रामेछापका मूल सडकमा गाडी गुडाउनै कठिन
सारांश
- रामेछापका सडक निर्माण व्यवसायीले समयमा काम नगर्दा सडक हिलाम्मे बनेका छन्, जसले गर्दा स्थानीयलाई समस्या भएको छ।
- मन्थली पकरबास-गोगनपानी-गाल्वा सडक र अन्य सडकको म्याद सकिए पनि कालोपत्र नहुँदा स्थानीय आक्रोशित भएका छन्।
- निर्माण व्यवसायी र पूर्वाधार विकास कार्यालयको ढिलासुस्तीका कारण सडक निर्माणको काम लथालिङ्ग भएको छ, स्थानीय जनप्रतिनिधिले कारबाहीको माग गरेका छन्।
रामेछाप। निर्माण व्यवसायीले निर्धारित समयमा काम सम्पन्न नगर्दा यहाँका मुख्य सडक हिलाम्मे छन् । ग्रामीण कच्ची सडकको ठाउँठाउँमा भासिने र पहिरो गई गाडी गुडाउनै नसकिने बनेका हुन् ।
जिल्ला पूर्वाधार कार्यालयमार्फत निर्माण भइरहेका मन्थली पकरबास–गोगनपानी–गाल्वा सडक, सित्खा–गोगनपानी –धुलेबेसी–भोटनागी सडक र खिम्ती–रस्नालु–ठोसे सडकलगायतका जिल्लाका महत्वका सडक तथा पक्की पुल निर्माणमा ढिलासुस्ती भएको छ ।
सित्खा–गोगनपानी–धुलेबेसी–भोटनागी सडक गत असोजमा कालोपत्रे गर्नुपर्नेमा हालसम्म सम्पन्न भएको छैन । निर्माण व्यवसायीले समयमा काम नगरेपछि स्थानीयले जिल्ला पूर्वाधार विकासको कार्यालयमा ताला लगाएका थिए । निर्माण व्यवसायी र कार्यालयले तोकिएको समयमा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए पनि प्रतिबद्धता पुरा नभएको मन्थली नगरपालिका–१ का स्थानीय पाण्डव सुवेदीले बताए ।
त्यसैगरी मन्थली–पकरबास–गोगनपानी–गाल्वा सडक अन्तर्गत पकरबास– गाल्पा सडक कालोपत्रे गर्ने अन्तिम म्याद गतवर्षको असार मसान्तसम्म थियो । म्याद सकिएको एक वर्ष बित्दा पनि कालोपत्रे नभएपछि ठाउँठाउँमा हिलो भएको छ ।
पकरवास–गोगनपानी–गाल्वा सडक दश किलोमिटर कालोपत्रे गर्ने जिम्मा अर्याल ब्रदर्श र दिवा भुवनेश्वरी जेभीले रु ४३ करोडमा लिएको थियो । ७.५ किलोमिटरको गोगनपानी–धुलेबेसी–भोटनागी सडक निर्माणको जिम्मा रु १७ करोडमा गरिमा रौताहा सगुन र पाँच पोखरी कन्सट्रक्सनले लिएको थियो । १८ महिनामा पुरा गर्ने गरी ठेक्का लागेको काम चार वर्षमा सम्पन्न नहुँदा पनि जिल्ला प्राविधिक कार्यालयले कुनै चासो नदेखाएको खाँडादेवी गाउँपालिका–४ का अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए ।
सोही कार्यालयमार्फत निर्माण भइरहेको खिम्ति–रस्नालु–ठोसे सडक पनि लथालिङ्ग छ । सो सडकमा जिल्लाको उत्तरी क्षेत्र जाने सवारी साधन घण्टौँसम्म हिलोमा फस्ने गरेका छन् । निर्धारित सयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायी र त्यसको अनुगमन गर्ने पूर्वाधार विकास कार्यालय प्रमुखलाई गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीवहादुर खड्काले कारबाहीको माग गरेका छन् ।
कार्यालय प्रमुख ज्यानेन्द्रप्रसाद पुनले भने निर्धारित समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई आफूले सचेत गराएको र पटक–पटक गराउँदा पनि नमानेमा ठेक्का सम्झौता तोडिने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण