कोदोको माग बढ्दै उत्पादन घट्दै
सारांश
- तनहुँका होमस्टेमा कोदोका परिकारको माग बढेपछि किसानलाई खेतीतर्फ प्रोत्साहन गर्नुपर्ने देखिएको छ।
- व्यास नगरपालिकाले कोदो दिवस मनाएर कोदो खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने र कोदोको ब्राण्डिङ गर्ने योजना बनाएको छ।
- कोदोमा पाइने प्रोटिन, आइरन र क्याल्सियमका कारण यसको माग बढ्दै गएको छ, र यसको उत्पादन बढाउन आवश्यक रहेको छ।
तनहुँ । यहाँको व्यास नगरपालिका(१४ केशवटारस्थित रुम्सी सामुदायिक घरबास (होमस्टे) का अध्यक्ष सरस्वती थापा मगर अहिले हरेक होमस्टेमा कोदोको परिकार पाइने बताउँछिन् ।
मगर भन्छिन्, “कोदोको परिकारबिना होमस्टे चल्न मुस्किल हुने अवस्था छ । कोदो स्वास्थ्यबर्द्धक छ ।” खेती गर्ने किसानको अभावले उत्पादन घट्दै गएको छ भने स्वास्थ्यका दृष्टिकोणले माग बढ्दै गएको उनी बताउँछिन् । पछिल्लो समय होटल, रेष्टुरेण्ट तथा घरवास ‘होमस्टे’ मा कोदोका परिकारको माग बढ्दै गएपछि खेतीतर्फ किसानलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ ।
उनी भन्छिन्, “गाउँमा जमिन बाँझो बस्ने क्रम बढेको छ । स्वास्थ्यबर्द्धक कोदो उत्पादनमा कसैको चासो पुगेको पाइँदैन । त्यसमाथि बाँदरले मकैसँगै कोदो पनि खाने हुँदा किसान मर्कामा परेका छन् ।” पहिले बाँदरले खाएर बाँकी रहेका मानिसले खानुपर्ने अवस्था रहेको थापा बताउँछिन् ।
“हामीले यति बहु गुणी कोदोका परिकारलाई उपयोग गर्न जानेनौँ । तर, अहिले कोदोको परिकारबिना होमस्टे चलाउन सकस पर्छ”, उनी भन्छिन्, “होमस्टे सञ्चालन गरेका ठाउँमा मात्रै उत्पादन भएका कोदोले अपुग हुन्छ । कतिपय समयमा बाहिरबाट खरिद गर्नुपर्ने अवस्था आउँछ । जसले गर्दा उत्पादन भएका ठाउँबाट ल्याउन सक्छौँ । उत्पादनलाई प्रोत्साहन गरौँ ।”
बजारीकरणको अभावले विगतमा कोदो खेती घटेको हो । यसको उपयोगिताका बारेमा प्रचारप्रसार गर्दै उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । कोदोको परिकारमा प्रोटिन, आइरन र क्याल्सियम बढी मात्रामा पाइन्छन् । स्वास्थ्यका लागि कोदो उपयोगी हुने भएकाले माग बढ्दै जाँदा उत्पादन पनि बढाउनुपर्ने केन्द्रको भनाइ छ । परम्परागत तथा स्वास्थ्यबर्द्धक बालीका रूपमा रहेको कोदोको माग बढ्दै जाँदा उत्पादन घट्दै गएको यहाँका होमस्टे सञ्चालक बताउँछन् ।
व्यास नगरपालिकाद्वारा प्रथम राष्ट्रिय कोदो दिवसको अवसरमा शुक्रबार दमौलीमा आयोजित कार्यक्रममा नगरप्रमुख बैकुण्ठ न्यौपानेले कोदो दिवसमार्फत कोदो खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतिकात्मक कार्यक्रम गरिएको बताए । स्वास्थ्यबर्द्धक कोदो खेतीलाई रैथाने खेती प्रवर्द्धन कार्यक्रममार्फत विस्तारका लागि किसानलाई प्रोत्साहन गरिने उनले उल्लेख गरे ।
नगरप्रमुख न्यौपानेले भने, “कोदो खेतीको प्रवर्द्धन गर्नेछौँ । यसको उपयोग गरेमा नसर्ने रोगबाट सुरक्षित हुन सकिन्छ ।” बाझिँदै गएको जमिनलाई उपयोग गर्ने वातावरणमा नगर जुट्ने जनाउँदै उनले कोदोको ‘ब्राण्डिङ’ गरी यसबाट बनेका वस्तुको उपयोगमा जोड दिने योजनाअनुसार का भइरहेको बताए ।
उपप्रमुख इन्दिरा दरैले कोदोको उपयोगिताको प्रचार गर्दै यसको खेतीलाई विस्तार गर्दै जाने बताइन् । उनले भनिन्, “नगरपालिकाका बाझिँदै गएका जमिनलाई उपयोगमा ल्याएर कोदो खेतीको पकेट क्षेत्रमा विकास गर्नेछौँ । गर्भवती, आमा–शिशुलाई आवश्यक पर्ने प्रोटिन, आइरन र क्याल्सियमको मात्रा कोदोको परिकारमार्फत पूर्ति गर्न सकिन्छ ।”
न्यून आयस्रोत भएका गर्भवतीलाई पोषण पूर्तिका लागि नगरपालिकाले पोषण भत्ता वितरण गर्दै आएको उनले जानकारी दिइन् । “पोषणयुक्त आहारको अभावमा बालबालिका कुपोषित जन्मन सक्छन् । यसका सीमित मात्रामा खान सुझावसहित पोषण भत्ताको व्यवस्था गरिएको हो”, उपप्रमुख दरैले भनिन् ।
बजार अभावले केही वर्ष पहिलेसम्म कोदो उत्पादन गर्न छाडेका किसान अहिले पुनः कोदो खेतीतर्फ जोडिन थालेका कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियारले जानकारी दिए ।
“पहिले–पहिले कोदोको ढिँडो, रोटी र खोले निकै कम मात्रै पाक्थ्यो । पछिल्लो समय घरवाससँगै सहर बजारका ठुला–ठुला होटलका भान्छामा पनि ढिँडो पाक्न थालेको छ । कोदोको माग बढ्दै जान थालेका छन् भने उत्पादन घट्ने क्रममा छ । उत्पादन वृद्धिको आवश्यकता अनुरुप कोदो खेती गर्नतर्फ किसानलाई आकर्षण गर्न थालेका छौँ”, उनले भने ।
केन्द्रले परम्परागत बाली उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत कोदो उत्पादन गर्ने किसानलाई अनुदानको व्यवस्था गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा छ हजार ५० हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएकामा नौ हजार ३१७ मेट्रिक टन उत्पादन भएको उनले जानकारी दिए । आर्थिक वर्ष २०८०/८१ मा छ हजार सात सय ३१ हेक्टर क्षेत्रफलमा सात हजार ७८० मेट्रिक टन कोदोजन्य खाद्यान्न उत्पादन भएको थियो ।
अन्य जिल्लाको तुलनामा क्षेत्रफल घटेको भए पनि उत्पादन बढ्दै गएको सूचना अधिकारी परियारले बताए । उनले भने, “गाउँ रित्तिँदै जाँदा खेतीयोग्य जमिन बाझिँदै गएका छन् । खेती नगरी उत्पादन बढाउन सकिँदैन । तसर्थ उत्पादन बढाउन किसानलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम गर्दै आएका छौँ । गाउँमा भन्दा बढी सहरका मानिसले अहिले चामलभन्दा कोदोको परिकार खान खोज्ने प्रचलन बढेको छ ।”
आव २०७९/८० मा छ हजार एक सय पाँच हेक्टर क्षेत्रफलमा सात हजार २१ मेट्रिक टन, आव २०७८/७९ मा छ हजार सात सय २९ हेक्टरमा सात हजार ७०० सय मेट्रिक टन र आव २०७७/७८ मा छ हजार ७२९ हेक्टर क्षेत्रफलमा छ हजार ७०० मेट्रिक टन कोदो उत्पादन भएको केन्द्रले जनाएको छ ।
आव २०७६/७७ मा छ हजार ६५६ हेक्टर क्षेत्रफलमा छ हजार ५७८ मेट्रिक टन तथा आव २०७५/७६ मा छ हजार ५५८ हेक्टर क्षेत्रफलमा पाँच हजार ९०५ मेट्रिक टन कोदो उत्पादन भएको थियो । परम्परागत जातको कोदोको माग बढेपछि केही किसान व्यावसायिक उत्पादनमा लागेका छन् । जिल्लाको सबै क्षेत्रमा कोदो उत्पादनका लागि उपयुक्त हावापानी रहेको केन्द्रले जनाएको छ । तीमध्ये ऋषिङ र घिरिङ गाउँपालिकामा बढी कोदो उत्पादन तथा खेती हुने गरेको केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।
कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका अनुसार जिल्लामा दूधे जातको चिनो, कात्तिके, ठुलो मुड्के, डुडे, सानो मुड्के, जाँते, छत्रे जातको कोदो, कागुनो (कैनो) लगायत कोदोजन्य पौष्टिक आहारयुक्त कोदो पाइन्छ । कोदोको ढिँडोसँगै, रोटी, सेलरोटी, खोलेलगायत परिकार रुचाउनेको सङ्ख्या बढेसँगै गाउँबाट कोदोको पीठो माग बढ्दै गएको केन्द्रले जनाएको छ ।
गर्भवती, मधुमेह र ग्याष्ट्रिक रोगवाट पीडितले कोदोको परिकार बढी मात्रामा खाने गरेका छन् । गर्भवती तथा शिशुको पौष्टिक आहारमा कोदोजन्य खाद्यन्नको अधिक उपयोग हुने गरेको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख अमर दवाडीले बताए । उनले भने, “नसर्ने रोगका बिरामीले कोदोजन्य खाद्य उपयोग गरेको अवस्थामा ६० प्रतिशतले मृत्युदर घट्छ ।”
अहिले ग्रामीण क्षेत्रमा उत्पादित कोदो स्थानीयले मदिरा बनाउन प्रयोग गर्दै आएका छन् । मदिरालाई ब्राण्डिङ गरी बजारमा ल्याउने क्रममा बढ्दै गएको छ । कोदो उत्पादनका लागि प्रोत्साहनमूलक कार्यक्रम थालेसँगै जिल्लामा खेतीको क्षेत्रफल बढ्ने गएको केन्द्रले जनाएको छ । गण्डकी प्रदेशमा बाग्लुङ सबैभन्दा बढी कोदोजन्य खाद्यान्न उत्पादन हुने जिल्ला हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण