पर्सा । अन्नको भण्डार मानिने मधेस प्रदेश अहिले इतिहासकै चर्को खडेरीको चपेटामा परेको छ । किसानहरूलाई आकाश र जमिन दुवैले एकैपटक धोखा दिएपछि यहाँका खेतहरू बाँझो हुने अवस्थामा पुगेका छन् भने रोपिएका धानका बोटहरू पानीको अभावमा पहेँलिँदै जान थालेका छन् । खेतका गराहरू चिराचिरा परेका छन् ।
सिँचाइको भरपर्दो विकल्प नहुँदा आकाशेपानी र भूमिगत जलमा निर्भर किसानहरू यतिवेला रगतको आँसु पिउन बाध्य छन् । उनीहरूको पीडादायी चित्कार न त कुनै सरकारी निकायले राम्रोसँग सुनेको छ, न प्रकृतिले नै साथ दिन सकेको छ ।
बारा, पर्सादेखि रौतहटसम्मका किसानहरूको पीडा एउटै छ– लगानी डुब्यो, खेत सुक्यो, अब परिवार कसरी पाल्ने ?
यो सङ्कट कृषिमा मात्रै होइन, खानेपानीमा पनि छ । जमिनमुनिको पानीको सतह घट्दै जाँदा, निकै तलसम्म पुग्दा गाउँघरमा खानेपानीकै हाहाकार मच्चिन थालेको छ ।
बाराको बरियारपुरका किसान सुवास साहलाई यतिवेला निकै छटपटी छ । शुक्रबार मात्रै आफ्नो खेतमा नयाँ मोटर जडान गरेका उनको अनुहारमा खुसी भने छैन । उनको एक बिघा जमिनमा जेनतेन रोपाइँ त भयो, तर त्यसको केही दिनमै पुरानो बोरिङबाट पानी आउन बन्द भयो । जमिनमुनिको पानीको स्रोत नै सुकेको आशंकामा उनले २१ हजार रुपैयाँ खर्च गरेर नयाँ र शक्तिशाली मोटर किने, तर त्यो लगानीले पनि उनको खेतलाई पर्याप्त भिजाउन भने सकेन ।
‘पहिले–पहिले यही पुरानो बोरिङबाट पानी राम्रैसँग आउँथ्यो, तर अहिले त पानीको आउन छोड्यो । त्यही भएर ऋण काढेर नयाँ मोटर जडान गरेको हुँ,’ उनले आफ्नो विवशता सुनाए । तर नयाँ मोटरले पनि जमिनबाट पर्याप्त पानी तान्न नसकेपछि उनी थप निराश बनेका छन् । ‘पानी त आउनै छोड्यो, लाग्छ जमिनमुनि पनि पानी रित्तियो, न आकाशबाट आउँछ, न जमिनबाट,’ साहले गहभरि आँसु पार्दै दुखेसो पोखे ।
उनले रोपाइँ गर्दाको समय जमिनबाट अलि–अलि पानी आइरहेको थियो, त्यही पानीको भरमा हिलो बनाएर धान रोपेका थिए । ‘आज १५ दिनजति भयो, हिलो बनाएर रोपाइँ गरेको । त्यसपछि एक थोपा पानी पनि धानका बोटले पाएका छैनन् । पानी नपाएर खेत चिरा चिरा पर्न थालिसक्यो, अब त खेतै बाँझो हुने भयो,’ साह चिन्तित सुनिए ।
_TpLkvrrtAy.jpg)
उनीजस्तै पीडामा पिल्सिएकी छिन् बाराको बधवन गाउँकी किसान रामरती । उनको बोलीमा निराशा र भविष्यको अनिश्चितता थियो । ‘यसपालि त खेत बाँझो नै हुने भयो, अब मागेर खानुपर्ने दिन आयोजस्तो छ,’ उनी भन्छिन् ।
रामरतीले आफ्नो जीवनकालमा बधवनमा यस्तो कहालीलाग्दो सङ्कट कहिल्यै देखेकी थिइनन् । ‘यहाँ पैनी (नहर) वा कुलोबाट पानी आएको त मैले आजसम्म थाहा पाएकी छैन । हाम्रो भर भनेकै आकाशको पानी थियो । हरेक वर्ष यतिवेलासम्म आकाशको पानीले रोपाइँ भइसक्थ्यो,’ रामरतीले विगत सम्झिइन्, ‘तर यसपालि आकाशबाट एक थोपा पानी परेन, त्यही भएर गाउँका सबैले आ–आफ्नो खेतमा बोरिङ गरे ।’
सबैले एकैपटक जमिनमुनिको पानी तान्न थालेपछि भूमिगत जलको स्रोतमाथि ठुलो दबाब पर्यो । परिणामतः केही समयमै बोरिङहरू पनि सुक्न थाले । ‘रोपाइँ त जेनतेन गरियो, तर धानका बोट फस्टाउन सकेका छैनन् । बोरिङविना यहाँ पिउनलाई समेत पानी छैन, खेतमा लगाउने त परको कुरा भयो । सबैले बोरिङबाट पानी तानेपछि अहिले बोरिङमा पनि पानी सुक्यो । अब खेत फाटेको छ, पानीको कुनै उपाय छैन,’ उनी पनि चिन्तित हुँदै आफ्नो कथा सुनाउँछिन् ।
सरकारले सिँचाइको व्यवस्था गरिदेला भन्ने कुरामा उनलाई रत्तिभर विश्वास छैन । ‘सरकारले एउटा राम्रो बोरिङको मात्रै व्यवस्था गरिदिए पनि कति राहत हुन्थ्यो होला । सिँचाइका लागि नहरबाट पानी पठाउने कुरा त मैले सपनामा पनि देखेकी छैन,’ रामरतीले सरकारप्रति अविश्वास पोखिन् ।
_ZakTTpEbIL.jpg)
बाराकै महागढीमाई नगरपालिकाका किसान प्रह्लाद महतोको पीडा अझै गहिरो छ । उनी किसानले ‘रगतको आँसु’ पिउन बाध्य भएको बताउँछन् । ‘हामीलाई कति पीडा छ भन्ने कुरा शब्दमा वर्णन गर्न सकिँदैन । अहिले हामीले रगतको आँसु पिउनु परिरहेको छ,’ खेतको आलीमा थ्याच्च बस्दै उनले भने ।
उनको जीवनचक्र नै खेतीपातीमा अडिएको छ । साहु–महाजनबाट दुई बिघा खेत ठेक्कामा लिएर उनले चैते धान र बर्खे धान लगाउँदै आएका छन् । बर्खे धान काटेपछि तोरी लगाउँछन् र त्यसपछि फेरि चैते धान रोप्न लागिपर्छन् । तर यसपालि उनको बर्खे धान समयमै रोपाइँ हुन सकेन । जुन खेतमा रोपाइँ भयो, त्यो पनि पानी नपाएर चिरा चिरा परेको छ । ‘मेरो कमाइ खाने भाँडो नै यही खेती हो । अब के गर्ने, के खाने ? किसान किन आत्महत्या गर्छन् ? अब हामी कसरी बाँच्ने ?’ महतो दुःखी हुँदै प्रश्न गर्छन् । आफ्नो जीवनमा पहिलोचोटि आकाश र जमिन दुवैबाट एकैपटक पानी नआएको देखेका महतोलाई अब एउटै चिन्ता छ— परिवारको जीवन कसरी चलाउने ?
यो पीडा बारामा मात्रै सीमित छैन । वीरगञ्ज महानगरपालिका–२४ बस्ने लालबाबु साहले पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर ३ मा व्यावसायिक खेती गर्दै आएका छन् । ठुलो लगानीमा खेतीपाती गर्दै आएका उनले यो पटक निकै ठुलो आर्थिक क्षति हुने देखिसकेका छन् ।
‘न सरकारले बनाएको सिँचाइको व्यवस्था छ, न त आकाशबाट पानी पर्छ । खेतमा लगाएको पम्पसेटले पानी तान्दा पनि आउँदैन । यस्तै हो भने किसानहरू त यसपालि भोकै मर्छन्,’ साह भावुक हुँदै भन्छन्, ‘सरकार धान खेतमा धानका बोटहरू धमाधम मरिरहेको टुलुटुलु हेरेर बसेको छ । खै कहाँ छ सरकार ? जनतालाई आपत् पर्दा साथ दिने सरकार होइन र ? सरकार भएको भए त यतिवेला देखिनुपर्ने होइन र ?’ किसानहरूको समस्या एसी कोठामा बसेर थाहा नहुने भन्दै उनले आक्रोश पोखे ।
_PjFknN7K8i.jpg)
रौतहटको अवस्था पनि फरक छैन । देवाही गोनाही नगरपालिकाका विनोद ठाकुर लोहार चारैतिर पानीको समस्याले खेती लगाउनै नसक्ने अवस्था आएको बताउँछन् ।
‘एकातिर आकाशबाट पानी पर्दैन, अर्कोतिर जमिनबाट पानी निकालौँ भने पनि बिजुली वेलावेलामा काटिदिन्छ । अब यताका किसानहरू सुकुमबासी हुने अवस्था आइसक्यो,’ उनले गुनासो गरे, ‘जमिनबाट पानी दिँदा पनि रातभरि मोटर चलाउँदा एक कट्ठा खेतलाई पुग्ने पानी आउँदैन । त्यसमाथि बिजुली आए पनि बोरिङमा पानी निकै कमी भइसक्यो । अरू सिँचाइको कुनै विकल्प छैन, अनि कसरी धान फल्छ ?’
_W5EKrsV21i.jpg)
बाराकै किसान हरिकिसन साहको चिन्ता खेतीमा मात्रै सीमित छैन, उनी पिउने पानीको संकटबारे पनि बताउँछन् । ‘यहाँ पहिलो समस्या के छ भने गाउँघरमा जुन चापाकल छ, त्यसमा पानी नै आउन छोडिसक्यो । पानीकै लागि यहाँ मानिसहरू त्राहित्राहि भइरहेका छन् । कहीँबाट पानी आएको छैन । पहिले चापाकलमा मोटर लगाएर पानी तान्थे, त्यो पनि बन्द भइसक्यो,’ साह भन्छन् । ‘असार–साउनमा त जस्तोसुकै खडेरीमा पनि पानी पर्थ्यो, तर यो पटक त पानी साफै परेन । धानको बिउ खेतमै जलिसक्यो, खेतै बन्जर भयो । मानिसलाई पिउने पानीको लागि आपत् पर्ने भयो, खेतमा पठाउने त कुरै छाडौँ,’ साहले पनि उस्तै गुनासो गरे ।
रौतहटको माधवनारायण नगरपालिकाकी ६५ वर्षीया रामअन्जनी ठाकुरले सरकारले सिँचाइका लागि आजसम्म कुनै दिगो व्यवस्था नगरेकोमा आक्रोश पोखिन् ।
_wRtDcufV8u.jpg)
‘सरकारले यहाँ पैनी हाल्नुपर्यो नि ! चापाकल र पम्पसेटबाट पानी आउन छोडिसक्यो । अब आकाशबाट पनि पानी पर्दैन । अनि के हामी भोकै मर्नु ?’ उनले आक्रोशित हुँदै प्रश्न गरिन्, ‘खै, भगवान् पनि छैनन् कि के हो ? नचाहिने ठाउँमा बाढी आउँछ, चाहिने ठाउँमा एक थोपा पानी आउँदैन । यसपालि ज्यान धान्न पाए मात्रै पुग्छ, आकाशबाट त्यति पानी मात्रै झरिदिए पनि हुन्थ्यो ।’
उनलाई थाहा भएदेखि अहिलेसम्म यस्तो ठुलो खडेरी कहिल्यै परेको थिएन । ‘असार, साउनमा पानी नपर्ने त कहिल्यै थिएन । कम पानी पर्दा पनि पम्पसेटबाट तानेर खेतमा पुग्थ्यो, तर यो त भगवानको लीला नै हो ! अब हाम्रो ठाउँलाई नर्क बनाइदिने भए,’ गहभरि आँसु बनाउँदै उनले भनिन् । उनको ९ जनाको परिवार छ र अब के खाने भन्ने चिन्ताले उनलाई रातदिन सताएको छ । ‘घरमा गएर बालबच्चाको अगाडि के भन्ने ?’ दुःखी हुँदै उनले प्रश्न गरिन् ।
रौतहटका कटहरियाका स्थानीय सञ्चारकर्मी रन्धिर गुप्ता अहिले रौतहटमा किसानहरू त्रासमा बाँचिरहेको बताउँछन् । ‘हामी यहाँका किसानहरूको पीडा र आवाज बारम्बार स्थानीय सञ्चारमाध्यममा प्रसारण गरिरहेका छौँ । यहाँका केही स्थानीय सरकारहरूले मोटर, पम्पसेट बाँडिरहेका छन्, तर त्यो केवल तत्कालको राहतजस्तो हो, किनकि जमिनबाटै पर्याप्त पानी आइरहेको छैन,’ उनी भन्छन् ।
_EFXaioYKkS.jpg)
गुप्ताका अनुसार आकाश र जमिनको भरमा मात्रै यहाँको अधिकांश रोपाइँ हुने गरेको छ । ‘यहाँको मुख्य उत्पादन र आर्थिक मेरुदण्ड नै धान हो । अब यही धान नफलेपछि यहाँका धेरै किसानहरू आफ्नो परिवार पाल्न भारत गएर मजदुरी गर्न बाध्य हुन्छन् । उनीहरूले उतै कमाएर यतै चामल किनेर खानुपर्ने अवस्था आउँछ । त्यसले गर्दा यहाँको जीवनस्तर नै खस्कने ठुलो खतरा छ,’ उनी थप्छन् ।
किसानहरूको यो पीडा र छटपटीलाई सरकारी तथ्याङ्कले पनि पुष्टि गरेको छ । आइतबारसम्म मधेस प्रदेशमा धान रोपाइँ ५० प्रतिशत पनि नकटेको कृषि विभागले जनाएको छ । मधेस प्रदेशमा कुल रोपाइँ हुने ३ लाख ७२ हजार हेक्टर क्षेत्रफलमध्ये अहिलेसम्म करिब १ लाख ७८ हजार हेक्टरमा मात्रै रोपाइँ भएको छ, जुन कुल क्षेत्रफलको करिब ४८ प्रतिशत मात्र हो ।
यसले अन्नको भण्डार भनेर चिनिने मधेस प्रदेशमा धान उत्पादनको भयावह अवस्थालाई संकेत गर्दछ ।
बारा जिल्लाकी सांसद तथा पूर्वकृषिमन्त्री ज्वाला साहले रोपाइँ पर्याप्त हुन नसक्नुमा सिँचाइ अभाव नै प्रमुख कारण रहेको बताउँछिन् । ‘आकाश र जमिन दुवैले एकैपटक किसानलाई धोका दिँदा रोपाइँ हुन सकेन । मधेसका किसानहरू चरम पीडामा छन् । यो राष्ट्रिय सङ्कट हो र अब सरकारले यसमा गम्भीर भएर तत्काल निर्णय गरी अगाडि बढ्नुपर्छ,’ उनले भनिन् ।
प्रतिक्रिया