प्रदेश सरकारद्वारा मधेसमा डिपबोरिङ जडान सुरु
सारांश
- मधेस प्रदेशमा लामो समयको खडेरीले गर्दा खानेपानीको समस्या समाधान गर्न प्रदेश सरकारले डिपबोरिङ जडान गर्ने योजना सुरु गरेको छ।
- प्रदेश सरकारले प्रत्येक वडामा डिपबोरिङ जडान गर्ने योजना बनाएको छ, र यसले खानेपानीलाई प्राथमिकता दिनेछ।
- धनुषाको मिथिलाविहारी नगरपालिकामा पहिलो चरणको जडान सुरु भएको छ र विभिन्न कार्यालयमार्फत डिपबोरिङ निर्माण गरिनेछ।
जनकपुरधाम । लामो समयदेखि आकासे पानी नपरेपछि मधेस प्रदेश सुख्खाग्रस्त क्षेत्र हुँदा कृषियोग्य जमिनमा सिँचाइ तथा खानेपानीको सङ्कट उत्पन्न भएपछि प्रदेश सरकारले डिपबोरिङ जडान गर्ने योजना सुरु गरेको छ । प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको नेतृत्वमा मधेश प्रदेशका प्रत्येक वडामा एउटाका दरले डिपबोरिङ जडान गर्ने योजना ल्याइएको हो ।
ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवले आवश्यकता तथा प्राथमिकताका आधारमा विस्तारै डिपबोरिङ जडान गरेर पानीको समस्या समाधान गर्ने प्रदेश सरकारले योजना बनाएर कार्यान्वयन सुरु गरेको जानकारी दिए । अहिले प्रदेशको सहरी तथा ग्रामीण क्षेत्रमा खानेपानीको समस्या विकराल बन्दै गएकाले सिँचाइ भन्दा खानेपानीलाई प्राथमिकता दिइएको उनको भनाइ छ ।
मधेस प्रदेश सरकारको सीमित स्रोतसाधनका बाबजुद आवश्यकता अनुसार प्राथमिकता निर्धारण गरेर डिपबोरिङ जडान अगाडि बढाइएको मन्त्री यादवले बताए । खानेपानी तथा सिँचाइको समस्याबाट ग्रसित जनताले सो मन्त्रालयसमक्ष विभिन्न वडा तथा टोलमा खानेपानीको समस्या रहेको भन्दै बोरिङ जडानको माग गरेका मन्त्रालयले जनाएको छ ।
खडेरीको चपेटामा परेको मधेशलाई प्रदेश सरकारले सुख्खाक्षेत्र घोषणा गरिसकेको छ भने सङ्घीय सरकारले पनि तीन महिनाका लागि ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरिसकेको छ । साथै प्रदेश सरकारले खानेपानी अभाव क्षेत्रमा ट्याङ्कर तथा दमकलबाट निःशुल्क रूपमा पानी वितरण गरिरहेको छ ।
यसैबिच मधेश प्रदेश सरकारको डिपबोरिङ जडान गर्ने योजनाअनुसार धनुषाको मिथिलाविहारी नगरपालिका–२ स्थित परशुराम तलाउ क्षेत्रमा पहिलो चरणको जडान सुरु भएको मन्त्री यादवले जानकारी दिए ।
मन्त्रालयअन्तर्गत भूमिगत सिँचाइ कार्यालय जलेश्वर, भूमिगत सिँचाइ कार्यालय लहान, भूमिगत सिँचाइ कार्यालय कर्मेया (सर्लाही), तथा भूमिगत सिँचाइ कार्यालय वीरगञ्जमार्फत डिपबोरिङ निमार्ण गरिने उनले उल्लेख गरे । उनका अनुसार ती कार्यालयले मधेश प्रदेशका आठ जिल्लामध्ये दुई–दुईवटा जिल्लामा डिपबोरिङ जडान तथा निमार्ण गर्दै आएका छन् ।
सङ्घीय सरकारको मातहतमा रहेको कमला सिँचाइ व्यवस्थापन कार्यालय पोर्ताहाले गत आर्थिक वर्षदेखि सिँचाइका साथै डिपबोरिङ जडान सुरु गरेको कार्यालयका प्रमुख वीरेन्द्र यादवले जानकारी दिए । धनुषा तथा सिरहा कार्यक्षेत्र रहेको सो कार्यालयबाट जडान गरिएका डिपबोरिङबाट केही हदसम्म सिँचाइ तथा खानेपानीको समस्या समाधान भएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण