शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

एमाले मोरङ बैठकमा विद्या भण्डारीको चर्चा

पूर्वाग्रहविना नेता–कार्यकर्ताको व्यवस्थापन गर्न माथिल्लो कमिटीलाई आग्रह गर्ने
शुक्रबार, १६ साउन २०८२, १९ : १२
शुक्रबार, १६ साउन २०८२

सारांश

  • नेकपा एमाले मोरङ जिल्ला समितिले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यतामा पुनर्विचार गर्नुपर्ने निर्णय गरेको छ।
  • बैठकले पार्टी निर्माणमा योगदान गर्ने नेताहरूको सम्मानजनक व्यवस्थापन गर्न माथिल्लो कमिटीलाई आग्रह गरेको छ।
  • एमाले मोरङको निर्णयले विद्या भण्डारीलाई रोक्न नहुने सन्देश दिएको छ, जसले केन्द्रीय कमिटीको निर्णयलाई पुनर्विचार गर्न दबाब दिन्छ।

विराटनगर । नेकपा एमाले मोरङ जिल्ला समितिको बैठकले ‘अग्रणी नेता’को योगदानविना ‘मिसन-०८४’ असम्भव भन्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यतामा पुनर्विचार गर्नुपर्ने आशयसहितको निर्णय गरेको छ । 
मोरङको विराटचोकमा बिहीबार (साउन १५ गते) पार्टीका प्रदेश इन्चार्ज शेरधन राई, अध्यक्ष घनश्याम खतिवडा, केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरेको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

राजनीतिक महत्वका प्रस्तावको पहिलो नम्बरमै गरिएको निर्णयमा पार्टी निर्माणमा अग्रणी योगदान गरेका नेताहरूको सम्मानजनक व्यवस्थापन गर्न माथिल्लो कमिटीलाई आग्रह गरिएको छ । 

‘नेकपा (एमाले) नेतृत्वको नेपाली कम्युनिस्ट आन्दोलन निर्माणमा अग्रणी योगदान गर्नुहुने नेता कार्यकर्ताको सहभागिताविना मिसन ०८४ हासिल गर्न सकिँदैन र पार्टीलाई राष्ट्रिय राजनीतिमा दह्रिलो शक्ति बनाउन सकिँदैन भन्ने निष्कर्षका साथ सबैको सहअस्तित्वको सम्मानसहित विना कुनै आग्रह, पूर्वाग्रह नेता कार्यकर्ताको व्यवस्थापन गर्न माथिल्लो कमिटीसमक्ष बैठक माग गर्दछ,’ सो बुँदामा भनिएको छ । 

बैठकमा सहभागी एमालेका एक नेताका अनुसार यो निर्णय गर्नु भनेको विद्या भण्डारीलाई नरोक भनेको हो । ‘यो निर्णयको आशय भनेकै विद्या भण्डारीलाई रोक्नुहुँदैन भनेको हो,’ उनले भने, ‘मोरङले यति सन्देश त दिनैपर्‍यो नि ।’

UML Morang Meeting1

एमालेको केन्द्रीय कमिटीले भने हालै पूर्वराष्ट्रपति तथा पार्टीकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय लिएको थियो । मोरङको यो निर्णयले त्यसलाई पुनर्विचार गराउन रणनीतिक दबाब दिएको अर्थमा लिइएको छ । 

एमाले मोरङको जिल्ला कमिटीमा निर्वाचित सबै पदाधिकारी विद्या भण्डारी पक्षधर हुन् । केही महिना अगाडि सम्पन्न जिल्ला अधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओली र भण्डारी पक्षबीच गुटगत प्रतिस्पर्धा भएको थियो । 

पार्टी उपसचिव सन्तोष बान्तवाले राखेको यस्तो प्रस्तावसहित बैठकले अन्य निर्णय पनि गरेको छ । एमाले नेतृत्वको संघीय र प्रादेशिक सरकारको भूमिकाको समर्थन गर्ने, ‘मिसन ०८४’ को तयारीका लागि संगठन सुदृढीकरणमा लाग्ने तथा जनसरोकारका विषयमा सडक आन्दोलनसम्म गर्न तयार रहेको जनाएको छ । त्यसैगरी बैठकले किसान, युवा, बेरोजगारी र स्थानीय विकासका मुद्दाहरूमा पनि विभिन्न महत्वपूर्ण प्रस्ताव पारित गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप