटाले मेट्दा चिन्तारेखा
अर्काेले खुबसुरतीको मलम लगाओस् 
एउटाले अँगालोमा चाह समेट्दा
अर्काेले सुन्दर घरबार जमाओस् 

एउटाले कर्तव्य निभाउँदा
अर्कोले रहर ब्युँताओस् 
एउटाले सेवामा काँध थाप्दा
अर्काेले सन्तुष्टिको द्वार उघारोस्  
एउटाले जिम्मेवारीको भार उचाल्दा
अर्कोले सन्तापका राप निभाओस्

एउटा ज्ञानको भुमरीमा छिर्दा
अर्कोले भावको गङ्गा पिलाओस्
एउटाले सिर्जनाको लहरो पक्रँदा 
अर्कोले एकाग्रताको पिङ मच्चाओस्  

मिल्छ कि भनी कृष्णझैँ वरदान
प्रार्थना युगकै थालिरहेछु
तब त कलियुगमा उभिएर पनि
द्वापरयुगको माग गरिरहेछु ।
००

२) संस्कारको खेल

हरिया चुरा, मेहेन्दी, सिन्दुर र पोतेले 
कहिले सजिए र हजुरबुबाका तनहरू ? 
तर पनि एक्लै चौरासी पूजामा 
डोलीमा बोकिएकी हजुरआमालाई 
म पन्ध्रमा टेक्दै गर्दा 
सयौँले विनाचुरा पोते 
दीर्घायुको आशिष दिँदा 
पच्चिसमा मैले हृदय जलाएर 
श्रद्धाञ्जली चढाएँ... 

व्रत र पूजापाठको रीत बिगार्दा 
मलाई हकार्ने मुख 
सदा सूर्य र चन्द्रलाई 
नमन गर्ने ती हात 
हजुरबुबाका श्रद्धामा 
बालविधवाको अपमानका भारी 
रहरका पोका, यौवनका भोक 
जुनीभर चढाएर मन्दिरमा 
त्यागेर गुलाबी— राता पहिरन 
सदा हरियै भिरे पनि 
खै त परास्त भएको यमराज ? 
खै त टेरेको हजुरबुबाको दीर्घायुले ? 
खै त मैले 
आफ्ना हजुरबुबाको अनुहारै देखेको ?

बाल्यकालमै हरिया चुरा र मेहेन्दी 
लगाइदिएनन् किन 
कसैले मेरी हजुरआमालाई 
किन सिकाएनन् खेल पहिरनको 
(हरिया चुरा, हरिया नङ पालिस, हरिया पोते र मेहेन्दीको) 
लोग्नेको दीर्घायु जोगाउने पद्धतिको 
विष्णु/महादेव (भगवान्) र 
श्रीमान्बिच अभेद्यताको 

अनि 
नसिकाएरै हजुरबुबाले 
थपेर आफ्ना आयु 
कसरी जित्नुभयो धर्मका खेल ? 
संस्कारका खेल ?
००
३) पश्चात्ताप 

मलाई आफ्नै निर्णयप्रति ग्लानि छ 
आफ्नै कदमप्रति पश्चात्ताप छ 
दोष कसलाई दिनु ? 
भाग्यको भरोसामा भन्दा 
कर्ममै विश्वास बढेपछि 
आफ्नै औँलामा निलो रङ पोतेको 
आफैँले हो 

छानीछानी चिह्नहरूमा 
ल्याप्चे ठोकेको आफैँले हो 
देशको सुन्दर तस्बिर नचाएर आँखामा 
भविष्य सुखको कल्पनामा 
निमग्न हुँदै 
उनैका अनुहारमा दिव्य झलक देखेर 
मुस्कुराएको आफैँले हो 

कहाँ चिन्न सके र यी नयनले 
दैत्यमा देवको भेष 
मोहनी छर्ने भाकाभित्र 
आफ्नै आमालाई सिध्याउने खेल 
पटकपटकको गल्तीमा माफी दिएकै हो 
एकचोटि फाटिसकेको विश्वास सिएकै हो 
लडिन्छ कि जान्दाजान्दै 
आश्वासनको कदम चालेकै हो 
ब्वाँसालाई सकेसम्म 
अघाएर पालेकै हो 

तर 
पश्चात्ताप छ आफैँसँग आज 
चुनेर चिसा दाउरा 
गरिबका चुलो सल्काउन खोजेँ 
स्वार्थलिप्तको काँधमा बोकाएर 
मेरी निरोगी आमा 
कोढग्रस्त पारिसकेँ 
अब 
सुम्पनेछैन कहिल्यै 
सपना अरूका काँधमा 
हिँड्नेछैन भिरेर आशाका माला 
चढाउनेछैन स्वाभिमान कसैका छाँदमा 

साँच्चै, भोकको लडाइँमा अघाएकालाई 
चुनेको पश्चात्ताप छ 
रोगको लडाइँमा मनका रोगीलाई नै 
चुनेको पश्चात्ताप छ 
शोकको लडाइँमा विवेक गुमाएकालाई 
चुनेको पश्चात्ताप छ 
अनि त देश थलाउने खेलमा 
छ पश्चात्ताप 
आफैँ बकम्फुसे खेलाडी बनेको 

कसरी पोखौँ शब्दमा खै 
उनका नजरमा त म केवल 
एक मतदाने भेडो न परेँ 
तर एकमै छ शक्ति भन्ने बुझाउँदै उनलाई 
सावधानीको पाठ पोखेर पीडामा 
फेरि आफैँलाई औँला ठड्याउँदै 
हरपल गमिरहेछु 
तब झन् बढी 
आफ्नै निर्णयप्रति पश्चात्ताप छ ।
०००
(बेचैन अभिलाषा कवितासङ्ग्रहबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. अम्बिका अर्याल
डा. अम्बिका अर्याल
लेखकबाट थप