बढ्दो शल्यक्रिया : प्राकृतिक जन्ममा बाधा
सारांश
- नेपालका अस्पतालहरूमा अनावश्यक शल्यक्रिया बढ्दै गएको छ, जसले प्राकृतिक प्रसवलाई घटाइरहेको छ।
- चिकित्सकहरूले शल्यक्रियाको लागि दबाब दिने र आर्थिक कारणले पनि शल्यक्रिया बढिरहेको देखिन्छ।
- स्वास्थ्य विज्ञहरूले शल्यक्रियाको बढ्दो दरलाई नियन्त्रण गर्न जनचेतना आवश्यक रहेको बताएका छन्।
काठमाडौँ । सोह्र महिनाअघि विपना मास्के (नाम परिवर्तन) लाई प्रसव पीडा सुरु भएपछि परिवारले उनलाई काठमाडौँस्थित मोडल अस्पतालमा पुर्यायो । समय बित्दै जाँदा उनको पीडा क्रमशः बढ्दै थियो । अस्पताल पुगेको तीन घण्टापछि, चिकित्सकले शल्यक्रिया गर्न सुझाव दिए । आमा र बच्चाको स्वास्थ्यमा कुनै जटिलता नआएसम्म प्राकृतिक रूपमा नै बच्चा जन्माउने उनको इच्छा थियो, जुन कुरा उनले चिकित्सकहरूलाई स्पष्टसँग बताएकी थिइन् । तर, चिकित्सकहरूले भने शल्यक्रियाकै लागि अप्रत्यक्ष रूपमा दबाब दिइरहेका थिए ।
एक चिकित्सकले जोड दिँदै भनिन्, ‘व्यथा लागेको धेरै भयो, तिमीले आफैँ बच्चा जन्माउन सक्दिनौँ ।’ पीडामा रहेकी मास्केले कारण सोधिन्, तर जवाफमा चिकित्सकले ‘हामीले भनेको नमान्ने भए तिमी जेसुकै गर’ भन्दै पन्छिइन् । प्राकृतिक रूपमा बच्चा जन्माउने तीव्र इच्छाका बाबजुद चिकित्सकको निरन्तर दबाबपछि उनी शल्यक्रिया गर्न बाध्य भइन् ।
यस्तै अर्को घटना मीना राईको पनि छ । जो पेसाले मिडवाइफरी हुन् । उनले आफ्नो गर्भको नियमित जाँचका लागि काठमाडौँको नाम चलेको अल्का अस्पताल रोजेकी थिइन् । ६ घण्टासम्म प्रसव पीडा भएपछि उनलाई पनि चिकित्सकहरूले शल्यक्रिया गर्न सुझाए । उनको पेसाबारे अस्पतालका कसैलाई थाहा थिएन, तर उनी आफ्नो स्वास्थ्य अवस्थालाई नजिकबाट नियालिरहेकी थिइन् । जब व्यथा लागेको साढे सात घण्टा पुग्यो, चिकित्सकहरूले शल्यक्रियाको तयारीका लागि उनका श्रीमानलाई रगत र अन्य व्यवस्था मिलाउन आग्रह गरे ।
राई सकेसम्म शल्यक्रिया नगर्ने र प्राकृतिक रूपमै बच्चा जन्माउने पक्षमा थिइन् । तर, अस्पतालले उनको इच्छाविपरीत शल्यक्रियाको तयारी थालिसकेको थियो । त्यसपछि उनी चिकित्सक र परिवारका सदस्यको कुरा नसुनी, आफ्नै विवेकले अर्को अस्पताल पुगिन् र व्यथा लागेको ११ घण्टामा प्राकृतिक रूपमा एक स्वस्थ बच्चालाई जन्म दिइन् ।
माथिका यी दुई प्रतिनिधि घटनाले नेपालका अस्पतालहरूमा बढ्दो अनावश्यक र जबर्जस्ती शल्यक्रियाको भयावह अवस्थालाई चित्रण गर्छन् । यहाँ चिकित्सक र अस्पतालहरूले नै विभिन्न कारण देखाएर शल्यक्रियाका लागि निरन्तर दबाब सिर्जना गर्छन्, जसले प्राकृतिक रूपमा हुने जन्मदरलाई निरन्तर घटाउँदै लगेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को मापदण्डअनुसार कुल सुत्केरीमध्ये १० देखि १५ प्रतिशतभन्दा बढी अवस्थामा शल्यक्रिया आवश्यक नै पर्दैन । तर, काठमाडौँमा प्रसूति सेवा दिँदै आएका ४५ वटा अस्पतालको तथ्यांक हेर्ने हो भने त यो दर निकै भयावह छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार २०७७/२०७८ मा नर्मल डेलिभरी १७ हजार ३१० हुँदा शल्यक्रियाबाट १५ हजार १३३ जनाले, २०७८/२०७९ नर्मल २० हजार १७५ हुँदा शल्यक्रियाबाट १७ हजार २२१ जनाले प्रसूति गराएका थिए । यसैगरी २०७९/२०८० मा १७ हजार ७८६ जानले नर्मल डेलिभरी गराउँदा शल्यक्रिया गराउने १७ हजार ७९३ जना थिए । २०८०/२०८१ नर्मल डेलिभरी १५ हजार ६२८ ले गराउँदा शल्यक्रिया गराउनको संख्या १७ हजार ८५६ थियो भने २०८१/२०८२ मा १५ हजार ४२६ जनाले प्राकृतिक तवरले बच्चा जन्माउँदा १६ हजार ४९४ जनाको शल्यक्रिया गराइएको थियो ।

यो तथ्यांकले काठमाडौँमा सञ्चालित निजी अस्पतालमा मात्र नभई सरकारी अस्पतालहरूमा समेत शल्यक्रियाको दर डरलाग्दो रूपमा बढेको देखाउँछ । विगतमा निजी अस्पतालमा शल्यक्रियाको दर उच्च भए पनि सरकारीमा सामान्य थियो, तर पछिल्ला दुई वर्षयता सरकारी अस्पतालहरू पनि शल्यक्रियामै जोड दिन थालिसकेका छन् । यसको सबैभन्दा ठुलो उदाहरण परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथली हो, जहाँ भर्ना भएकामध्ये करिब ५० प्रतिशतले शल्यक्रिया गराएको पाइएको छ ।
‘पहिलो पटक बच्चा जन्माउन कम्तीमा १०/११ घण्टा व्यथा लाग्छ, तर अस्पताल र चिकित्सकलाई किन ११ घण्टा कुर्ने भन्ने लाग्छ । अनुभवी चिकित्सकका लागि एउटा शल्यक्रिया गर्नु २०–२५ मिनेटको खेल हो ।
आर्थिक वर्ष ०८१/८२ मा प्रसूति अस्पतालमा २० हजार सुत्केरी गराइएकोमा ९ हजार ११० जनाको शल्यक्रियामार्फत सन्तान जन्मिएको थियो भने १९१ जनाले भ्याकुममार्फत बच्चा जन्माएका थिए । यसैगरी ०७८/७९ मा २४ हजार ३७९ जना सुत्केरी हुँदा ९ हजार ११८ वटा र ०७९/८० मा २४ हजार ६७२ जना सुत्केरी हुँदा ९ हजार ८२१ जनाको शल्यक्रियाबाट बच्चा जन्मिएको अस्पतालको तथ्यांक छ ।

यौन तथा प्रजनन विशेषज्ञ डा. लक्ष्मी तामाङका अनुसार गर्भवती महिलाहरू प्रायः प्रसव पीडा सहन डराउँछन्, जसको फाइदा अस्पतालहरूले उठाइरहेका छन् । उनी भन्छिन्, ‘निजी अस्पतालमा नियमित जाँचका लागि जाने गर्भवतीलाई २४/२५ हप्ता कटेपछि चिकित्सकहरूले मनोवैज्ञानिक रूपमा शल्यक्रिया नै राम्रो विकल्प हो भन्ने भ्रम सिर्जना गर्छन् । स्वास्थ्यकर्मीले जे भन्छन्, त्यही मान्नुपर्छ भन्ने गलत बुझाइका कारण यस्तो भएको हो ।’
शल्यक्रिया बढ्नुको आर्थिक पाटो पनि रहेको उनी बताउँछिन्, ‘पहिलो पटक बच्चा जन्माउन कम्तीमा १०/११ घण्टा व्यथा लाग्छ, तर अस्पताल र चिकित्सकलाई किन ११ घण्टा कुर्ने भन्ने लाग्छ । अनुभवी चिकित्सकका लागि एउटा शल्यक्रिया गर्नु २०–२५ मिनेटको खेल हो । नर्मल डेलिभरी गराउँदा पैसा कम आउँछ, शल्यक्रिया गर्दा कम समयमै धेरै पैसा आउँछ ।’
यता, भेरी अस्पतालका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदी मुख्य सहरी क्षेत्रको तुलनामा बाहिरी जिल्लाहरूमा शल्यक्रियामार्फत बच्चा जन्माउने दर कम रहेको बताउँछन् । ‘ग्रामीण क्षेत्रमा बाध्यात्मक स्थितिमा शल्यक्रिया गर्नुपर्छ भन्दा पनि महिला र परिवार प्राकृतिक रूपमै जन्मदिन पाए हुन्थ्यो भन्नुहुन्छ । शल्यक्रिया अतिआवश्यक पर्दा पनि सम्झाइबुझाइ गर्नुपर्ने अवस्था हुन्छ,’ उनी तर्क गर्छन् ।
राजधानीका निजी अस्पतालहरूमा ९५ प्रतिशतसम्म शल्यक्रियामार्फत प्रसूति हुने गरेको अनुमान छ भने सरकारीमा यो दर ५० प्रतिशतको हाराहारीमा छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा देशभर ४ लाख २२ हजार ४९८ बच्चा जन्मिएका थिए, जसमा ४० प्रतिशत अर्थात् १ लाख ६८ हजार २१ जनाको जन्म शल्यक्रियामार्फत भएको थियो । जबकि २ लाख ५४ हजार ४७७ जनाले मात्र प्राकृतिक रूपमा बच्चा जन्माए ।
- २०८१/०८२ को प्रदेशअनुसार तथ्यांक
डा. सुवेदीका अनुसार बच्चाको धड्कन तलमाथि भएमा, बच्चाले गर्भमै दिसा गरेमा, बच्चा उल्टो वा तेर्सो बसेको अवस्थामा वा सामान्य सुत्केरी गराउन जोखिम भएमा मात्र शल्यक्रिया आवश्यक पर्छ । यस्तै, बच्चाको तौल सामान्यभन्दा धेरै भएमा पनि शल्यक्रियाको विकल्प रोज्नुपर्ने हुन्छ । आमाको स्वास्थ्य अवस्थाले पनि शल्यक्रियालाई बाध्यात्मक बनाउन सक्छ । आमाको रक्तचाप (ब्लड प्रेसर) धेरै बढेमा, मुटुसम्बन्धी कुनै पुरानो रोग भएमा वा पहिल्यै शल्यक्रिया गरिएको भए पुनः शल्यक्रिया गर्नुपर्ने स्थिति आउन सक्ने डा. सुवेदी बताउँछन् ।
- आमा र बच्चामा समस्या
आवश्यकताविना शल्यक्रियामार्फत सुत्केरी गराउँदा आमा र शिशु दुवैको स्वास्थ्यमा अल्पकालीन र दीर्घकालीन असर पुग्ने विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरूले देखाएका छन् । यद्यपि नेपालमा शल्यक्रियाको दर किन बढ्यो र यसले आमा तथा शिशुमा कस्तो असर पारिरहेको छ भन्नेबारे विस्तृत अध्ययन नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी स्विकार्छन् ।
२०२० अक्टोबर ३१ मा ‘अन्तर्राष्ट्रिय जर्नल अफ इन्भाइरोमेन्टल रिसर्च एन्ड पब्लिक हेल्थ’मा प्रकाशित एक अध्ययनले शल्यक्रिया गरेर जन्माइएका बच्चाहरूमा श्वासप्रश्वाससम्बन्धी संक्रमणको समस्या बढी हुने देखाएको छ । अध्ययनले योनी प्रसव (नर्मल डेलिभरी) बाट जन्मेका बच्चाहरूको तुलनामा शल्यक्रियाबाट जन्मेका बच्चामा मोटोपन, श्वास नलीमा संक्रमण, दम, टाइप–१ मधुमेह र न्यूरोलोजिकल विकारजस्ता समस्या बढी देखिने उल्लेख गरेको छ । अध्ययनमा शल्यक्रियाबाट जन्मेका ५० प्रतिशत बालबालिकामा दमको समस्या देखिएको थियो ।
यसका पछाडि अध्ययनले तीनवटा मुख्य कारण देखाएको छः
पहिलो, प्राकृतिक जन्म प्रक्रियामा शिशु आमाको योनीमार्गबाट निस्कँदा उसको छाती र फोक्सोमा स्वाभाविक रूपमा दबाब पर्छ, जसले फोक्सोमा जम्मा भएको तरल पदार्थ बाहिर निकाल्न मद्दत गर्छ । शल्यक्रियामा यस्तो नहुँदा तरल पदार्थ भित्रै रहन गई श्वासप्रश्वासको समस्या देखिन्छ ।
दोस्रो, प्राकृतिक जन्मका क्रममा शिशु आमाको योनीमार्गमा रहेका फाइदाजनक ब्याक्टेरिया (नर्मल फ्लोरा) को सम्पर्कमा आउँछ । यी ब्याक्टेरिया शिशुको शरीरमा प्रवेश गरेपछि उसको रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछन् । शल्यक्रियाबाट जन्मेका शिशु यो प्रक्रियाबाट वञ्चित हुन्छन् ।
अचम्म र चाखलाग्दो कुरा यो छ कि, प्राकृतिक रूपमा बच्चा जन्माउनुको सट्टा शल्यक्रिया रोज्नेहरूमा माध्यमिक शिक्षाभन्दा बढी शैक्षिक योग्यता भएका आमाहरूको संख्या उल्लेख्य छ ।
तेस्रो, प्राकृतिक प्रसवको लामो पीडाका कारण शिशुको शरीरमा तनावसँग लड्ने न्यूरो–ट्रान्समिटरहरू उत्पादन हुन्छन्, जसले उसलाई बाहिरी वातावरणमा अनुकूलन गर्न र रोगहरूसँग लड्न सक्षम बनाउँछ । शल्यक्रियामा यो प्रक्रिया पनि छुट्छ ।
शल्यक्रियाले आमालाई पनि दीर्घकालीन असर पार्छ । प्रसव पीडाबाट तत्कालका लागि उम्किए पनि शल्यक्रियापछि छिट्टै हिँडडुल गर्न नसक्ने, बच्चालाई सजिलै स्तनपान गराउन गाह्रो हुने, घाउ पाक्ने, लामो समयसम्म पेट दुखिरहने वा भित्री अंगहरू टाँसिने जस्ता समस्या देखिन सक्छन् । साथै, पहिलो बच्चा शल्यक्रियाबाट भएमा दोस्रो पटक पनि शल्यक्रिया गर्नुपर्ने बाध्यता बढ्छ ।
- हेराएर बच्चा निकाल्ने
अचम्म र चाखलाग्दो कुरा यो छ कि, प्राकृतिक रूपमा बच्चा जन्माउनुको सट्टा शल्यक्रिया रोज्नेहरूमा माध्यमिक शिक्षाभन्दा बढी शैक्षिक योग्यता भएका आमाहरूको संख्या उल्लेख्य छ । कक्षा १२ पास गरेका ४८ प्रतिशत, सम्पन्न घरपरिवारका ३८ प्रतिशत र सहरी क्षेत्रका २२ प्रतिशत महिलाले शल्यक्रियामार्फत बच्चा जन्माएको विभिन्न सर्वेक्षणले देखाएका छन् ।
सन् १९१६ मा जहाँ ८ प्रतिशत महिला मात्र स्वास्थ्य संस्थामा सुत्केरी हुन्थे, सन् २०२२ मा यो आँकडा ७९ प्रतिशत पुगेको छ । अहिले नेपालमा प्रत्येक ५ मध्ये ४ बच्चाको जन्म दक्ष स्वास्थ्यकर्मीबाटै हुन्छ ।
जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती शिक्षित महिलाहरू नै ज्योतिषलाई देखाएर शल्यक्रियामार्फत बच्चा जन्माउने गलत अभ्यासमा लागेको बताउँछिन् । भन्छिन्, ‘धेरै शिक्षित महिलाहरू प्राकृतिक प्रसव पीडालाई गाह्रो र शल्यक्रियालाई सजिलो मान्छन् । ज्योतिषलाई हेराएर राम्रो साइतमा बच्चा निकाल्दा उसको भविष्य राम्रो हुन्छ भन्ने धारणा बनाउनु अव्यावहारिक र चिन्ताजनक छ ।’

वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. सुवेदी पनि ‘यही दिन र यही समयमा बच्चा निकालिदिनुपर्यो’ भन्दै आउने दम्पतीहरूको संख्या बढिरहेको अनुभव सुनाउँछन् ।
तर, यस विषयमा ज्योतिषहरूको धारणा फरक छ । नेपाल पञ्चांग निर्णायक समितिका कार्यकारी अध्यक्ष, ज्योतिष पण्डित सूर्यप्रसाद ढुंगेल ज्योतिषलाई देखाएर शल्यक्रिया गराउनु र प्राकृतिक रूपमा जन्मनुमा तात्त्विक भिन्नता नहुने बताउँछन् । ‘स्वाभाविक रूपमा व्यथा लागेर जन्मेको होस् वा शल्यक्रिया गरेर निकालिएको होस्, धर्तीमा शिशु कुन समयमा आयो भन्ने कुरा नै प्रमुख हो । त्यसैले दिन हेराएर निकाल्नु र ननिकाल्नुले खासै फरक पार्दैन,’ उनी भन्छन् ।
उनले प्राकृतिक प्रक्रियालाई खलबल पुर्याउन नहुनेमा जोड दिए । ‘बाध्यात्मक अवस्थाबाहेक अन्य समयमा हेराएर बच्चा निकाल्नुको खासै अर्थ हुँदैन । प्राकृतिक प्रक्रियालाई जबर्जस्ती गर्दा केही न केही समस्या आउन सक्छ । त्यसैले शल्यक्रियाभन्दा नर्मल डेलिभरी नै उत्तम हो । जन्मपछि भाग्य बनाउने भनेको कर्मले हो, बच्चालाई असल वातावरण सिर्जना गरिदिने हो,’ उनले थपे ।
- शल्यक्रियासम्बन्धी जनचेतना
जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती सिजेरियन सेक्सनको बढ्दो दरलाई रोक्न जनचेतना नै सबैभन्दा ठुलो हतियार भएको बताउँछिन् । ‘नर्मल डेलिभरीका फाइदाहरू र प्रसव पीडा एउटा स्वाभाविक र आवश्यक प्रक्रिया हो भनेर बुझाउनुपर्छ,’ उनी भन्छिन्, ‘आमा र बच्चाको दीर्घकालीन स्वास्थ्यका लागि नर्मल डेलिभरीलाई प्रोत्साहन गर्नुको विकल्प छैन ।’
यता डा. तामाङका अनुसार सरकारले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनमार्फत सम्मानजनक प्रसूति सेवाको वकालत गरे पनि प्रमुख अस्पतालहरूमा ‘मेडिकल मोडल’ हाबी हुँदा गर्भावस्थालाई रोगका रूपमा हेर्ने प्रवृत्ति बढेको छ, जसले शल्यक्रियालाई प्रोत्साहित गरेको छ ।
‘अनावश्यक शल्यक्रियाबाट हुने प्रसूति दर डरलाग्दो रूपमा बढेको छ,’ उनी भन्छिन्, ‘प्रसूति गराउने देशको सबैभन्दा ठुलो अस्पतालमा नै शल्यक्रियाबाट हुने जन्मदर झन्डै ५० प्रतिशत हुनुले अवस्थाको गम्भीरता देखाउँछ । मेडिकल शिक्षा प्रदान गरिरहेका शिक्षण अस्पतालहरूमा यो दर झनै चिन्ताजनक छ ।’
ठुला अस्पतालहरूले गर्भावस्थालाई प्राकृतिक प्रक्रियाभन्दा जटिल स्वास्थ्य समस्याका रूपमा व्याख्या गर्दा अनावश्यक शल्यक्रियाले प्राथमिकता पाएको उनको जिकिर छ । उनी थप्छिन्, ‘जबसम्म गर्भावस्थालाई प्राकृतिक प्रक्रियाका रूपमा स्वीकार गरिँदैन र महिलाको शरीरलाई सिक्ने वा पैसा कमाउने माध्यमका रूपमा हेरिन्छ, तबसम्म यो समस्या समाधान हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण