पाँच दिने भीषण भिडन्तपछि थाइल्याण्ड र कम्बोडिया युद्धविराम गर्न सहमत
काठमाडौँ । पाँच दिनसम्म चलेको थाइल्याण्ड र कम्बोडियाबिचको सीमा सङ्घर्षपछि दुवै देशले ‘तत्काल र बिना सर्त युद्धविराम’ मा सहमति जनाएका छन् ।
सङ्घर्षले कम्तीमा ३३ जनाको ज्यान लिएको र दसौँ हजार मानिसहरू विस्थापित गराएको पृष्ठभूमिमा मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले क्वालालम्पुरमा आयोजित विशेष शान्ति वार्तापछि युद्धविरामको घोषणा गर्दै भने, ‘यो तनाव न्यूनीकरण र शान्ति स्थापनाको दिशामा महत्वपूर्ण पहिलो पाइला हो ।’
अनवरसँगै थाइल्याण्डका कार्यबाहक प्रधानमन्त्री फुमथाम वेचायाचाई र कम्बोडियाका प्रधानमन्त्री हुन मानेट पनि सहभागी थिए ।
थाइल्याण्डले आरम्भमा मलेसियाको मध्यस्थताको प्रस्ताव अस्वीकार गरेको थियो। तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘लडाइँ रोकेपछि मात्र व्यापार सहमति अघि बढ्नेछ’ भन्ने चेतावनी दिएपछि थाइल्याण्ड वार्तामा तयार भएको बताइएको छ ।
थाइल्याण्ड र कम्बोडियाबिचको शताब्दी पुरानो सीमा विवाद पछिल्ला महिनामा फेरि चर्किएको थियो । मे महिनामा एक जना कम्बोडियन सैनिकको मृत्यु भएपछि तनाव तीव्र भएको थियो ।
त्यसपछि थाइल्याण्डले आफ्नो भूमिबाट कम्बोडिया जान प्रतिबन्ध लगाएको थियो भने कम्बोडियाले थाई उत्पादन—जस्तै फलफूल, विद्युत् तथा इन्टरनेट सेवामा रोक लगाएको थियो ।
गत साता एकजना थाई सैनिक भूमिगत सुरुङ बममा परेर गम्भीर घाइते भएपछि विवाद अझ उग्र भएको थियो। थाइल्याण्डले कम्बोडियन राजदूतलाई निष्कासन गर्दै आफ्ना कूटनीतिज्ञहरूलाई फिर्ता बोलाएको थियो ।
बिहीबार बिहानैदेखि दुवै देशबिच गोली हानाहान सुरु भएको थियो । दुवै राष्ट्रले एकअर्कालाई सङ्घर्ष सुरु गराएको आरोप लगाउँदै आएका थिए ।
थाई सेनाका अनुसार, थाइल्याण्डतर्फ धेरैजसो घाइते तथा मृतक सर्वसाधारण हुन् । कम्बोडियाले आफ्नोतर्फ कम्तीमा १३ जनाको मृत्यु भएको जनाएको छ, जसमा ८ जना सर्वसाधारण थिए ।
शान्ति वार्ताको क्रममा पनि सीमा क्षेत्रमा गोलाबारी र रकेट आक्रमण भइरहेको बताइएको थियो। यद्यपि, दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) का सदस्य राष्ट्रहरूले युद्धविरामको निगरानीमा सघाउने प्रतिबद्धता जनाएका छन्। वार्तामा दुवै देशका सेनालाई सीमाबाट पछि हटाउने, तटस्थ निरीक्षण संयन्त्र स्वीकार गर्ने विषयमा समेत छलफल भएको छ ।
कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले वार्तालाई ‘धेरै सकारात्मक’ भन्दै यो वार्ताले तत्काल लडाइँ रोकिने आशा व्यक्त गरेका छन्। थाई सेनाको तुलनामा आफ्नो पक्ष कमजोर भएको स्वीकार्दै कम्बोडिया पछिल्ला दिनहरूमा युद्धविरामको माग गर्दै आएको थियो ।
थाई कार्यबाहक प्रधानमन्त्री फुमथाम वेचायाचाईले छोटो मन्तव्यमा युद्धविरामलाई सम्मान गर्ने वाचा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण