बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘डीप बोरिङ तत्कालको राहत मात्र हो, यो दिगो समाधान होइन’

सोमबार, १२ साउन २०८२, १० : ५९
सोमबार, १२ साउन २०८२

सारांश

  • मधेस प्रदेशमा पानीको सङ्कट गम्भीर बन्दै गएको छ, जसले गर्दा किसानहरू चिन्तित छन् र नदीनाला सुक्दैछन्।
  • मन्त्री शेषनारायण यादवका अनुसार, यस सङ्कटको मुख्य कारण 'वाटर रिचार्ज' को अभाव हो, र दीर्घकालीन समाधानका लागि योजनाहरू बनाइँदैछ।
  • सरकारले तत्कालका लागि डीप बोरिङलाई प्राथमिकता दिएको छ भने दीर्घकालीन समाधानका लागि नदी प्रणाली पुनर्जीवित गर्ने योजना छ।

काठमाडौँ । देशको ’अन्नको भण्डार’ मधेस प्रदेश अहिले पानीको सङ्कटबाट गुज्रिरहेको छ । धान रोप्ने मुख्य समयमा वर्षा नहुँदा किसान आकाश हेरेर टोलाउन बाध्य छन् भने नदीनालाहरू सुक्दै गएका छन् । अर्कोतर्फ, जमिनमुनिको पानीको सतह पनि तीव्र गतिमा घट्दा खानेपानीको हाहाकारसँगै भइरहेको छ । 

यही सङ्कटको कारण, असर र समाधानका लागि मधेस प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादवसँग गरिएको कुराकानी :

  • मधेस प्रदेशमा देखिएको सिँचाइ सङ्कट कत्तिको गम्भीर हो ? यसलाई कसरी हेर्नुभएको छ ?

यो सङ्कट अत्यन्तै गम्भीर र दिनप्रतिदिन विकराल बन्दै गइरहेको छ । हाम्रा नदीहरूको सतह बालुवा र गिट्टीले पुरिएर हरेक वर्ष २ देखि ३ फिटसम्म उठिरहेको छ । अहिले नदी र खेतीयोग्य जमिनको सतह लगभग बराबर भइसकेको छ । अब सामान्य बाढी आउँदा पनि किसानको खेत बालुवाले पुर्ने निश्चित छ । यो केवल सिँचाइको मात्र नभई कृषि र जीविकोपार्जनकै सङ्कट हो ।

यो सङ्कट निम्तिनुका पछाडि मुख्य कारणहरू के–के हुन् ? यहाँले ’वाटर रिचार्ज’ नभएको कुरा पनि उठाउनुभयो ।

यसको जड नै ‘वाटर रिचार्ज’ को अभाव हो । चुरे क्षेत्रबाट बग्ने नदीहरूमा पानी अडिँदैन । बर्सातको पानी सीधै बगेर खेर जान्छ, जसले जमिनमुनि पानी रिचार्ज हुन पाउँदैन । पहिले हाम्रो सिँचाइ नदीको सतहको पानीमा आधारित थियो, तर अब नदीहरू सुकेपछि सबैको निर्भरता भूमिगत पानीमा सरेको छ । अत्यधिक दोहनले अब जमिनले पनि पानी दिन छोड्दैछ ।

हाम्रो दीर्घकालीन योजना स्पष्ट छ । पहिलो, पुरिएका नदीहरूको उत्खनन गरी पानी बग्ने बाटो खोल्ने । दोस्रो, नदीहरूमा पानीको टिकाउनको लागि हेडवक्र्सजस्ता संरचना बनाएर भूमिगत जल भण्डारलाई रिचार्ज गर्ने ।
  • विगतमा नदीमा आधारित सिँचाइ प्रणालीबाट अहिले पूर्ण रूपमा भूमिगत पानीमा निर्भर हुनुपर्दा कस्ता चुनौतीहरू थपिएका छन् ?

चुनौती चौतर्फी छ । नदीहरूमा पानी नभएपछि सिँचाइका पुराना संरचना (कुलो, पैनी) काम नलाग्ने भएका छन् । सबै किसान डीप बोरिङमा निर्भर हुन थालेका छन् । यसले भूमिगत पानीको स्रोतमाथि दबाब परेको छ । खानेपानीका लागि गाडिएका ह्यान्डपाइपहरू सुक्न थालेका छन् । यो दिगो समाधान होइन, यो एउटा सङ्कट टार्न अर्को सङ्कट निम्त्याउनु जस्तै हो ।

  • यो सङ्कट समाधानका लागि प्रदेश सरकारको दीर्घकालीन योजना के छ ?

हाम्रो दीर्घकालीन योजना स्पष्ट छ । पहिलो, पुरिएका नदीहरूको उत्खनन गरी पानी बग्ने बाटो खोल्ने । दोस्रो, नदीहरूमा पानीको टिकाउनको लागि हेडवक्र्सजस्ता संरचना बनाएर भूमिगत जल भण्डारलाई रिचार्ज गर्ने । यसका साथै, हामीले सुनकोशी र कोशीजस्ता ठुला नदीको पानीलाई डाइभर्सन गरेर मधेसका सुक्खा नदीहरूमा ल्याउने योजनालाई पनि अघि बढाउनुपर्छ ।

  • तत्कालका लागि, विशेषगरी यो धान रोप्ने सिजनमा किसानलाई राहत दिन सरकारले के गरिरहेको छ ?

तत्कालको समाधानका लागि हामीसँग डीप बोरिङबाहेक अर्को विकल्प छैन । खानेपानीको चरम अभाव भएका क्षेत्रहरूमा हामीले प्रदेश सरकारमार्फत समर्सिबल बोरिङ जडान सुरु गरिसकेका छौं । सिँचाइका लागि पनि डीप बोरिङ निर्माणलाई प्राथमिकता दिएका छौँ । सङ्घीय सरकारले पनि यसमा सहयोग गर्ने घोषणा गर्नुभएको छ । तर, म फेरि भन्छु, यो केवल तत्कालको राहत मात्र हो ।

जब नदीमा पानी नै छैन भने किसानलाई डीप बोरिङ नगर भन्न सकिने अवस्था छैन । तर, यो अनियन्त्रित हुँदा भू–जलको सङ्कट झनै बढेको छ ।
  • मधेसमा सञ्चालित बागमती र कमला सिँचाइ आयोजनाहरूको अहिलेको अवस्था कस्तो छ ? यिनीहरूले सङ्कट टार्न कति मद्दत गरेका छन् ?

बागमती सिँचाइ आयोजनाले रौतहट र सर्लाहीमा करिब ३८,००० हेक्टरमा सिँचाइ गरिरहेको छ, तर यसको लाभ धनुषा र महोत्तरीले पाएका छैनन् । उता, कमला सिँचाइ आयोजनाबाट धनुषा र सिराहामा सिँचाइ त हुन्छ, तर यसको धेरैजसो पानी भारततर्फ जाने भएकाले हामीले पूर्ण लाभ लिन सकेका छैनौँ । यी आयोजनाहरू भए पनि सङ्कट ज्युँका त्युँ छ ।

  • डीप बोरिङ जडान गर्न सस्तो र छिटो हुने भएकाले किसान र समुदायको आकर्षण बढेको देखिन्छ । यसलाई नियन्त्रण गर्ने वा व्यवस्थित गर्ने कुनै योजना छ ?

जब नदीमा पानी नै छैन भने किसानलाई डीप बोरिङ नगर भन्न सकिने अवस्था छैन । तर, यो अनियन्त्रित हुँदा भू–जलको सङ्कट झनै बढेको छ । हाम्रो योजना भनेको डीप बोरिङलाई व्यवस्थित गर्दै दीर्घकालीन रूपमा नदी प्रणालीलाई नै पुनर्जीवित गर्ने हो । जब नदीमा पानी उपलब्ध हुन्छ, डीप बोरिङमाथिको निर्भरता स्वतः घट्छ ।

  • सरकारको बजेट र प्राथमिकता हेर्दा, खानेपानी र सिँचाइमध्ये कुनचाहिँमा बढी केन्द्रित हुनुहुन्छ ?

अहिले मधेसमा खानेपानीको हाहाकार छ, त्यसैले हाम्रो पहिलो र तत्कालको प्राथमिकता खानेपानी नै हो । नागरिकलाई पिउने पानी उपलब्ध गराएपछि मात्र सिँचाइको कुरा आउँछ । तर, हामीले दुवैलाई सँगसँगै अघि बढाउने योजना बनाएका छौँ, किनकि सिँचाइविना खाद्य सुरक्षा सम्भव छैन । 

  • प्रदेशमा अन्य साना सिँचाइ आयोजनाहरू पनि थिए, तिनीहरूको अवस्था के छ र तिनलाई पुनर्जीवित गर्न के गरिँदैछ ?

धेरै साना आयोजनाहरू मर्मतसम्भारको अभावमा बन्द अवस्थामा थिए । हामीले त्यस्ता आयोजनाहरूको पहिचान गरी मर्मत गरेर पुनः सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छौँ । बन्द रहेका कुलो, पैनी र नहरहरूलाई मर्मत गरी सञ्चालनमा ल्याउन सके पनि सिँचाइमा केही राहत मिल्नेछ ।

  • अन्त्यमा, मधेसलाई सिँचाइ सङ्कटबाट मुक्त गर्न सबैभन्दा आवश्यक र तत्काल थाल्नुपर्ने एक मात्र काम के हो ?

तत्कालको लागि डीप बोरिङ र दीर्घकालीन समाधानका लागि नदी प्रणालीको पुनरुत्थान । तर, यदि एउटै कुरा भन्नुपर्दा, त्यो हो– ‘वाटर रिचार्ज’ । जबसम्म हामी बर्सातको पानीलाई जमिनमुनि पठाउने र नदीमा अड्याउने व्यवस्था गर्दैनौँ, मधेसको पानी सङ्कट कहिल्यै समाधान हुँदैन । हाम्रो सम्पूर्ण ध्यान अब यही विषयमा केन्द्रित हुनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप