शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
कोशी प्रदेश

कांग्रेसमा किचलो : बागमतीमा विस्फोट, कोशीमा उकुसमुकुस !

दलको नेता फेर्नेमा बहुमत, विकल्पमा असहमत
मङ्गलबार, १३ साउन २०८२, १२ : ०१
मङ्गलबार, १३ साउन २०८२

सारांश

  • कांग्रेस बागमती संसदीय दलमा विवाद बढेपछि मुख्यमन्त्रीको पद धरापमा परेको छ।
  • कोशी प्रदेशमा पनि कांग्रेस दलका नेता परिवर्तन गर्नुपर्ने आवाज उठेको छ, तर निर्णय हुन सकेको छैन।
  • दलका नेता थापाको कार्यशैली र कमजोर कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै सांसदहरूले असहमति जनाएका छन्।

विराटनगर । नेपाली कांग्रेस बागमती संसदीय दलमा देखिएको विवादले त्यहाँका मुख्यमन्त्री बहादुरसिंह लामाको पद धरापमा परेको छ । कांग्रेस दलको बहुमत (२१) सदस्य सांसदले लामाको विपक्षमा अविश्वासको प्रस्ताव दर्ता गरेसँगै उनको पद धरापमा परेको हो । एक हिसाबले भन्ने हो भने कांग्रेसभित्रको त्यहाँको विवाद ‘विस्फोट’ भएको छ । 

बाग्मतीको झैँ कुनै पनि वेला कोशी प्रदेशको अवस्था हुन सक्ने देखिएको छ । 

संसदीय दलका नेता उद्धव थापालाई परिवर्तन गर्नुपर्ने पक्षमा कोशी प्रदेश कांग्रेसका बहुमत सांसद देखिन्छन् । तर, उनलाई परिवर्तन गरेर कसलाई दलको नेता बनाउने भन्ने टुङ्गो नहुँदा यो उकुसमुकुस विस्फोट हुनबाट जोगिएको छ । 

कोशीको कांग्रेसभित्र उकुसमुकुस छ भन्ने विषयलाई केही घटनाहरूले पुष्टि पनि गर्छ । त्यसका अलावा सांसदहरूले पनि व्यक्तिगत हिसाबले दलको नेता परिवर्तन हुनुपर्ने बताइरहेका छन् । 

गत जेठ १३ गते विराटनगरमा आयोजित एक कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य अमृत अर्यालले कन्ट्रोभर्सी र प्रतिबद्ध नभएको जमातमा बस्दा आफूलाई हीनताबोध भएको बताएका थिए । उनले कांग्रेस कोशी प्रदेश सभापतिमा आफूले उद्धव थापालाई जिताउनु र संसदीय दलको नेता बन्नबाट रोक्न नसक्दा ‘रिगरेट’ भएको बताएका थिए । 

पूर्वमुख्यमन्त्री तथा संसदीय दलका नेता थापाको कार्यशैली र कमजोर कार्यसम्पादनलाई लिएर दलको बैठकमै पनि तीव्र असन्तुष्टि व्यक्त हुने गरेको छ ।

‘मैले गुरु घिमिरेलाई हराएर उद्धवजीलाई प्रदेश सभापतिमा जिताउने काम गरेँ । त्यो मेरो राजनीतिक भूल थियो,’ अर्यालले भनेका थिए । उनले प्रदेश सांसदको रूपमा अढाइ वर्ष अवधि पार गर्दा उकुसमुकुस भएको पनि बताएका थिए । उनले कोशी प्रदेश सरकारमा र प्रदेशसभामा कांग्रेसले ‘डिमोरलाइज’ भएर काम गर्नुपरिरहेको पनि बताए । अर्यालले भने, ‘त्यो काम गर्ने शैली पनि छैन । कुराकानी सेयर पनि भएको छैन ।’

अर्यालले त्यसो भनेको झण्डै १० दिनपछि गत जेठ २३ गते डा. शेखर कोइराला पक्षीय गुटभेला विराटनगरमै बसेको थियो । कांग्रेस केन्द्रीय सदस्य, प्रदेश सभा सदस्य तथा जिल्ला सभापतिहरू सहित बसेको भेलामा कोइरालापक्षीय नेता गुरुराज घिमिरे, प्रतिनिधि सभा सदस्य सरिता प्रसाईँ, कांग्रेस केन्द्रीय सदस्य राजीव कोइराला, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की, आन्तरिक मामिला मन्त्री शम्शेर राईलगायत सहभागी थिए । भेलामा पार्टीबाट मन्त्री भएकाहरूले पनि आ–आफ्नालाई मात्र दिने गरेको भन्दै आलोचना भएको थियो ।

त्यसपछि कांग्रेसमा दलको नेता परिवर्तन गर्ने भनेर एकपक्षीय र बहुपक्षीय भेला तथा बैठकहरू भइरहेका छन् । त्यसको पुष्टि गर्दै कांग्रेसका एक सांसद भन्छन्, ‘नेतृत्व (दल नेता)मा सहमति हुनेबित्तिकै यहाँ पनि खेल सुरु हुन्छ ।’ 

पूर्वमुख्यमन्त्री तथा संसदीय दलका नेता थापाको कार्यशैली र कमजोर कार्यसम्पादनलाई लिएर दलको बैठकमै पनि तीव्र असन्तुष्टि व्यक्त हुने गरेको छ । कोशी प्रदेश सरकारको नेतृत्व गरिरहेका हिक्मत कार्की आफ्नै मन्त्रिपरिषद्का सदस्यहरूलाई समेत ‘कमान्ड कन्ट्रोल’ गर्न सक्ने अवस्थामा छैनन् । 

कांग्रेसबाट मन्त्री बनेका खगेनसिंह हाङ्गाम र मुख्यमन्त्री कार्कीबिच बोलचाल नै बन्दजस्तो छ । त्यसलाई मिलाउन कांग्रेस संसदीय दलका नेता थापाले कुनै भूमिका निर्वाह गर्न सकेका छैनन् । उता, पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डललाई क्यूआर कोड पठाएर घुस मागेको आरोप लागेको छ । भौतिक पूर्वाधार मन्त्री भुपेन्द्र राईलाई आफ्नै जिल्लामा बढी बजेट लगेको भन्दै कांग्रेसकै सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन् । यो विषयमा दलका नेता थापाले दलको बैठक बसाएर उपर्युक्त निर्णय गर्न सकेका छैनन् । 

नाम उल्लेख नगर्ने सर्तमा कांग्रेसका एक सांसदले भने, ‘दल नेता उद्धव थापा पार्टीबाट सरकारमा पठाएका मन्त्रीलाई कमान्ड कन्ट्रोल गर्न सकिरहेका छैनन् । दिशा–पिसाब आयो भने पनि काठमाडौँ जाने अवस्था छ । डिसिजन पावर छैन ।’

कोशीमा कांग्रेसका २९ जना सांसद छन् । दलको नेता परिवर्तनका लागि बहुमत संख्या पुगेको भए पनि दलको नेता बन्ने दौडमा अमृत अर्याल, केदार कार्की, हिमाल कार्की र प्रदीपकुमार सुनुवार रहेका छन् । 

पार्टीभित्रबाट आफूलाई हटाउने प्रयास भइरहेको आशङ्कामा पूर्वमुख्यमन्त्री थापा बारम्बार काठमाडौँ धाउने गरेका ती नेताको दाबी छ । ‘दलको नेताचाहिँ काठमाडौँमा ‘मलाई फेर्न लाग्यो, मलाई फेर्न लाग्यो’ भनेर कहिले एक्लै, कहिले कृष्णप्रसाद सिटौलालाई लिएर गइराखेको अवस्था छ,’ उनले भने । थापाको नेतृत्व क्षमतामाथि प्रश्न उठाउँदै अर्का एक नेताले थपे, ‘मुख्यमन्त्री र दल नेताको जोडीचाहिँ मिलेको छ । बुद्धि, विवेक केही छैन ।’ 

कांग्रेसभित्रको असन्तुष्टि केवल दल नेतासँग मात्रै छैन । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको कार्यशैलीमा पनि छ । यद्यपि मुख्यमन्त्रीलाई कांग्रेसको तर्फबाट देखाउनुपर्ने क्षमता थापाले देखाउन नसकेको ती नेता बताउँछन् । 

कांग्रेस संसदीय दलकै संरचनासमेत अपूर्ण छ । दलमा प्रमुख सचेतक र उपनेताबाहेक दलको सचिव, कोषाध्यक्ष र सदस्यहरू समेत नियुक्ति गरिएको छैन, जसले गर्दा दल विधानसम्मत चल्न नसकेको कांग्रेसकै सांसद बताउँछन् । ‘विधान अनुसार दल चलेकै छैन,’ ती नेताले भने । प्रदेश सरकारले ल्याएको बजेटसमेत लोककल्याणकारी, समावेशी र समानुपातिक नभएको भन्दै आलोचना भइरहेको छ । कोशीका मन्त्रीहरूले गरेको एकलौटी बजेट विनियोजनको विषयमा कांग्रेसको केही दिन अगाडि सम्पन्न केन्द्रीय समितिको बैठकमा पनि कुरा उठेको थियो । उक्त विषयको छानविनको लागि केन्द्रबाट टोली आउने जनाइएको छ ।

कोशीमा कांग्रेसका २९ जना सांसद छन् । दलको नेता परिवर्तनका लागि बहुमत संख्या पुगेको भए पनि दलको नेता बन्ने दौडमा अमृत अर्याल, केदार कार्की, हिमाल कार्की र प्रदीपकुमार सुनुवार रहेका छन् । 

‘यहाँ मन्त्री बनेकाहरू थमौतीका लागि काठमाडौँ धाइरहेका छन् । मन्त्री नहुनेहरू भएकालाई छिटो निकाल्नुपर्छ भनिरहेका छन् । यस्तो त भइरहन्छ नि,’ उनले भने ।

अर्याललाई गुट बदलेर आएको भन्दै तत्कालै विश्वास गर्न नसकिने कोइराला पक्षका केही सांसद बताउँछन् । यस्तै पूर्वमुख्यमन्त्री समेत भएका केदार कार्कीले आफ्नै सांसद इन्ट्याक्ट राख्न नसकेको र हिमाल कार्कीमा गोलबद्ध हुने सम्भावना नरहेको बताइन्छ । 

उता, ओखलढुङ्गाबाट निर्वाचित प्रदीपकुमार सुनुवारलाई कोइराला गुटमा ल्याएर दलको नेता बनाउने चर्चा छ । उनी पार्टी सभापति शेरबहादुर देउवानिकट व्यक्ति हुन् । सुनुवारले केही दिन अगाडि पार्टी सभापति देउवासँग भेट गरेको चर्चा सुनिए पनि अहिले नै कोइराला गुटमा आउने सम्भावना नरहेको स्रोतको दाबी छ । निकटस्थहरूसँगको कुराकानीमा भने सुनुवार पनि हालका दल नेता थापाप्रति असन्तुष्ट सुनिने गरेको बताइन्छ । 

यसैबिच पार्टी सभापति शेरबहादुर देउवाले नेता कृष्णप्रसाद सिटौलालाई चिढ्याउन नचाहेकाले पनि कोशीमा तत्काल कुनै कदम चाल्न उनी हच्किएको बताइन्छ । एक नेताले भने, ‘शेरबहादुरले सिटौलालाई चिढ्याउन चाहँदैनन् ।’

सिटौलालाई सन्तुलनमा राख्न अपनाइने रणनीतिबारे टिप्पणी गर्दै उनले भने, ‘भातमा झिँगा आउन नदिन औसानी त हाल्नु पर्‍यो नि ।’

दलका नेता थापाको कमजोर प्रदर्शन, संसदीय दलभित्रको अव्यवस्था र बागमती घटनापछि बदलिएको परिस्थितिको प्रत्यक्ष असर कोशी कांग्रेसभित्र पनि परिरहेको छ । जसले लामो समयदेखि देखिएको उकुसमुकुसले जुनसुकै वेला नयाँ मोड लिन सक्ने सांसदहरू नै सङ्केत गर्छन् ।

दल नेता थापा भने कांग्रेसमा यस खालको हल्लाखल्ला भइरहने बताउँछन् । प्रदेशसभा सचिवालयमा केही दिन अगाडिको कुराकानीका क्रममा उनले तत्काल कोशी प्रदेशमा कुनै फेरबदल नहुने बताए । 

‘यहाँ मन्त्री बनेकाहरू थमौतीका लागि काठमाडौँ धाइरहेका छन् । मन्त्री नहुनेहरू भएकालाई छिटो निकाल्नुपर्छ भनिरहेका छन् । यस्तो त भइरहन्छ नि,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप