पछिल्लो समय क्रिकेटमा सुदूरपश्चिमका खेलाडीको योगदान सबैभन्दा ठुलो छ – अध्यक्ष चन्द
सारांश
- क्यान अध्यक्ष चतुरबहादुर चन्दले सुदूरपश्चिमको क्रिकेट योगदानको प्रशंसा गरे।
- अध्यक्ष चन्दले पूर्वाधारको कमीप्रति चिन्ता व्यक्त गर्दै फाप्ला परियोजनालाई लिएर शंका व्यक्त गरे।
- उनले नेपाली क्रिकेटको सफलता र एनपीएलको सफलताको बारेमा जानकारी दिए र पूर्वाधार विकासमा जोड दिए।
धनगढी । नेपाल क्रिकेट एसोसियसन नेपाल (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटले पछिल्लो समय हासिल गरेको ऐतिहासिक सफलतामा सुदूरपश्चिम प्रदेशका खेलाडी र प्रशासनिक योगदान सबैभन्दा ठूलो रहेको बताएका छन् ।
खेलाडी उत्पादनको उर्वर भूमि मानिएको यही क्षेत्र पूर्वाधार विकासमा भने सबैभन्दा पछाडि परेकोमा उनले गहिरो चिन्ता व्यक्त गरे ।
धनगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष चन्दले नेपाली क्रिकेटलाई यहाँसम्म पुर्याउन सुदूरपश्चिमको भूमिका निर्णायक रहेको बताए ।
'प्रशासनिक रूपमा होस् वा खेलाडीको योगदानको हिसाबले नेपाली क्रिकेटमा सबैभन्दा ठुलो योगदान सुदूरपश्चिमको छ, उनले भने, 'संसारभरि नेपाललाई चिनाउने यो अभियानमा सबैभन्दा ठुलो योगदान गर्ने ठाउँको बासिन्दा हौँ हामी, यो हाम्रो लागि गौरवको विषय हो ।'
पूर्वाधारमा सुदूरपश्चिम सबैभन्दा कमजोर
अध्यक्ष चन्दले खेलाडी उत्पादनमा अब्बल भए पनि सुदूरपश्चिम पूर्वाधारमा सबैभन्दा कमजोर रहेको तथ्यले आफूलाई दुःखी बनाएको बताए । भने, 'अरू प्रदेशमा प्रदेश सरकारहरूले स्वामित्व लिएर उत्कृष्ट क्रिकेट मैदानहरू बनिरहेका छन्, तर यहाँ एउटा पनि अन्तर्राष्ट्रियस्तरको मैदान बन्ने प्रक्रियामा छैन,' उनले भने, 'यो हाम्रो कमजोरी हो, हामीले यहाँका स्थानीय र प्रदेश सरकारलाई कन्भिन्स गर्न सकेनौँ ।'
उनले हजारौं युवा खेलाडीहरू प्रशिक्षणका लागि भारतका विभिन्न सहरमा महँगो शुल्क तिरेर जान बाध्य भएका र स्वदेशमै पूर्वाधार हुने हो भने यो अवस्था नआउने धारणा राखे । चर्चित 'ड्रिम फाप्ला' परियोजनाबारे अध्यक्ष चन्दले यसको निर्माण प्रक्रिया र विशाल बजेटले यो सपनामै सीमित हुने हो कि भन्ने आशंका बढेको बताए ।
'फाप्लाको समग्र परियोजना एकैपटक बनाउनुको सट्टा, क्रिकेट मैदानको हिस्सालाई छुट्याएर तत्काल काम अघि बढाउनुपर्छ । अहिले क्रिकेटको क्रेज छ, क्रिकेटको आवश्यकता छ,' उनले भने । फाप्ला निर्माण समितिमा क्यानको आधिकारिक सहभागिता र समन्वय हुनुपर्नेमा उनको जोड थियो ।
'पछिल्लो एक वर्ष नेपाली क्रिकेटका लागि स्वर्ण युग'
अध्यक्ष चन्दले कोभिड महामारीपछि नेपाली क्रिकेटले एकपछि अर्को ठुलो सफलता हासिल गरेको बताए । ओडीआई मान्यता जोगाउनेदेखि विश्वकप छनोट खेल्ने, टी-२० विश्वकपमा पुग्ने, र आठ वर्षपछि यू-१९ टोलीलाई विश्वकपमा पुर्याउनेजस्ता सफलताले नेपाली क्रिकेटको उचाइ बढाएको उनको भनाइ थियो ।
एसीसी प्रिमियर कपजस्ता ठुला प्रतियोगिता नेपालमा आयोजना हुनु र भारत-पाकिस्तानजस्ता टेस्ट राष्ट्रसँग खेल्ने आम नेपालीको सपना पूरा हुनुलाई उनले ठुलो उपलब्धिका रूपमा व्याख्या गरे । 'यो सफलता कुनै एक वर्षको मात्र होइन, यो विगत चार वर्षदेखिको अथक् मिहिनेत र योजनाको परिणाम हो,' उनले भने ।
साथै उनले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएको र दोस्रो संस्करणको तयारी भइरहेको जानकारी दिए । उनले नेपाली क्रिकेटलाई अगाडि बढाउन सबै पक्षको सकारात्मक सहयोग आवश्यक रहेको र पूर्वाधार विकासका लागि मिडियाले पनि निरन्तर दबाब दिनुपर्ने आवश्यकता औँल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026