बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

के धेरै गर्मीले बालबालिकाको गणित सिकाइ प्रभावित भइरहेको छ ?

आइतबार, १८ साउन २०८२, १६ : ११
आइतबार, १८ साउन २०८२

सारांश

  • अध्ययन अनुसार गर्मीको सम्पर्कमा रहँदा बालबालिकाहरूको सिक्ने क्षमतामा नकारात्मक असर पर्छ।
  • अस्ट्रेलिया र भारत लगायतका ६१ देशका विद्यार्थीहरू समावेश गरिएको अध्ययनले यो निष्कर्ष निकालेको हो।
  • जलवायु परिवर्तनका कारण युवाहरूको सिकाइ क्षमता प्रभावित हुनसक्ने र यसले सामाजिक असमानता बढाउन सक्छ।

काठमाडौँ । जलवायु परिवर्तन निकै गम्भीर समस्या बनेर विश्वसामु उभिएको छ । यस्तोमा हालै भएको एक अध्ययनले अचम्भित पार्ने खालेको कुरा बताएको छ ।

धेरै तापमानका कारण बच्चाको सिक्ने क्षमता प्रभावित हुने अध्ययनको निष्कर्ष छ । लामो समयसम्म गर्मीको सम्पर्कमा रहँदा बालबालिकाको सिक्ने क्षमतामा नकारात्मक असर पर्न सक्छ भनी अस्ट्रेलियाको रोयल मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी र युनिभर्सिटी अफ न्यु साउथ वेल्सका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनले देखाएको छ । 

अध्ययनका क्रममा अनुसन्धानकर्ताहरूले भारतसहित कुल ६१ देशका लगभग १ करोड ४५ लाख विद्यार्थी समावेश गर्ने पहिले प्रकाशित भइसकेका सात अध्ययनबाट प्राप्त तथ्यांकको समीक्षा गरेका थिए । पीएओएस क्लाइमेट जर्नलमा प्रकाशित अध्ययनको निष्कर्षअनुसार लामो समयसम्म गर्मीको सम्पर्कमा रहनाले विद्यार्थीहरूको सिकाइ क्षमतालाई असर गर्छ, जसले गर्दा गणितजस्ता जटिल विषयहरूमा सरल कार्यहरूको तुलनामा प्रदर्शन कमजोर हुन सक्छ । 

ग्रह तातो हुँदै जाँदा युवाहरूको सिक्ने क्षमता प्रभावित हुन सक्ने अनुसन्धान टोलीले भनेको छ । जलवायु परिवर्तनबाट आफूलाई जोगाउन नसक्ने कमजोर र कम आय भएका जनसंख्याको समानता र जीवनको गुणस्तर प्रभावित हुने कुरा पनि टोलीले औंल्याएको छ । सामाजिक विषमता बढ्ने अनि कम विकसित देशहरूमा गर्मीको अधिक सम्पर्कका आउनेहरूको आर्थिक प्रगतिमा बाधा पर्ने बताइएको छ । 

तापक्रमले कसरी असर गर्छ ?

विज्ञहरूका अनुसार हाम्रो शरीरले आफ्नो स्वस्थ तापक्रम कायम राख्न आफूलाई पर्याप्त मात्रामा चिसो पार्न सकेन भने तापको लहर देखिन्छ । यसले हाम्रो मस्तिष्कको संज्ञानात्मक कार्यहरू गर्ने क्षमतालाई कम गर्छ भनेर हालैका दिनमा इलिनोइस विश्वविद्यालय अर्बाना च्याम्पेनका स्नायुवैज्ञानिक र विद्युतीय र कम्प्युटर इन्जिनियरिङका सह–प्राध्यापक, लाभ वाश्र्नीले भनेका थिए । 

अत्यधिक गर्मीका कारण हाम्रो मस्तिष्कमा रगतको प्रवाह साथै अक्सिजनको आपूर्ति प्रभावित हुन्छ । जसका कारण मान्छे बेहोस होलाजस्तो स्थिति हुन्छ । उच्च तापक्रमले मस्तिष्क र रगतबिचको अवरोध तोड्छ र मस्तिष्कमा अनावश्यक प्रोटीन र आयनहरू जम्मा हुन थाल्छन् ।

मस्तिष्क सुन्निन थाल्छ र यसको सामान्य कार्यहरू अवरुद्ध हुन्छन् । मस्तिष्कका कोषहरू मर्न थाल्छन् । यति मात्र नभई शरीरलाई नियन्त्रण गर्ने मस्तिष्कको त्यो भाग पनि यसबाट प्रभावित हुन्छ, जसले पसिनामार्फत शरीरको तापक्रम नियन्त्रण गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप