शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

‘द वाकिङ डेड’ की अभिनेत्री केली म्याकको निधन

बुधबार, २१ साउन २०८२, ११ : ३८
बुधबार, २१ साउन २०८२

सारांश

  • अमेरिकी अभिनेत्री केली म्याकको ३३ वर्षको उमेरमा निधन भयो, उनी ग्लियोमा नामक रोगबाट पीडित थिइन्।
  • उनले बाल कलाकारको रूपमा अभिनय सुरु गरिन् र 'द वाकिङ डेड' र 'शिकागो मेड' जस्ता सिरिजमा अभिनय गरिन्।
  • म्याक एक पटकथा लेखक र भ्वाइस आर्टिस्ट पनि थिइन्, जसले 'स्पाइडर म्यान: इन्टू द स्पाइडर भर्स' मा काम गरेकी थिइन्।

वासिङ्टन डीसी । अमेरिकी अभिनेत्री केली म्याकको निधन भएको छ । ३३ वर्षको उमेरको उनको मृत्यु भएको हो । शनिबार सिनसिनाटीमा अभिनेत्रीको निधन भएको परिवारले एउटा विज्ञप्तिमा बताएको छ । 

भेराइटीको रिपोर्टअनुसार उनी केन्द्रीय स्नायु प्रणालीको ग्लियोमा नामक रोगबाट पीडित थिइन् । ग्लियोमा मस्तिष्कको क्यान्सरको एक दुर्लभ र खतरनाक रोग हो । यो रोगले मस्तिष्क र स्नायु प्रणालीलाई प्रत्यक्ष असर गर्छ । 

केलीले आफ्नो घरमा अन्तिम सास फेरेको परिवारले एक विज्ञप्तिमा भनेको छ । अगस्ट ५ मा, केलीकी बहिनीले सामाजिक सञ्जाल पोस्टमा अभिनेत्रीको मृत्युको बारेमा जानकारी दिइन् । केली म्याकले २०१० मा हिन्सडेल सेन्ट्रल हाई स्कुलमा अध्ययन गरेकी थिइन् । २०१४ मा उनले च्यापम्यान विश्वविद्यालयको डज कलेज अफ फिल्मबाट छायाङ्कनमा स्नातक डिग्री प्राप्त गरेकी थिइन् । 

आफ्नो जन्मदिनमा सानो भिडियो क्यामेरा प्राप्त गरेपछि केलीले अभिनयमा रुचि देखाएकी थिइन् । यसपछि, उनी बाल कलाकारको रूपमा धेरै विज्ञापनहरूमा देखापरिन् । ‘द एलिफ्यान्ट गार्डेन’ फिल्ममा गरेको अभिनयबाट केलीले टिश स्कुल अफ द आर्ट्सबाट पुरस्कार प्राप्त गरिन् । यो फिल्मले २००८ मा ट्रिबेका फिल्म फेस्टिभलमा स्टुडेन्ट भिजनरी अवार्ड पनि जितेको थियो । 

अभिनेत्री हुनुको अलावा उनी एक पटकथा लेखक पनि थिइन् । उनी आफ्नी आमा क्रिस्टन क्लेबानोसँग धेरै पटक पटकथामा काम गरेकी छिन् । उनीहरूले मिलेर ‘अन द ब्ल्याक’ नामक फिल्मको स्क्रिप्ट लेखेका थिए । 

यो १९५० को दशकमा कलेज बेसबलमा आधारित कथा थियो, जुन उनका हजुरबुबा हजुरआमासँग सम्बन्धित थियो ।  तर ‘द वाकिङ डेड’ र ‘शिकागो मेड’ जस्ता वेब सिरिजमा यिनको अभिनयलाई दर्शकले सबैभन्दा धेरै मन पराए । 

केली भ्वाइस आर्टिष्ट पनि थिइन् । यिनले ओस्कर विजेता स्पाइडर म्यानः इन्टू द स्पाइडर भर्सलगायतमा भ्वाइस आर्टिष्टको रुपमा काम गरेकी थिइन् । केलीको मृत्युको खबरले मनोरञ्जन उद्योगमा शोकको लहर छाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप