बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दोहोरो आइजिनको व्यवस्था खारेजीको माग गर्दै इप्पानद्वारा अर्थमन्त्रीसहित ४ निकायको ध्यानाकर्षण

शुक्रबार, १६ साउन २०८२, १३ : ५०
शुक्रबार, १६ साउन २०८२

सारांश

  • इप्पानले सेयर अभौतिकीकरणमा दोहोरो आइजिन नम्बर राख्ने व्यवस्था हटाउन माग गर्दै चार निकायको ध्यानाकर्षण गराएको छ।
  • सीडीएससीको प्रस्तावले लगानीकर्तामा अन्योल बढ्ने र पुँजी बजारमा नकारात्मक असर पर्ने इप्पानको भनाइ छ।
  • इप्पानका अनुसार, दोहोरो आइजिनले ऊर्जा क्षेत्र, निजी क्षेत्रको लगानी, र वैदेशिक लगानीमा समेत असर गर्नेछ।

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,नेपाल (इप्पान) ले कम्पनीको शेयर अभौतिकीकरणमा दोहोरो आइजिन नम्बर राख्ने व्यवस्था हटाउनका लागि ४ वटा निकायको ध्यानाकर्षण गराएको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले कम्पनीहरूको सेयर सूचीकरण गर्दा सर्वसाधारण र प्रवर्द्धकलाई छुट्टाछुट्टै International Securities Identification Number (ISIN) आइजिन कायम गर्ने भन्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा प्रस्ताव लगेपछि इप्पानले अर्थमन्त्री, संसद्को अर्थसमिति, सेबोन र सीडीएससीको ध्यानाकर्षण गराएको हो ।

सीडीएससीको उक्त प्रस्तावले संस्थापक लगानीकर्ता, निजी क्षेत्र, वैदेशिक लगानीकर्ता, सेयरमा लगानी गर्ने आम सर्वसाधारणमा थप अन्यौलता बढी निराशा पैदा हुने अवस्था सिर्जना भएको भन्दै यो प्रस्ताव कार्यान्वयन भएमा नेपालको पुँजी बजारमा लागू भइरहेको प्रचलित कानुन, अन्तर्राष्ट्रिय मान्यता र स्थापित अभ्यास विपरीतको कार्य भई नेपालको पुँजी बजारमा दीर्घंकालिन प्रभाव पर्नुका साथै नेपालप्रति अन्तर्राष्ट्रिय जगतको दृष्टिकोणमा समेत नकारात्मक प्रभाव पार्ने इप्पानको भनाई छ ।

यस्तो व्यवस्थाले नेपाली निजी क्षेत्र तथा गैरआवासीय नेपाली समुदायको लगानीका साथै प्रत्यक्ष वैदेशिक लगानीमा समेत असर पर्नुका साथै स्वदेशी पुँजी सङ्कलन, गैरआवासीय नेपालीहरूमार्फत आउने लगानी र विदेशी लगानी व्यवस्थापनमा समेत ठुलो कठिनाइ हुने पनि इप्पानले ध्यानाकर्षण गराएको छ । 

यसले नेपालमा निजी क्षेत्रले विभिन्न उद्योग व्यवसायमा गरेको लगानीमा विश्वास गुम्नुका साथै वैदेशिक लगानीकर्ताहरूमा समेत नेपालको लगानी वातावरणप्रति गम्भीर आशङ्का उत्पन्न भएको इप्पानको भनाई छ । 

सीडीएससीको यो प्रस्तावले नेपालको एउटा कानुनलाई हेरेर लगानी गरेको विदेशी लगानीकर्ताले आफ्नो सेयर बेचेर लगानी फिर्ता लिन नै नसक्ने अवस्था बन्ने र यसले सरकारको वैदेशिक लगानी प्रवर्द्धन नीति, पूँजीबजारको सुदृढीकरण र समग्र आर्थिक सुधार लक्ष्यप्रति नै नकारात्मक प्रभाव पार्ने इप्पानका अध्यक्ष गणेश कार्कीले बताए ।

उनले अगाडि भने– ‘अहिले संस्थापक र सर्वसाधारणको सेयर एउटै आइजिनमा हुँदा शेयर बजार चलायमान भइरहेको छ तर छुट्टाछुट्टै आइजिन राख्दा पुँजी बजारको कारोबारमा नै सङ्कुचन आई यसले सरकारको आम्दानीमा समेत ठुलो गिरावट आउनेछ ।’

सीडीएससीले अघि सारेको दोहोरो आइजिनको ठुलो असर ऊर्जा क्षेत्रका कम्पनीहरूमा हुने पनि इप्पानको भनाई छ । इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले ऊर्जामार्फत देशलाई समृद्ध बनाउने अभियानमा हातेमालो गर्दै ऊर्जा उत्पादनमा होमिएका हजारौँ कम्पनीका लाखौँ लगानीकर्ताहरू यसबाट प्रत्यक्ष रूपमा प्रभावित हुने बताए । उनले आगामी दिनमा निर्माण हुने आयोजनाहरूमा लगानी नै नहुने जोखिम बढेको र सरकारले अघि सारेको २८ हजार ५०० मेगावाट उत्पादन पुर्‍याउने ऊर्जा विकास मार्गचित्र नै असफल हुने पनि बताए ।

इप्पानका महासचिव बलराम खतिवडाले दोहोरो आइजिनले ऊर्जा क्षेत्र मात्र नभई, निजी क्षेत्रको लगानी रहेका पर्यटन, स्वास्थ्य, पूर्वाधार लगायतका उत्पादनमूलक उद्योगमा पनि पुँजी सङ्कलन हुन नसक्ने बताए ।

यो व्यवस्थाले आईपीओ जारी गरी सेयर अभौतिकरण प्रक्रियामा रहेका कम्पनीहरू, आईपीओ जारी गरी लकिङ अवधि सकिन लागेका कम्पनीहरू र आईपीओको पाइप लाइनमा रहेका कम्पनीहरूसमेत नराम्ररी प्रभावित भई यसले समग्र पुँजी बजारलाई दीर्घकालसम्म नकारात्मक प्रभाव पार्दै नेपालको अर्थतन्त्रमा पनि ठुलो असर पर्ने इप्पानको भनाई छ ।  

सीडीएससीको यस्तो निर्णयले लकिङ अवधिमै रहेका विभिन्न ५८ उद्योगको ८७ अर्ब रुपैयाँ बराबरको र ऊर्जा कम्पनीको मात्र ४७ कम्पनीको ५३ अर्ब रुपैयाँ बराबरको र आईपीओको पाइप लाइनमा रहेका ४३ कम्पनीको ४१ अर्ब रुपैयाँ बराबरको पुँजी बन्धक हुने भई पुँजी बजारमा ठुलो प्रभाव पार्ने इप्पानले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप