सुदूरपश्चिममा रानाथारु समुदायले तीज मनाउँदै, दाजुभाइको दीर्घायुका लागि व्रत
सारांश
- सुदूरपश्चिम प्रदेशको रानाथारु समुदायले दाजुभाइको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै तीज मनाए।
- महिलाहरूले निराहार व्रत बसेर नदी किनारमा पूजाआजा गरे, जसमा झुरकी सेलाउने परम्परा छ।
- तीजमा विशेष परिकार खाने र दाजुभाइले दिदीबहिनीलाई आशीर्वाद दिने चलन छ, साथै स्थानीय बिदा दिइएको छ।
धनगढी । सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा बसोबास गर्ने रानाथारु समुदायले आइतबार हर्षोल्लासका साथ तीज पर्व मनाइरहेका छन् ।
अन्य समुदायमा महिलाहरूले श्रीमानको दीर्घायुका लागि तीजको व्रत बस्ने गरे पनि रानाथारु समुदायमा भने दाजुभाइ तथा भतिजाको सुस्वास्थ्य र लामो आयुको कामना गर्दै यो पर्व मनाउँछन् ।
श्रावण शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा महिलाहरू दिनभर निराहार व्रत बस्छन् । धनगढी उपमहानगरपालिका–८ का शिवु रानका अनुसार यो उनीहरूको मौलिक परम्परा हो ।
व्रतालु महिलाहरूले दिनभरको उपवासपछि साँझपख नदी किनारमा गएर विशेष पूजाआजा गर्ने गर्दछन् । पूर्व प्रदेश सभा सदस्य मालामती रानाका अनुसार, सावनको डोला (पिङ) मा प्रयोग भएको डोरी (मुरिया) र कुशबाट बनाइएको ‘झुरकी’ लाई नदीमा सेलाएर पूजा गर्ने परम्परा छ । विवाहित महिलाले सात गाँठो र अविवाहितले पाँच गाँठो पारेको झुरकी बनाएर सेलाउने गर्छन् ।
पूजा सकिएपछि घरपरिवारका सदस्यहरू जम्मा भएर सिमही, पुरी, गुलगुला, पकौडा जस्ता मिठा परिकारहरू खाने चलन छ । स्थानीय शिवराज रानाका अनुसार, व्रत बसेका दिदीबहिनी तथा फुपूहरूलाई दाजुभाइले आशीर्वाद दिने र दक्षिणा दिने गर्छन् ।
तीज आउनु केही दिन अघिदेखि नै गाउँघरमा सावनको डोला (पिङ) हालेर रमाइलो गर्ने चलन छ र यो क्रम तीजपछि पनि जारी रहन्छ ।
यस अवसरमा कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका तथा कञ्चनपुरको पुनर्वास, लालझाडी, बेलौरी र कृष्णपुर नगरपालिकाले आज स्थानीय सार्वजनिक बिदा दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण