शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

उपचाररत जीवित बालिकालाई प्रहरीले नै मृतक बनाएपछि...

मङ्गलबार, १३ साउन २०८२, २१ : ४९
मङ्गलबार, १३ साउन २०८२

सारांश

  • कोशी प्रदेश प्रहरीले चार वर्षीया बालिकाको मृत्यु भएको भन्दै गलत जानकारी फेसबुक र वेबसाइटमा सार्वजनिक गर्यो।
  • बालिका खोलामा डुबेर घाइते भएपछि नोबेल अस्पतालमा उपचार भइरहेको छ, तर प्रहरीले मृत्यु भएको घोषणा गरेको थियो।
  • प्रहरीको गलत जानकारीका कारण विराटनगरका सञ्चारमाध्यममा भ्रम फैलिएको थियो, र अस्पतालमा तोडफोडको प्रयास पनि भयो।

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले एक जीवित बालिकालाई मृत्यु भएको भनेर घोषणा गरिदिएको छ ।

हाल नोबेल अस्पतालको एनआईसीयूको भेन्टिलेटरमा उपचाररत विराटनगर महानगरपालिका-६ घर भएकी चार वर्षीया आरुषी पासवानको मृत्यु भएको भनेर प्रदेश प्रहरी कार्यालयले आफ्नो आधिकारिक फेसबुक पेज र वेबसाइटमा गलत जानकारी सार्वजनिक गरेको हो । 

police-notice

आरुषी पासवान घर नजिकको खोलामा खेल्ने क्रममा डुबेर घाइते भएकी थिइन् । तर कोशी प्रदेश प्रहरी कार्यालयले सोमबार दिउँसो ११ बजेर ५३ मिनेटमा आफ्नो फेसबुक पेज र आधिकारिक वेबसाइटमा उनको मृत्यु भएको गलत जानकारी प्रकाशन गरेको छ । 

प्रदेश प्रहरीको आधिकारिक फेसबुक पेजमा उल्लेख गरिएको विवरणअनुसार–विराटनगर–६ धुधुवा खोलामा खेल्ने क्रममा डुबेर ४ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दीपक पासवानको ४ वर्षीया छोरी आरुषी पासवान रहेकी छिन् । साउन ११ गते अपराह्न ४ बजे घर नजिकै रहेको धुधुवा खोलामा खेल्ने क्रममा पानीमा डुबिरहेको अवस्थामा आफन्तले फेला पारी उपचारको लागि गोल्डेन अस्पताल लगिएकोमा डाक्टरले जाँच गर्दा मृत घोषणा गरेको हो ।’

प्रदेश प्रहरीले नै जीवित बालिकालाई मृत्यु भनिदिएपछि विराटनगरका केही अनलाइन सञ्चारमाध्यमले यसकै आधारमा समाचार लेखे । ‘गोल्डेन अस्पतालमा ल्याएको बालिकाको मृत्यु’ शीर्षकमा समाचार आएपछि यसले भ्रम फैलाएको हो । 

बालिकाका काका गणेश पासवानले भतिजीको उपचार नोबेल अस्पतालको एनआईसीयूमा भइरहेको पुष्टि गरेका छन् । ‘मंगलबार बिहान एक पटक भेन्टिलेटरमा भतिजीलाई हेर्न गएको थिएँ । त्यसवेला एक पटक आँखा पनि खोलिन् र हात पनि चलाइन्,’ उनले भनेका छन्, ‘बोलेको चाहिँ छैन । तर थप उपचार भइरहेको छ ।’ 

आरुषीलाई उनका आफन्तले गोल्डेन अस्पतालबाट सोमबार बिहान साढे १० बजे थप उपचारका लागि नोबेल अस्पताल ल्याएका थिए । यसअघि आफन्तले आइतबार दिउँसो बालिकालाई गोल्डेन अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि ल्याएका थिए । 

‘गोल्डेनमा ल्याउँदा बालिकाको स्वास्थ्य अवस्था गम्भीर भएपछि चिकित्सकको टोलीले ३० मिनेटसम्म निरन्तर सीपीआर (हृदय पुनर्संचालन प्रक्रिया) गरी बिरामीलाई पुनर्जीवन दिन सफल भयो र तत्काल सघन उपचार कक्षमै राखेर अस्पतालका बालरोग विशेषज्ञ डा. सन्तोष यादवले बिरामीको उपचार गर्दै आउनुभएको थियो ,’ गोल्डेनका सञ्चालक सनातन मण्डलले भने, ‘आइतबार दिउँसो १ बजेर २५ मिनेटमा डाक्टर सन्तोष यादवले बिरामीको अवस्था जानकारी गराएपछि बिरामीको आफन्तको मञ्जुरीमा बिरामी लैजाने निर्णय गर्नुभयो ।’ 

जीवित बालिकाको मृत्यु भएको खबर आउँदा आफूहरू पनि छक्क परेको गोल्डेन अस्पतालका सञ्चालक मण्डलले बताए । ‘यसरी भ्रामक, तथ्यहीन, नियोजित र अस्पतालको प्रतिष्ठामाथि ठुलो आघात पुर्‍याउने र अस्पताललाई बदनाम गर्ने उद्देश्यले लेखिएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ मण्डलले भने । 

अस्पतालमाथि तोडफोड प्रयास

बालिकाको मृत्यु भएको अफवाहका कारण गोल्डेन अस्पतालमाथि तोडफोडको प्रयाससमेत भएपछि प्रशासनले मंगलबार पत्रकार सम्मेलन गरी अस्पतालको सघन उपचार कक्षमै भएको आक्रमणविरुद्ध मोरङ प्रहरीमा उजुरी दिएको र कारबाहीको प्रक्रिया अगाडि बढेकको जनाएको छ । 

अस्पताल प्रशासन प्रमुख मोहम्मद ज्याउद्दिन हकका अनुसार चिकित्सकले बालिकाको अवस्था आफन्तलाई बुझाएपछि उनीहरूको मञ्जुरीमा बिरामी लैजाने निर्णय गरेका थिए । ‘यसरी अस्पतालका चिकित्सकले बिरामीको सत्यतथ्य अवस्थाबारे बुझाउँदै गर्दा एकाएक ५० देखि ६० जनाको भिड आएर अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीहरूमाथि अभद्र व्यवहार गरेका थिए । सघन उपचार कक्षमै हुलदंगा गरी ढोका फोड्ने प्रयाससमेत भएको र स्वास्थ्यकर्मीहरूलाई हातपात गर्ने प्रयास गर्दै अश्लील शब्दहरू प्रयोग गरेका थिए,’ उनले भने । 

घटनापछि अस्पतालले हतारमा प्रहरी बोलाएर स्थिति सामान्य पारेको थियो । प्रहरीको रोहबरमा आइतबार राती गोल्डेनमा उपचार गराइ भोलिपल्ट बिरामीलाई जीवित अवस्थामै आफन्तको मञ्जुरीका साथ लैजाने व्यवस्था मिलाइएको थियो ।

गोल्डेन अस्पताल प्रशासनले अस्पतालमा हुलदंगा गरेर तोडफोडको प्रयास गर्नेहरूविरुद्ध कानुनी कारबाहीमा जाने भएको छ । अस्पताल प्रशासनले  पत्रकार सम्मेलन गरी यस्ता गतिविधि गर्नेहरूविरुद्ध कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप