भत्ता खाने जनता खोज्दै सहर छिर्यो बारपाक सुलिकोट गाउँपालिका
सारांश
- गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता लिने लाभग्राही खोज्न सहर छिर्ने भएको छ।
- बसाइँसराइले समस्या भएपछि पालिकाले चितवन र काठमाडौँमा घुम्ती शिविर सञ्चालन गर्ने भएको छ।
- बायोमेट्रिक अनिवार्य भएकाले सेवाग्राही उपस्थित हुनुपर्ने र करिब ६ हजार नागरिकले भत्ता लिने गरेका छन्।
पोखरा । सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीको नाम गाउँपालिकामा छ, जनता चाहिँ सहरमा । बसाइसराइले हैरान भएपछि गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले लाभग्राही खोज्दै सहर छिर्ने भएको छ ।
हरेक वर्ष भत्ताका लागि लाभग्राही सूची नवीकरण गर्नुपर्ने बाध्यकारी व्यवस्था छ । तर नागरिकहरू पालिकासम्म नआएपछि पालिका नै लाभग्राही खोज्न विभिन्न सहर जाने निधोमा पुगेको हो ।
गाउँपालिकाले सूचना जारी गर्दै पालिकामा दर्ता भई चितवन र काठमाडौँमा बसोबास गरिरहेका लाभग्राहीको सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरणका लागि घुम्ती शिविर सञ्चालन गर्न लागेको जनाएको छ । यसबाट पालिकाको बसाइसराइलाई प्रस्ट पार्छ । सरकारी सुविधा लिन पनि गाउँमा नवीकरणका लागी नजाँदा पालिकालाई अतिरिक्त स्रोत खर्च गर्नुपर्ने बाध्यता बनेको छ ।
प्रमुख प्रशासकीय अधिकृत सुवाश आले नागरिकको सहजताका लागि यस्तो निर्णय गरिएको बताउँछन् । ‘सेवा लिन नागरिकहरू आफै आउनुपर्ने हो । तर धेरै असक्त, ज्येष्ठ नागरिक छन्,’ उनले भने, ‘धेरै संख्यामा चितवन र काठमाडौँमा छन् । सेवाग्राहीलाई सहज होस् भन्ने हेतुले गरिएको हो ।’ अघिल्लो वर्षसम्म जनप्रतिनिधिको जिम्माका आधारमा लाभग्राही सूची नवीकरण गर्ने गरिएको तर अहिले बायोमेट्रिक अनिवार्य भएका कारण सेवाग्राही उपस्थित हुनैपर्ने उनले बताए ।
‘यो वर्षदेखि बायोमेट्रिक गर्नुपर्छ । व्यक्ति नै उपस्थित हुनुपर्छ, कतिपय अस्पतालमा उपचार गराइरहेका छन् । झन् बिरामी बढ्न सक्छन् भन्ने लागेर गर्न लागिएको हो,’ अघि भने, ‘हामीले पालिकाभित्र पनि वडा र टोलमा यसैगरी गर्ने गरिएको छ । भत्ता वितरण पनि टोलटोलमै गएर वितरण गरिएको छ ।’ बारपाकका करिब ६ हजार नागरिकले सामाजिक सुरक्षा भत्ता लिने गरेका छन् । तीमध्ये आधाभन्दा बढी पालिकाबाहिर रहेको आलेले जानकारी दिए ।
३ हजार मात्रै गाउँमा छन् । बाँकी ५ सय गोरखा बजारमा, १ हजार जति चितवन र १५ सय जति काठमाडौँमा बसोबास गर्ने उनले सुनाए । पालिकाबाट बसाइसराइ पनि बर्सेनि बढ्दो क्रममा रहेको पालिकाले जनाएको छ । सूचना अनुसार भदौ २६ र २७ गते चितवनमा तथा २९,३० र ३१ गते काठमाडौँमा लाभग्राही नवीकरण हुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण