कांग्रेस सभापति देउवालाई भेट्न मुख्यमन्त्री लामा काठमाडौँ आउँदै
सारांश
- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न काठमाडौँ आउँदै छन्।
- बुधबार संसदीय दलको नेताको निर्वाचनमा इन्द्र बानियासँग पराजित भएपछि लामा देउवालाई भेट्न लागेका हुन्।
- निर्वाचनमा बानियाँले २२ र लामाले १४ मत प्राप्त गरेका थिए, जसमा एक मत बदर भएको थियो।
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न हेटौँडाबाट काठमाडौँ आउन लागेका छन् । बुधबार भएको संसदीय दलको नेताको निर्वाचनमा इन्द्र बानियाँसँग पराजित भएपछि सभापति देउवालाई भेट्न लामा बिहीबार काठमाडौँ आउन लागेका हुन् ।
दलको नेताका लागि भएको निर्वाचनमा बानियाँले २२ मत ल्याउँदा लामाले १४ मतमात्रै ल्याएका थिए । प्रदेशमा कांग्रेसका ३७ सांसद भएकोमा एक मत बदर भएको थियो ।
आफु काठमाडौँ आउन लागेका लामाले जानकारी दिए । ‘म सभापतिज्यूलाई संसदीय दलको नेताका लागि भएको निर्वाचन र अन्य गतिविधिबारे जानकारी गराउन आज काठमाडौँ आउँदैछु,’ लामाले रातोपाटीसँग भने ।
सभापति देउवाले बोलाएर आउन लाग्नुभएको हो भन्ने प्रश्नमा लामाले भने, ‘उहाँले बोलाउनु भएको छैन । म जानकारी गराउन आउन लागेको हुँ ।’
नुवाकोटबाट प्रदेशसभा सदस्यमा निर्वाचित लामा कांग्रेस केन्द्रीय सदस्य हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बोलाएको कांग्रेस एमाले बैठकमा पनि बागमती प्रदेश सरकारबारे कुरा उठेको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण