बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

देउवाजी सत्ता गठबन्धनबाहेकका दलका नेतासँग भेट्नै हुँदैन जस्तो गर्नुहुन्छ : शेखर कोइराला

शनिबार, १७ साउन २०८२, १२ : ०९
शनिबार, १७ साउन २०८२

सारांश

  • नेता डा. शेखर कोइरालाले सभापति देउवालाई सबै दलका नेतालाई बोलाएर छलफल गर्न सुझाव दिए।
  • कोइरालाले युवालाई पार्टीमा जोड्न र कांग्रेसलाई बलियो बनाउनुपर्नेमा जोड दिए, नत्र लोकतन्त्र कमजोर हुने बताए।
  • उनले पार्टीको आन्तरिक प्रतिस्पर्धाका कारण चुनावमा कांग्रेस हारिरहेको र यसले पार्टीलाई नै घाटा भइरहेको बताए।

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई सबैको अभिभावक हुन सुझाव दिएका छन् । नेपाली कांग्रेस विराटनगर–४ नम्बर वडा समितिले आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले अरू पार्टीका नेतालाई घरमै बोलाएर चिया ख्वाउन र देशमा देखिएका समस्याबारे छलफल गर्न देउवालाई सुझाव दिए । 

‘शेरबहादुर देउवाजी जतिको सिनियर नेता अहिले राजनीतिमा कोही छैन । उहाँले त सबै दलका नेतालाई घरमै चिया बोलाएर देश विकासका बारेमा छलफल गर्दा राम्रो हुन्छ भन्ने मेरो सुझाव हो,’ उनले भने, ‘तर उहाँ सत्ता गठबन्धनबाहेकका दल नेतासित भेट्नै हुँदैन भन्ने जस्तो गर्नुहुन्छ । नेता भएपछि सबैसित भेट्नुपर्छ । सबैलाई भेट्ने मेरो आदत छ । त्यही भएर मैले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, प्रचण्डजीलगायतसित भेट गरेको हुँ । विगतमा ओलीजी सत्ताबाहिर हुँदा पनि मैले भेटेकै हुँ ।’ 

युवालाई पार्टीमा नजोडे कांग्रेस कमजोर हुने पनि उनले बताए । कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने उनको धारणा थियो । नेता कोइरालाले लोकतन्त्र बिना अब नेपाली जनता बाँच्न नसक्ने स्पष्ट पारे । लोकतन्त्रको स्थायित्वका लागि कांग्रेसप्रति युवाको आकर्षण बढाउनुपर्नेमा जोड दिए । 

उनले कांग्रेस कमजोर भएमा लोकतन्त्र र देश नै कमजोर हुने धारणा राखे । ‘लोकतन्त्रको पर्यावाची नै कांग्रेस हो । यदि कांग्रेस कमजोर भयो भने लोकतन्त्र मात्रै होइन देश नै कमजोर हुन्छ,’ प्रतिनिधिसभा सदस्यसमेत रहेका कोइरालाले भने, ‘कांग्रेसलाई बलियो बनाउन कांग्रेसलाई युवा माझ लिएर जानुपर्छ । कांग्रेसप्रति युवाको आकर्षण बढाउनुपर्छ । लोकतन्त्रको स्थायित्व र देशको विकासका लागि कांग्रेसको भूमिका बारे युवालाई बुझाउनु जरुरी छ ।’ 

पार्टीको आन्तरिक प्रतिस्पर्धाको इगोका कारण स्थानीय, प्रदेश र संघको चुनावमा कांग्रेसलाई हराउन कांग्रेस नै लाग्ने गरेको उनको धारणा थियो । कांग्रेसले कांग्रेसलाई भोट दिने हो भने कुनै पनि निर्वाचनमा कांग्रेसले नहार्ने कोइरालाले प्रस्ट्याए । 

‘म पार्टीको कामले धेरैजसो म जिल्लाहरुमै हुन्छु । जिल्ला पुग्दा जता पनि कांग्रेस मात्रै देख्छु,’ उनले थपे, ‘तर मलाई अचम्म लाग्छ, सङ्गठन र क्रियाशील सदस्यका हिसाबले बलियो भएको वडादेखि संसदीय निर्वाचन क्षेत्रमै कांग्रेस हारिरहेको हुन्छ । यो सबै कांग्रेसले कांग्रेसलाई भोट नदिएकै कारणले हो ।’ 

जीवन्त र लोकतान्त्रिक पार्टीमा आन्तरिक प्रतिस्पर्धा हुने बताउँदै नेता कोइरालाले तर एमाले र अन्य पार्टीहरुसितको प्रतिस्पर्धामा कांग्रेस एकढिक्का हुनुपर्नेमा जोड दिए । ‘पार्टीको चुनावमा त्यसले मलाई हराएको थियो, त्यसलाई यही बेला हो हराउने भनेर स्थानीय, प्रदेश र संघको निर्वाचनमा रिस फेर्ने प्रवृत्ति छ,’ कोइरालाले भने, ‘यसले कांग्रेसलाई नै घाटा भइरहेको छ । अहिले अरू पार्टीले जितेका स्थानीय, प्रदेश र संघमा कांग्रेस भएको भए त्यहाँ कांग्रेसलाई नै फाइदा हुन्थ्यो । समस्या लिएर जाँदा उसले कुरा सुन्थ्यो । अरू पार्टीले जितेको कतिपय ठाउँमा म आफूले नै ह्युमिसेसन महसुस गरेको छु ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप