५६ वटा कृतिका सर्जक इन्दिराको त्यो प्रण, पिताले मान्ने थापाजस्तै बन्ने
सारांश
- इन्दिरा प्रसाईंको लेखन र सम्पादनमा ५६ वटा कृति प्रकाशित छन्, जसमध्ये पहिलो कृति ३७ वर्षको उमेरमा प्रकाशित भयो।
- उहाँले जीवनमा धेरै संघर्ष गर्नुभयो, तर जीवनमा उपलब्धि हासिल भएकोमा खुसी व्यक्त गर्नुभयो।
- प्रसाईंको बाल्यकाल, लेखन यात्रा र जीवनका विभिन्न पक्षहरूलाई यो लेखमा समेटिएको छ।
काठमाडौँ । लेखन र सम्पादनका गरी इन्दिरा प्रसाईका आजसम्म ५६ वटा कृति प्रकाशित छन् । १६ वर्षको उमेर (२०३० साल) देखि लेख्न थालेकी इन्दिराको पहिलो कृति भने ३७ वर्षको उमेर (२०५१) मा प्रकाशित भएको हो । पत्रिका सम्पादन कार्य भने उनले २०४१ सालदेखि गरेकी हुन् । उनको सम्पादनमा ‘कथाक्रम त्रैमासिक’ २०४१ देखि २०४३ सम्म प्रकाशित भएको थियो । यस्तै उनको सम्पादनमा ‘प्रज्ञापत्र मासिक’ (२०५३–५५) र ‘भानुमोती वार्षिक’ (२०५६–२०६३) प्रकाशित भए ।
२०४७ सालदेखि प्राध्यापनमा लागेकी इन्दिराले २०७१ सालदेखि अवकाश लिइन् । ‘म ६८ वर्ष भएँ । गर्नलाई त जीवनमा धेरै संघर्ष गरियो तर जीवनमा उपलब्धिविहीन यात्रा गर्नुपरेन । मैले त सोचेको भन्दा निकै धैरै पाएँ । मैले जे जति पाएँ, ती सबै पाउँला भनेर कहिले कल्पनै गरेको थिइनँ,’ केही गम्भीर हुँदै उनले भनिन् ।
पृष्ठभूमि
इन्दिराको जन्म २०१४ सालमा दार्जिलिङमा भएको हो । उनका पिता (गणेशप्रसाद शर्मा) पढ्नका लागि विराटनगरदेखि त्यहाँ गएका थिए । पढ्न दार्जिलिङमा बस्दा गणेशप्रसादले श्रीमती (दुर्गादेवी नेपाल)लाई पनि सँगै लिएर गएका थिए । दुर्गादेवीले औपचारिक अध्ययन गरेकी थिइनन् । गणेशप्रसादले श्रीमतीलाई पढाउन चाहन्थे । किताबहरू ल्याएर उनले डेरामै श्रीमतीलाई पढाइराखेका थिए, श्रीमतीलाई प्राइभेट रूपमा एसएलसी पास गराउने उनको योजना थियो । यही बिचमा इन्दिराको जन्म कान्छी बहिनीको भयो र औपचारिक शिक्षा लिने दुर्गादेवीको सपना गर्भमै तुहियो, उनले पढाइ छाडिदिइन् ।
दार्जिलिङबाट गणेशप्रसाद कलकता गए, त्यतिबेला उनको साथमा पत्नी र जेठी छोरी इन्दिरा पनि थिए । कलकत्तामा रहँदा उनले जजमानी गर्दै पढेका थिए । ‘बुबाले जति त हामी कुनै पनि सन्तानले पढ्न सकेनौँ । उहाँले डबल एमए, एलएलबी र बीटी गर्नुभएको थियो,’ इन्दिरा भन्छिन् ।
केही वर्षपछि उनीहरू विराटनगर फर्किए । इन्दिराको बाल्यकाल विराटनगरमै बित्यो । दार्जिलिङमा, कलकत्तामा पढेको अनि त्यहाँको संस्कृति–समाज देखेको भएर होला छोरीहरूलाई पढाउनुपर्छ भन्ने सोच इन्दिराका पितामा थियो । नेपालमा छोरीलाई पढाउने खासै चलन थिएन र पढाउने खालको वातावरण पनि थिएन, छोरीलाई पढाउनकै लागि कलकत्तामा बस्ने मुडमा उनी पुगेका थिए ।
ठिक त्यही बेला विराटनगरमा महेन्द्र मोरङ कलेज खुल्ने तयारी हुँदै थियो । भनेको जस्तो शिक्षक पाइँदैनथे । बाहिरका शिक्षकलाई ल्याएर टिकाएर राख्नै मुस्किल हुन्थ्यो । यस्तोमा कलकता बसिरहेका इन्दिराका पितालाई घरपायक जागिरको अफर आयो । विराटनगरमा खासै राम्रो विद्यालय पनि नभएकाले छोराछोरीको पढाइ कस्तो हुने होला भन्ने सम्झेर उनले आउन खोजेका थिएनन् । माइतीभन्दा टाढा (कलकत्ता) बस्दा आफ्नी बहिनीले दुःख पो पाउँछे कि भन्ने सोचर इन्दिराका मामाले इन्दिराका बुवालाई फकाएर विराटनगर फर्काए ।
इन्दिराको जीवनमा देवकीदिदी (बाल साहित्यकार देवकुमारी थापा)ले निकै ठुलो प्रभाव पारेकी छन् । थापासँग इन्दिराका पिताले भाइटीका लगाउँथे । इन्दिरालाई संसारमा कसैसँग पनि डर लाग्दैनथ्यो तर पितासँग अचम्मैसित डराउँथिन् । सानैदेखि उनलाई पिताले ‘तह’मा राखेका थिए । कसैसँग पनि नझुक्ने पिता थापासँग भने निकै अदबका साथ बोल्ने गरेको एक दिन इन्दिराले देखिन् ।
विराटनगर फर्किएको ६ महिनामा जस्तोमा इन्दिरा त्यहीँको एउटा विद्यालयमा भर्ना भइन् । पढेलेखेको पिता भएकाले होला पढ्नका लागि इन्दिराले कुनै संघर्ष गर्नुपरेन । उनको स्मरणशक्ति तिखो थियो, एकपटक सर्सर्ती पढेको चिज स्मरण भइहाल्ने । विद्यालयका किताब घरमा खासै पढ्दिनथिन् । यो देखेर उनलाई बुवाआमाले गाली गर्थे, स्कुलको किताब पढिन भनेर । उनलाई यसरी करबलमा पढ्नु नै ‘बेकार’ जस्तो लाग्थ्यो । उनलाई त नाच्न र गाउन मनपर्थ्यो । राम्ररी अक्षर चिन्न थालेपछि भने उनले घरमा भएका कोर्सबाहिरका किताब पढ्न थालिन् ।
विराटनगरमै साझा प्रकाशन आएपछि पिता आफैँले त्यहाँबाट नियमित रूपमा किताब किनेर ल्याउँथे । इन्दिरा मातापिताको आँखा छलेर ती किताब पढिहाल्थिन् । ‘अहिले नै यस्तो किताब पढ्न बेला भएको छैन’ भनेर आमाले बारम्बार सम्झाइरहन्थिन् । आमाको अगाडि ‘हस्’ भने पनि उनको मनले के मान्थ्यो र ? पितालाई विद्यालय र कलेज पढाउँदै फुर्सद थिएन । आमा साक्षर त थिइन्, तर घर–खेतको काममा व्यस्त रहिन्थन् । घरमा कोही नभएका बेला इन्दिराका हात ती किताबतिर पुगिहाल्थे । यसरी घरमा भएका साहित्यका सारा पुस्तक उनले सानै उमेरमा पढेर भ्याइसकेकी थिइन् ।
एकल परिवार थियो । इन्दिरापछि अरु दुईजना भाइबहिनी जन्मेका थिए । आमालाई घरकै कामले भ्याइनभ्याई हुन्थ्यो । छोराछोरीलाई एक ठाउँमा टिकाएर राख्न इन्दिराकी आमालाई गाह्रो हुन्थ्यो तर इन्दिराको कमजोरी थियो, ‘दन्त्य कथा’ । छोरीलाई घरमै टिकाउनुपर्यो, केही काम गराउनुपर्यो वा जुम्रै हेरिदिनुपर्यो भने पनि आमाले भाका हालीहाली कथा सुनाउँथिन् । आमाले सुनाएका कथामा आउने पात्र र घटनाले इन्दिरा मुग्ध बनाउँथ्यो । ‘त्यतिबेला म आमाका कथाबाट निकै प्रभावित थिएँ,’ उनी भन्छिन् ।
कथामा पनि उनलाई शिशिर र वसन्तको कथा मनपर्ने । आमालाई यी कथा आफैँले बुनेर सुनाएको जस्तो इन्दिरालाई लाग्थ्यो । हरेकपटक यो कथा सुनाउँदा र सुन्दा इन्दिरा र उनकी आमा दुवै रुन्थे । ‘आमाले के सोचेर रुनुहुन्थ्यो, मलाई थाहा छैन । म चाहिँ अब मेरी आमा मर्नुहुन्छ, अनि आमा मरेपछि बुवाले सौतेनी आमा ल्याएर हामीलाई पनि मुटु लिएर आइज भन्दै जङ्गल पठाउनुहुन्छ भन्ने सोचेर रुन्थेँ,’ इन्दिरा बालपनका आफ्ना संवेदना सम्झन्छिन् । इन्दिराकी आमा बिरामी परिरहन्थिन् । त्यसैले पनि उनको मनमा यस्तो सोच आउँथ्यो ।
यसरी आमाले उनलाई कथा सुन्ने लतमा पारिन् । पछि आफू केही बुझ्ने भएपछि इन्दिराले पनि भाइबहिनीलाई कथा सुनाउँथिन् । अक्षर चिनेर राम्रोसँग पढ्ने भएपछि उनले घरमा दन्त्य कथाका किताब भेटाइन्, जुन कथा उनलाई आमाले पहिले नै सुनाएकी थिइन् । आमाले कथा छोटकरीमा सुनाउँथिन् । कथाका किताबमा उनले कैयौँ नयाँ कुरा भेटिन् । गुरुप्रसाद मैनालीको नासो पढेपछि इन्दिराले पहिलोपटक कथा लेख्ने कोसिस गरेकी थिइन् ।
इन्दिराको जीवनमा देवकीदिदी (बाल साहित्यकार देवकुमारी थापा)ले निकै ठुलो प्रभाव पारेकी छन् । थापासँग इन्दिराका पिताले भाइटीका लगाउँथे । इन्दिरालाई संसारमा कसैसँग पनि डर लाग्दैनथ्यो तर पितासँग अचम्मैसित डराउँथिन् । सानैदेखि उनलाई पिताले ‘तह’मा राखेका थिए । कसैसँग पनि नझुक्ने पिता थापासँग भने निकै अदबका साथ बोल्ने गरेको एक दिन इन्दिराले देखिन् । पितालाई थापाले अर्ति–उपदेश पनि दिइरहिन्थिन् । संसारमा कसैसँग नझुक्ने बुबा थापासँग झुकेको देख्दा उनलाई पहिला त अचम्म लाग्यो । थापा साहित्यकार भएकाले पनि उनलाई बुुबाले त्यस्तो सम्मान गरेको ठानिन् । त्यसपछि आफू पनि पिताले ‘मान्ने मान्छे’ थापाजस्तै बन्ने प्रण लिइन् । इन्दिरा भन्छिन्, ‘उहाँ मेरो जीवनमा नआएको भए सायद मैले कहिले पनि साहित्य कर्म गर्दिनथेँ कि !’
२०३० सालदेखि मोफसल र राष्ट्रिय स्तरका पत्रिकामा इन्दिराका कथा, कविता छापिन थालेका हुन् तर उनको पहिलो कृति भने २०५१ सालमा मात्रै प्रकाशित भयो । इन्दिरा आफैँलाई पनि जस्तो पायो त्यस्तै किताब मननपर्ने । किताबको हुलिया, त्यस भित्रका अक्षर सबै राम्रा चिटिक्क परेको हुनुपर्छ भन्ने सोच्थिन् । आफूले सोचेजस्तो भएपछि नै उनको पहिलो कथा संग्रह ‘मन सायद उघ्रँदैन’ (२०५१) प्रकाशित भएको उनी बताउँछिन् ।
आर्थिक रूपमा सबल भएकाले यो कृति छपाउँदा खासै दुःख भएन । यो संग्रह उनले आफैँ २२–२५ हजार रुपैयाँ खर्च गरेर छापेकी थिइन् । ‘हजार प्रति छापेकी थिएँ । सबै बाँड्दा बाँड्दै अहिले आफूसँग एउटा पनि छैन,’ उनले भनिन् ।
उनका अप्रकाशित २०–३० वटा किताब कम्प्युटरमै थन्किएका छन् । ‘ती नयाँ किताब छाप्नु कि त्यो पुरानो किताब अर्काे संस्करण छापेर बाँड्दै हिँड्नु ?’ पहिलो कृतिको दोस्रो संस्करण किन निकाल्नुभएन भन्ने प्रश्नमा उनले भनिन् ।
पहिलो कथा संग्रहमा २०३० सालदेखि नै पत्रपत्रिकामा छापिएका कथाहरु समेटिएका छन् । महिलालाई लेखनमा आउन सहज छैन । घर–परिवार, छोराछोरीको जिम्मेवारी आइहाल्छ । ‘छोराछोरीहरू अलिकति बुझ्ने नहुने बेलासम्म चाहिँ गाह्रो हुने रहेछ,’ उनी भन्छिन्, ‘केही समय मेरो लेखनमा अवरोध पनि भयो तर छोरीहरू स्कुल जान थालेपछि भने लेखनका लागि केही समय पाएँ ।’
पहिलो कथा संग्रहमा छापिएका प्रायः सबै कथामा आफू भएको उनी बताउँछिन् । इन्दिराको ४ वटा उपन्यास विश्वामित्र (२०५५) , रनमाया (२०५८), शिखा (२०५९), उसको लोग्ने र बिरालो (२०६०) प्रकाशित छन् । यसमध्ये दुई अंग्रेजीमा अनुदिन छन्— ‘द हसब्यान्ड एन्ड द क्याट’ र ‘रनमाया’ शीर्षकमा ।
एउटा लघु कथा संग्रह समेत गरेर इन्दिराका पाँच कथासंग्रह छन् । उनको दोस्रो कथा संग्रह हो, ‘बयान’ (२०५५) । त्यसपछि ‘दोस्रोसत्ता’ (२०६२), ‘मेरो कथा नलेखिदिनू (लघु’ कथा संग्रह २०७४), ‘बघेनी’ (२०७९) प्रकाशित भए । ‘मेरो कथा नलेखिदिनू’ अंग्रेजीमा पनि अनुदित छ, ‘डु नट इन्स्क्राइब माई स्टोरी प्लिज’ शीर्षकमा ।
यस्तै उनका सात कविता संग्रह प्रकाशित छन्— ‘बाईपङ्खी घोडा’ (२०५७), ‘तिमी हुनुको’ (लामो कविता, २०५७), ‘नेपाल न्यूज डट कम’ (२०५९), ‘माल्दाइलाई चिठी’ (२०६१), ‘ए समुद्र !’ (लामो कविता, २०६३), ‘शारदा’ (लामो कविता, २०६९) र ‘धिपधिप’ (अर्गानिक कवितासङ्ग्रह, २०७७) गरेर सात कविता संग्रह प्रकाशित छन् । यसमध्ये ‘तिमी हुनु’ संग्रह अंग्रेजीमा पनि अनुवाद भएको छ ।
युवावस्थामा इन्दिराहरूले मिलेर विराटनगरमा युवा साहित्यिक समूहको गठन गरेका थिए । हप्तैपिच्छे कार्यक्रमहरू गरेर कविता वाचन गर्थे तर प्रजातन्त्रका लागि आन्दोलन चलिरहेकाले यसरी जम्मा भएर कार्यक्रम गर्दा बेलाबेला समस्यामा परेको, प्रहरीको आँखामा तारो बनेको अनुभव उनले सुनाइन् ।
इन्दिरा आफूलाई ‘महिला’ साहित्यकार भन्न रुचाउँदिनन् । ‘हरेक मान्छे केवल मान्छे हो । साहित्यकारको लिंग हुँदैन,’ उनी भन्छिन्, ‘ऊ साहित्यकार मात्रै हो ।’
के कुरा वा कसले प्रेरित गरेर इन्दिरा यसरी लेखनमा सक्रिय भएकी होलिन् ? ‘मलाई दुःख पर्यो, एकदमै गाह्रो भयो, कुनै कुराले पीडा दियो, कसैको वचनले चित्त चिमोटिदियो भने म कविता लेख्छु । लेखन भनेको लत हो,’ उनी भन्छिन्, ‘जोसँग दोस्रो बिहे गरेँ, उहाँ (नरेन्द्रराज प्रसाई) हो मलाई प्रभावित गर्ने र प्रेरित गर्ने । उहाँ मेरो जीवनमा नआउनुभएको भए म यहाँसम्म आउनै सक्दिनथेँ । मैले लेख्न त सक्छु तर यसलाई प्रकाशित गर्ने, कृतिहरू पढेर हौसला दिने मान्छे पनि कोही न कोही चाहियो नि जीवनमा ।’

१९ वर्षको उमेरमा इन्दिराले प्रेम विवाह गरेकी थिइन् । केही वर्ष पुरानो प्रेम सम्बन्धलाई आमाबुबाको अनुमतिमै वैवाहिक सम्बन्धमा परिणत गरेकी थिइन् । श्रीमान्श्रीमती एक अर्कासँग इमानदार हुनुपर्छ भन्ने इन्दिराको सोच थियो तर श्रीमानको व्यवहार इमानदार नपाएपछि उनले २०५५ सालमा सम्बन्ध विच्छेद गरिन् ।
पहिलो विवाहबारे उनी बोल्न चाहन्नन् । ‘मैले यस विषयमा धेरै बोलेकी छु तर त्यो गइसकेको कुरा कति सम्झनु ? जिन्दगीको लामो समय बिताएको मान्छे हो । विगतमा जे जे भयो, भयो तर यसबारे अहिले म धेरै बोलिनँ है,’ उनले भनिन्, ‘श्रीमान्–श्रीमतीको सम्बन्ध भनेको यस्तो हो कि मिल्दासम्म त्यो जति सुन्दर अरु केही हुन्न । एकपटक सम्बन्ध बिग्रिएपछि त्योभन्दा खराब सम्बन्ध पनि संसारमा केही हुन्न ।’
इन्दिरा आफूलाई ‘महिला’ साहित्यकार भन्न रुचाउँदिनन् । ‘हरेक मान्छे केवल मान्छे हो । साहित्यकारको लिंग हुँदैन,’ उनी भन्छिन्, ‘ऊ साहित्यकार मात्रै हो ।’
७४ वर्षको उमेरमा इन्दिराकी आमा दुर्गादेवी नेपालले ‘बगेको खोला’ शीर्षकमा आफ्नो आत्मकथा प्रकाशित गरेकी थिइन् । यो प्रसंग पनि इन्दिराका लागि ऊर्जा हो । ‘लेख्नु त छ नै तर आफूलाई जित्ने गरी लेख्न सके भने मात्रै लेख्छु म तर आजकल म किताब छाप्नु हुँदैन भन्नेमा पुगिसकेँ,’ कुराकानीको अन्त्यमा इन्दिराले भनिन्, ‘किताब छापेर कागज नाश, जङ्गल त्यसै नाश भइरहेको छ । बरु पीडीएफ बनाइदिने अनि वेबसाइटमा राखिदिने नि !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण