हुम्ला–मुगु लिङ्क रोड : लोतीखोलामा ‘बेलीब्रिज’ जडान
सारांश
- हुम्ला र मुगु जोड्ने चङ्खेली गाउँपालिकाको लोतीखोलामा बेलीब्रिज निर्माण सम्पन्न भएको छ।
- पुल निर्माणले स्थानीयवासीलाई आवतजावतमा सहजता ल्याएको छ र तुइनको समस्या हटेको छ।
- यो पुलले कैलाश मानसरोवर र रारातालको यात्रालाई समेत सहज बनाउनेछ।
हुम्लक । हुम्ला र मुगु जोड्ने चङ्खेली गाउँपालिकाको लोतीखोलामा बेलीब्रिज निर्माण सम्पन्न भएको छ । रु चार करोड ९८ लाखमा बेलीब्रिज जडान गर्ने काम सम्पन्न भएको हो । पूर्वाधार विकास कार्यालयका प्रमुख इञ्जिनियर नरेशराज जैसीका अनुसार बयालीस मिटर लम्बाइको उक्त बेलीब्रिज कर्णाली नदीबाट १० मिटर उचाइमा रहेको र पुलको ३.१५ मिटर उचाइ, तीनवटा प्यानल र तीनवटा डेक राखिएको छ ।
लोतीखोलामा पुल नहुँदा स्थानीयवासी समस्यामा रहेका थिए । हिउँदयाममा खोलामा पानी घटेपछि खोलाबाटै सवारीसाधन वारपार गर्दथे भने हल्का सवारीसाधनका लागि काठको पुल बनाइएको थियो । वर्षात्मा आएको खोलाले पुल बगाएपछि मानिससमेत तुइनमा तर्न बाध्य थिए ।
हुम्ला र मुगु जोड्नका लागि मात्र नभई चङ्खेली गाउँपालिकाको केन्द्र पिप्लाङ आवतजावत गर्न पनि गाउँपालिकावासी तुइनमै निर्भर रहेका थिए । चङ्खेली गाउँपालिकाका तीनवटा वडा तुइन तरेर गाउँपालिका केन्द्रमा आउनुपर्ने समस्या अन्त्य भएको गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताए । उनका अनुसार निरन्तरको पहलपश्चात बेलीब्रिज छोटो समयमा निर्माण सम्पन्न भएको हो ।
पुलले मुगु, जुम्लालगायतका नागरिकलाई कैलाश मानसरोवर दर्शन गर्न र हुम्लाका नागरिकलाई राराताल अवलोकनका लागि बाजुरा भएर जानुपर्ने बाध्यतामात्र टरेको छैन, अब तिनै जिल्ला सदरमुकामसँग सिधा आवतजावत हुने भएको छ । यही साउन १३ गतेका दिन औपचारिक रुपमा उद्धघाटन गरी हुम्ला मुगु लिङ्क हुने भएको छ । चङ्खेलीका सलीसल्लाबाट मुगु जिल्लाको भट्याचौरसम्म ग्रामीण पहुँच कार्यक्रम (र्याप थ्री) ले निर्माण सम्पन्न गरेको करिब चार वर्ष पूरा भएपश्चात यो बेलीब्रिज निर्माण भएको छ ।
कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालयअन्तर्गत जिल्लास्थित पूर्वाधार विकास कार्यालयसँग २०८१ साल मङ्सिर २३ गते सम्झौता भई असार २२ गते सम्पन्न भएको उक्त बेलीब्रिज करिब पाँच महिनामा सम्पन्न भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण