बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जनताले अनुभूति गर्ने गरी गुणस्तरीय सेवा र पारदर्शिता सुनिश्चित गरौँ : मुख्यमन्त्री आचार्य

सोमबार, १२ साउन २०८२, ०९ : ३०
सोमबार, १२ साउन २०८२

सारांश

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विकास योजना जनताले अनुभव गर्ने गरी संचालन गर्न निर्देशन दिए।
  • मुख्यमन्त्री आचार्यले पारदर्शिता, कार्यान्वयन क्षमता र योजनाको प्रभावकारीतामा जोड दिँदै ठेक्का प्रक्रिया छिटो सक्न निर्देशन दिए।
  • उनले ढलान सडकलाई प्राथमिकता दिनुपर्ने र जनसरोकारका योजनालाई जोड दिन आग्रह गरे।

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विकास योजनाहरू जनताले प्रत्यक्ष रूपमा अनुभूति गर्न सक्ने गरी सञ्चालन गर्न र कामको गुणस्तरमा कुनै सम्झौता नगर्न निर्देशन दिएका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति बैठक तथा आर्थिक वर्ष २०८१/०८२ को प्रगति समीक्षा कार्यक्रमलाई साेमबार राप्ती उपत्यका देउखुरीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पारदर्शिता, कार्यान्वयन क्षमता र योजनाको प्रभावशीलतामा प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन् ।

उनले समपूरक, विशेष र सशर्त अनुदानको बजेट यथासमय कार्यान्वयनमा ल्याई ठेक्का प्रक्रिया छिटो टुङ्ग्याउन निर्देशन दिँदै बहुवर्षीय योजनालाई प्राथमिकता दिनुपर्ने धारणा राखे । उनले कालोपत्रे सडकभन्दा प्राविधिक दृष्टिले बलियो ढलान सडक उपयुक्त देखिएको अवस्थालाई ध्यानमा राखी ढलान सडकलाई प्राथमिकता दिनुपर्नेमा पनि जोड दिए ।

जनघनत्वको आधारमा योजना छनोट र स्टिमेट तयार पार्नुपर्ने भन्दै मुख्यमन्त्री आचार्यले योजनामा देखावटी खर्चभन्दा दीर्घकालीन उपयोगिता र जनसरोकारको महत्त्व बढाउन आग्रह गरे ।

समीक्षा कार्यक्रमको उद्घाटन भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालको अध्यक्षता र मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा मन्त्रालयका सचिव, महाशाखा प्रमुख, आयोजना निर्देशक तथा प्राविधिक अधिकृतहरूको उपस्थिति रहेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप