बाँस प्रवर्द्धनमा जुटेका नगर प्रमुख सत्याग्रहमा
सारांश
- दिक्तेल रुपाकोट मझुवागढीका नगर प्रमुखले बाँसजन्य सामग्रीको प्रवर्द्धन लगायतका माग राख्दै काठमाडौंमा सत्याग्रह सुरु गरेका छन्।
- सत्याग्रहमा स्थानीय बाँसका सामग्री र कोदोको रक्सीको प्रवर्द्धन, बाँदर नियन्त्रण र भ्रष्टाचार नियन्त्रण जस्ता मागहरू छन्।
- नगर प्रमुखले माग पूरा नभए साउन १४ गतेदेखि आमरण अनसन बस्ने चेतावनी दिएका छन्, वार्ता टोली पनि गठन गरिएको छ।
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले आइतबारदेखि सत्याग्रह सुरु गरेका छन् । उनले बाँसजन्य सामग्रीको प्रवर्द्धनसहित सात बुँदे माग राख्दै काठमाडौँको माइतीघर मण्डलामा सत्याग्रह सुरु गरेका हुन् ।
उनका मागहरूमा स्थानीयस्तरमा उत्पादन हुने बाँसका सामग्री तथा स्थानीय कोदोको रक्सी प्रवर्द्धन, बाँदर नियन्त्रण, भ्रष्टाचार नियन्त्रणलगायतका सात बुँदा छन् । बाँसका सामग्री तथा स्थानीयस्तरमा उत्पादन हुने थोकवस्तुको प्रवर्द्धन गर्न सरकार समक्ष नगरपालिकाले राखेको माग सम्बोधन नभएपछि बाध्य भएर सत्याग्रह सुरु गरेको नगर प्रमुख भट्टराईले बताए ।
“बाँस तथा बाँसजन्य कच्चा पदार्थ उपयोगमा ल्याउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थियौँ । हामीले राखेको माग कार्यान्वयन गर्न सरकार उदासीन देखियो”, उनले भने, “खेर गइरहेका बाँसलाई उपयोगमा ल्याउन सरकारले नीति बनाउनुपर्नेमा सरकार उदासीन देखिएपछि सत्याग्रह सुरु गरेको हुँ । यो कार्यक्रम तीन दिनसम्म जारी रहन्छ ।” शान्तिपूर्णे सत्याग्रहले माग पूरा नभएमा यही साउनको १४ गतेदेखि आमरण अनसन बस्ने तयारी उनको छ ।
बाँसबाट निर्मित सामग्रीसहित सिंहदरबार परिक्रमा गर्न खोज्दा नगर प्रमुख भट्टराईलाई प्रहरीले रोकेको थियो । पशुपतिमा कपाल मुण्डन गरेपछि उनी खाली खुट्टा हिँडेर सिंहदरबारको दक्षिण ढोका पुगेका थिए । त्यसपछि माइतीघर मण्डला पुग्नुभएका नगर प्रमुख भट्टराईले बाँसका सामग्री प्रदर्शनसँगै सत्याग्रह सुरु गरेका हुन् ।
नगर प्रमुख भट्टराई बाँससहित बाँसको मान्द्रो, गुन्द्री, राडी, पराललगायत लिएर यही साउन ४ गते काठमाडौँ पुगेका हुन् । यसअघि आन्दोलनकै कार्यक्रमअनुसार राष्ट्रपति रामचन्द्र पौडेलसहित उच्चपदस्थ व्यक्तिहरूलाई बाँसका कुर्सी र टेबल उपहार दिएका थिए ।
भट्टराईले सत्याग्रह घोषणा गरेपछि बाँसजन्य उद्योग स्थापनाको सन्दर्भमा सङ्घीय सरकारसँग छलफल गर्न नगरपालिकाले वार्ता टोलीसमेत गठन गरेको छ । नगर कार्यपालिकाको साउन–१० गते बसेको बैठकले नगर उपप्रमुख एवम् कार्यवाहक नगर प्रमुख राईको संयोजकत्वमा सात सदस्यीय वार्ता टोली गठन गरेको प्रवक्ता दिनेश घिमिरेले जानकारी दिए ।
“मन्त्रालयको पत्रअनुसार वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही र नगर प्रमुख तीर्थराज भट्टराईबिच यही साउन ९ गते छलफल भएको थियो । थप छलफल गर्न र वार्तालाई निष्कर्षमा पुर्याउन मेरो संयोजकत्वमा वार्ता टोली बनाइएको हो”, उनले भने, “खेर गइरहेका बाँसलाई उपयोगमा ल्याउँदै स्थानीयस्तरमा उद्योग स्थापना गरेर युवापुस्ताका लागि रोजगारी सिर्जना गर्ने नगरपालिकाको नीति छ । हाम्रो माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहन्छ ।”
नगरपालिकाले ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ भन्ने नारासहित गत फागुनमा तीन दिने ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’ आयोजना गरेको थियो । दिक्तेल बजारमा सम्पन्न प्रथम राष्ट्रिय बाँस सम्मेलनले जारी गरेको ३५ बुँदे ‘खोटाङ घोषणा–पत्र’ गरेको थियो ।
सो घोषणा–पत्रमा बाँसलाई छिटो बढ्ने, बहुउपयोगी र नवीकरणीय स्रोतको रूपमा मान्दै यसले नेपालमा दिगो जीविकोपार्जन, चक्रीय अर्थतन्त्रको प्रवर्द्धन तथा वातावरण संरक्षणमा महत्त्वपूर्ण योगदान दिन सक्ने उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा रास्वपा : डोल्पा बाहेक सबैतिर वडादेखि जिल्लाको नेतृत्व चयन
-
इप्पानको विधान संशोधन सम्बन्धी विवाद समाधान: जेठ २९ गते अधिवेशन
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
-
अबदेखि स्वास्थ्य मन्त्रालयमा एक जना मात्रै सचिव रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण