शब्द बलियो कि भाव ?
दुई वा दुईभन्दा बढी अक्षर मिलेर शब्द बन्छ भन्ने कुरा हाम्रो मनमा आउँछ । तर एक अक्षरबाट बनेका शब्द पनि हामीले प्रयोग गरिरहेका हुन्छौं । शब्दका विषयमा केही कुरा भनिरहँदा मैले यहाँ दुई कुरा भन्नैपर्छ । पहिलो, म भाषाविद् होइन र दोस्रो, म नेपाली भाषा बोल्ने व्यक्ति हुँ ।
यहाँ केवल शब्द र भावका विषयमा स्वयं जिज्ञासा बनेका केही प्रसङ्ग राख्ने प्रयास मात्र गरिएको छ ।
कुनै वस्तुलाई सम्झेर, देखेर र शब्द वा ध्वनिले हामीलाई भावमा पुर्याउँछ । तर यहाँ केवल शब्दलाई प्राथमिकतामा राखेर चर्चा गरिन्छ । हाम्रो मनमा आउने वा गरिने विचार जानेकै शब्दमार्फत हुन्छ । मनका सबै विचारहरू बोली बनेर बाहिर आउँदैनन् । कुनै विचारहरू व्यवहारमा मात्र देखिन्छन् । जति विचार बोली बन्छन्, ती सबै शब्द भएर निस्कन्छन् ।
नेपाली भाषामा हेर्दा कुनै एक अक्षरका मात्रै पनि थुप्रै शब्द छन् । त्यसपछि दुई,तीन, चार, पाँच अक्षरका शब्द छन् । तिनलाई देखेपछि वा सुनेपछि आकार, रङ, गुण र भावको अनुभूतिमा पुगिन्छ ।
शब्दबाट उत्पन्न असर वा परिणाम हेर्दा मनमा उठ्ने प्रश्न छ, शब्द बलियो कि भाव ? हाम्रो सबैभन्दा चलनचल्तीमा रहेको एक अक्षरको शब्द छ ‘म’ । यस म शब्दलाई कसरी बुझ्ने ? म जन्मिँदा एक बालिका वा छोरी भनियो । बालिका वा छोरी पनि समाजमा चलेको भाषा अनुसारको संज्ञा हो । परिवारिक नातामा हेर्दा म धेरै सङ्ख्यामा विभाजित भएँ । जीवन जिउँदै जाँदा मसँगका नाता र सम्बोधन प्रशस्तै भए । वास्तवमा त्यतिबेला म जे थिएँ, त्यही थिएँ र अहिले जे छु, त्यही छु ।
शब्दको अनुपस्थितिमा पनि भाव उत्पन्न हुन्छ । देखिने वा सुनिने शब्द बाहिरी खेल हो भने भाव अभौतिक र अन्तर्निहित गुण हो । त्यसैले हामीले चिन्ने भनेको अक्षर वा शब्दलाई मात्र होइन रहेछ, ती शब्दमा रहेको भावात्मक गाम्भीर्यता, गुण, फैलावट, गहिराइ र उचाइमा रहेछ ।
यसमाथि पनि म भन्ने शब्दलाई भावका रूपमा हेर्दा म को हुँ भन्ने खोजमा धेरै शास्त्रहरू र पूरै अध्यात्म जगतले भरपुर तागत लगाएको देखिन्छ । सामान्य मानिसका त कुरै छोडौं, ब्रह्मज्ञानी, ऋषिमुनि, सन्त, महात्माहरूबाट समेत म भन्ने शब्दको व्याख्याले पूर्ण भावमा पुग्न अगम्य छ भनेको सुनिन्छ ।
भनिन्छ, म भनेको मेरो सजगता, मेरो चेत वा मेरो होस हो । यसैगरी अध्यात्म भनेको आत्मज्ञान वा आत्मा र परमात्माका गुण र तिनको पारस्परिक सम्बन्धबारे गरिने चिन्तन हो । अझ यसलाई छोटकरीमा भन्दा अध्यात्म भनेका मदेखि मसम्म पुग्ने यात्रा हो भनिन्छ ।
हामीले देख्ने, सुन्ने, स्पर्श गर्ने, स्वाद लिने र गन्ध पाउने इन्द्रिय बेग्लाबेग्लै छन् तर त्यो सबै अनुभूत गर्ने ‘म’ले नै रहेछ । यस भावलाई व्यक्तिको आफ्नो क्षमताले जतिसक्छ बुझ्ला अर्थात् बोधमा पुग्ला । तर एकले अर्कालाई भनेर वा व्याख्या गरेर भावमा पुग्न कठिन छ ।
मनुष्य जीवित रहेसम्म ‘म’ कै वरपर घुमेको छ । जस्तै- म सुतें, म गएँ । ‘म’ लाई भोक लाग्यो, मलाई ठिक छ आदि । यसैगरी मैले पाएँ, मैले खाएँ, लाएँ आदि सबै मबाट नै घटित भएका छन् । यस्तै अनगिन्ती शब्दावली हुनसक्छन् ‘म’ का विस्तारित शब्दहरू । यसरी मनन गर्दा कति, कस्तो र कसरी आँकलन गर्ने म शब्दलाई ?
यस्तै मसँग अन्तर्निहित भएर उब्जेको अर्को शब्द छ मेरो । व्यक्तिले आफ्ना भन्ने मान्छे, चीज वा पदार्थलाई मेरो वा मेरा भनेर उद्घोष गरिन्छ । जस्तै- मेरो शरीर, मेरो मन, मेरो भावना, मेरो चेतना आदि । यस्तै मदेखि बाहिर रहेको मेरो परिवार, वस्तु, चीज वा पदार्थहरू पनि ‘म’को नै विस्तार हो । म छु र त मेरा छन् । म नभए मेरा हुनै सक्दैनन् । यो त भयो एक अक्षरको शब्द ‘म’को गहिराइ र विस्तार ।
यसैगरी दुई अक्षरको आमा शब्दलाई हेरौं । आमालाई धर्तीसँग तुलना गरिन्छ । आमा शब्दसँग पर्यायवाची भएर आउने भाव हो प्रेम । अर्को यस्तै शब्द छ बुबा । बुबाको साथमा आउँछ भरोसा । बुबालाई आकाशसँग दाँजेर हेरिन्छ । शब्दका रूपमा आमा र बुबाको प्रतिनिधित्व यिनै चार अक्षरले गरेका छन् ।
आमा र बुबालाई बुझ्न खोज्दा पर्यायवाचीका रूपमा आउने शब्द धर्ती र आकाशलाई कसरी प्रस्ट्याउने ? प्रेम र भरोसालाई परिभाषित गर्ने कसरी ? अब म र मेरो, आमा र बाबु भन्ने शब्दको भावलाई कसरी बुझाउन सकिएला ? कहिलेकाहीँ ठूलो अर्थ र महत्व राख्ने शब्दलाई हामी बलियो शब्द भन्छौं । यस अर्थमा शब्द सूर्य भए भाव प्रकाश हो । त्यसैले त शब्दले बोकेको भावलाई छिचोल्न सकिँदैन । अनि अलमलमा परिन्छ, शब्द बलियो कि भाव ?
मानिसका भाषाअनुसार शब्द फरक हुने त छँदैछ । त्यसमाथि शब्दको अनुपस्थितिमा पनि भाव उत्पन्न हुन्छ । देखिने वा सुनिने शब्द बाहिरी खेल हो भने भाव अभौतिक र अन्तर्निहित गुण हो । त्यसैले हामीले चिन्ने भनेको अक्षर वा शब्दलाई मात्र होइन रहेछ, ती शब्दमा रहेको भावात्मक गाम्भीर्यता, गुण, फैलावट, गहिराइ र उचाइमा रहेछ ।
वास्तवमा मौनतामा गहन भाव हुन्छ । एकको भावलाई अर्कोले बुझेर शब्दबाट उत्तर दिन पनि सकिन्छ । शब्दलाई लेखेर देखाउन सकिन्छ र शब्द अट्न ठूलो स्थान चाहिँदैन । तर भावलाई केवल अनुभूत मात्र गरिन्छ र बस्न कुनै भौतिक ठाउँ नै चाहिँदैन ।
बाहिर देख्दा शब्द बलियो लाग्छ भने भित्र हेर्दा भाव । म अझै अलमलमा छु, भाव र शब्द कुन बलिया हुन् ?
(घिमिरे जीवन विज्ञान प्रतिष्ठानकी प्रशिक्षक हुन् ।)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण