शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
ठगी

सुन पसलको नाममा ठगी : करोडौँ उठाएर फरार

बुधबार, १४ साउन २०८२, १२ : ००
बुधबार, १४ साउन २०८२

सारांश

  • मोरङको कानेपोखरीका मनोज अधिकारीले सुन पसलको आवरणमा १२ करोड ठगी गरी फरार भएका छन्।
  • अधिकारीले उच्च ब्याजको प्रलोभन देखाएर २४१ भन्दा बढी व्यक्तिबाट रकम उठाएका थिए।
  • पीडितहरूले न्यायका लागि हारगुहार गरे पनि कानुनी प्रमाणको अभाव र ऋण असुली प्रक्रियामा विवाद देखिएको छ।

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकास्थित रमाइलो बजारमा सुन पसल चलाएर बसेका मनोज अधिकारी करोडौँ ठगी गरेर फरार भएका छन् । उनले २४१ भन्दा बढी सर्वसाधारणको करिब १२ करोड रुपैयाँ ठगी गरेको स्थानीयले बताएका छन् ।

‘अधिकारी सुन पसल’ का सञ्चालक मनोज अधिकारी स्थानीय एमाले नेता हुन् । सुन पसलमा पैसा जम्मा गरे उच्च ब्याज दिने प्रलोभनमा पारी उनले सर्वसाधारणबाट यति ठुलो रकम लिएका थिए । उनको पसलमा पैसा जम्मा गर्नेहरू वैदेशिक रोजगारीमा रहेकादेखि दैनिक ज्यालादारी गर्ने सर्वसाधारणसम्म छन् ।

रकम लिएर सम्पर्कविहीन भएपछि पीडितहरू बिचल्लीमा परेका छन् । अधिकारी कानेपोखरी अस्पतालको सञ्चालक समिति सदस्यसमेत हुन् । अधिकारीका बुबा होमनाथ अधिकारी र दाइ अमेरिकामा छन् । उनकी आमा र श्रीमती भने रमाइलोस्थित घरमै रहेको कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारीले बताए ।

यो ठगी प्रकरणले धेरैको जीवन तहसनहस बनाएको छ । पीडित विष्णुमाया गिरी त रकम नपाएसम्म यहीँ बस्ने भन्दै कानेपोखरी–६ मा रहेको अधिकारीको घरमै धर्ना दिन पुगेकी छन् । उनले रुँदै भनिन्, ‘मैले अरूको ३० लाख रुपैयाँ जम्मा गरिदिएकी थिएँ । पाँच–सात दिन भयो, मैले भात खाएकै छैन । यही घरमा धर्ना बस्न बाध्य भएकी छु ।’

गिरी एकल महिला हुन् । साथमा एक छोरा छन् । सुन पसले अधिकारीले राम्रो ब्याज दिन्छु भन्दै सर्वसाधारणबाट बचत कलेक्सनका लागि उनलाई काम लगाएका थिए ।

अर्का पीडित पर्शुराम फुयाँलले आफ्नो ९ लाख २० हजार रुपैयाँ फसेको बताए । पीडितहरूले न्यायका लागि स्थानीय पालिका, प्रहरी र जिल्ला प्रशासन कार्यालयसम्म गुहार मागे पनि औपचारिक निवेदन भने नदिएको बताए ।

व्यक्तिगत सुन पसलमा बचत गर्नु गैरकानुनी भएकाले र अधिकांश कारोबारको औपचारिक प्रमाण (पासबुक) नभएकाले कानुनी प्रक्रिया अघि बढाउन कठिनाइ भएको पीडित बताउँछन् ।

२०८१ साल वैशाखमै बुबा होमनाथ अमेरिका गएको र मनोज पनि अहिले वेपत्ता बनेको फुयाँलले बताए । उनका अनुसार १२ करोड जति ठगी भएको अनुमान गरिएको छ । तर, मनोजको जायजेथाको मूल्य ५–६ करोडमात्रै रहेको उनले बताए ।

पीडक फरार भएपछि पीडितहरूले आफ्नो रकम फिर्ता गराउन स्थानीय नवीन पौडेलको नेतृत्वमा ‘ऋण असुली समिति’ गठन गरेका थिए । तर, यही समिति र यसका अगुवा नवीन पौडेलमाथि पनि शङ्का उत्पन्न भएको पीडित बताउँछन् । पीडितहरूको रकम फिर्ता गराउने नाममा पौडेलले अधिकारीको सम्पत्तिबाट व्यक्तिगत लाभ लिन खोजेको र प्रक्रिया पारदर्शी नबनाएको आरोप उनीहरूको छ ।

समितिले अधिकारीको नाममा रहेको करिब एक बिघा जग्गा बिक्री गरेर पीडितहरूलाई पैसा फिर्ता गर्ने प्रयास गरिरहेको पौडेलको भनाइ छ । तर, जग्गाको कित्ताकाट र अंशबन्डा प्रक्रिया सहज बनाउन उक्त जग्गा हाललाई काशीराज थापा (देवेन्द्र थापाका बुवा) को नाममा पास गरिएको पौडेलले बताए ।

तर, जग्गा आफ्नो नजिकका व्यक्तिको नाममा ल्याएर पौडेलले प्लटिङ गरेर महँगोमा बेच्न खोजेको पीडित गिरीले बताइन् । ‘समितिका मान्छेले हामीलाई कहिल्यै भेला गर्दैनन् । जग्गा महँगोमा बेचेर हामीलाई थोरै पैसा दिन खोजिरहेका छन्,’ उनले भनिन् ।

पौडेलले भने आफूले निःस्वार्थ रूपमा सहयोगमात्र गरेको र राजनीतिक पूर्वाग्रहका कारण आफूलाई बद्नाम गर्न खोजिएको दाबी गरे । ‘ऋणीहरूको सम्पत्ति सुरक्षित गर्न र त्यसलाई बिक्री गरी वितरण गर्न कानुनी प्रक्रिया मिलाउनमात्रै जग्गा अर्को व्यक्तिको नाममा सारिएको हो । मैले व्यक्तिगत लाभ लिएको छैन,’ उनले भने ।

उनका अनुसार अधिकारीको कुल ऋण कति हो भन्ने विषयमा अझै पूर्ण विवरण बनेको छैन । यद्यपि ठगी गरेर फरार भएका अधिकारीले आफ्ना कतिपय व्यक्तिगत सम्पत्ति पनि विभिन्न संस्थामा राखेर डेढ करोडभन्दा बढी ऋण लिएको अनुमान रहेको पौडेलको भनाइ छ ।

यति ठुलो आर्थिक अपराध हुँदा पनि स्थानीय सरकार भने अनभिज्ञ जस्तै देखिएको छ । कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारीले घटनाबारे आफूलाई पूर्ण जानकारी नभएको बताए । उनले भने, ‘पीडितहरूले निवेदन दिएका थिए । हामीले न्यायिक समितिमा छलफल पनि गरायौँ । तर पछि उहाँहरू आफैँले समिति बनाएर अघि बढ्नुभयो । अहिले के भइरहेको छ, विस्तृतमा थाहा छैन ।’

मुख्य व्यक्ति फरार हुनु, पीडितहरूसँग बलियो कानुनी प्रमाण नहुनु र ऋण असुलीको प्रक्रिया नै विवादमा तानिनुले यो प्रकरण झनै जटिल बन्ने देखिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप