शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
एमाले कर्णाली

राष्ट्रिय राजनीतिमा आफ्नो स्थान खोज्ने एमाले कर्णालीको लक्ष्य

एमाले प्रदेश इन्चार्ज भन्छन्– केन्द्रीय पदाधिकारी भएर काम गर्न सक्ने क्षमता हामीसँग छ
बुधबार, २१ साउन २०८२, १६ : ४०
बुधबार, २१ साउन २०८२

सारांश

  • नेकपा एमालेमा कर्णालीको पहुँच केन्द्रीय पदाधिकारीमा कमजोर रहेकोमा नेताहरू असन्तुष्ट छन्।
  • कर्णालीका नेताहरूले आगामी विधान महाधिवेशनमा केन्द्रीय पदाधिकारीमा दाबी गर्ने तयारी गरिरहेका छन्।
  • पार्टी अध्यक्ष केपी ओली र यामलाल कँडेलबीचको सम्बन्धका कारण कर्णालीले अवसर गुमाएको चर्चा छ।

सुर्खेत । नेकपा एमालेको केन्द्रीय पदाधिकारीमा अहिलेसम्म कर्णालीको पहुँच हुन सकेको छैन । साङ्गठनिक र जनमतका हिसाबले कर्णालीमा एमाले बलियो भए पनि पार्टीभित्र जिम्मेवारीका हिसाबले उपेक्षामा पर्दै आएको छ ।

अन्य दुई ठुला दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको राष्ट्रिय राजनीतिमा कर्णालीका नेताहरूको प्रतिनिधित्व उल्लेख्यमात्र होइन, प्रभावशाली पनि छ । माओवादीका दुई उपमहासचिव जनार्दन शर्मा र शक्ति बस्नेत कर्णालीकै हुन् । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का पनि कर्णालीकै सुर्खेत निवासी हुन् । तर, एमालेको राष्ट्रिय राजनीतिमा भने कर्णालीको उपस्थिति शून्यप्रायः छ ।

पार्टीको स्थायी कमिटी र केन्द्रीय सदस्यमै कर्णालीका एमाले नेता सीमित छन् । ०७८ मंसिरमा चितवनमा सम्पन्न एमालेको दशौँ महाधिवेशनमा यामलाल कँडेलले सचिवमा दाबी गरेका थिए । एमाले कर्णालीका तत्कालीन सह–संयोजक कँडेलले भूगोलका आधारमा पनि कर्णालीले एउटा पदाधिकारी पाउनुपर्ने दाबी गरेका थिए । उनले सचिवका लागि मतसमेत माग्न सुरु गरिसकेका थिए ।

अन्तिममा कँडेल पदाधिकारीमा अटाएनन् । पार्टीको आगामी महाधिवेशनमा भने कर्णालीले बलियो उपस्थिति जनाउने तयारी सुरु भइसकेको छ । त्यसका लागि कर्णालीका एमाले नेताहरू अहिलेदेखि नै बहस र छलफलमा जुटेका छन् । नेताहरूले आगामी विधान महाधिवेशनमै त्यो कुरा राख्ने गरी तयारी थालेका छन् । एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म चल्नेछ । उक्त महाधिवेशनमा कर्णालीले केन्द्रीय पदाधिकारीमा आफ्नो स्थान खोज्ने एमाले कर्णाली प्रदेशका अध्यक्ष गुलावजंग शाहले बताए ।

सोमबार बसेको प्रदेश कमिटीको छैटौँ पूर्ण बैठकमा उक्त विषयले चर्चा पायो । मंगलबार बैठकका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमै अध्यक्ष शाहले भने, ‘कर्णालीमा जनमतदेखि साङ्गठनिक सबै हिसाबले सशक्त दल एमाले हो, अब पार्टीको राष्ट्रिय पदाधिकारीमा कर्णालीको सशक्त दाबी रहन्छ नै ।’

एमालेका नेताहरूका अनुसार सबै प्रदेशबाट कम्तीमा एक–एक जना पदाधिकारी अनिवार्य हुनुपर्ने कुरा उठिरहेको छ । त्यसमा कर्णालीले स्पष्टसँग पदाधिकारीमा दाबी गर्ने नेताहरू बताउँछन् ।

एमालेका एक केन्द्रीय सदस्य (कर्णाली) पार्टीको राष्ट्रिय राजनीतिमा मात्र नभई संसदीय राजनीति र संवैधानिक नियुक्तिमा समेत कर्णाली उपेक्षित रहेको बताउँछन् । ०७४ मा कर्णाली प्रदेश सभामा एमालेसँग २० सिट हुँदा पनि सरकारको नेतृत्व गर्ने अवसर पाएन । यामलाल कँडेलले पटक–पटक नेतृत्व लिने प्रयास गरे पनि एमाले केन्द्रकै कारण प्रदेश सरकारको नेतृत्व पाउन नसकेको आरोप कर्णालीका एमाले नेताहरूले लगाउने गरेका छन् ।

०७९ पुसमा एमाले–माओवादी गठबन्धनको सरकार बन्दै गर्दा पनि केन्द्रले नै कर्णालीमा एमाले नेतृत्वको सरकार बनाउन नचाहेकाले माओवादीको नेतृत्वमा सरकार गठन गर्नुपरेको एमालेकै नेताहरू बताउँथे । ती केन्द्रीय सदस्यका अनुसार नेताहरू पटक–पटक पार्टी केन्द्रमा धाउँदा पनि केन्द्रले बरु अन्य प्रदेशको नेतृत्व लिन खोज्ने तर कर्णालीलाई बेवास्ता गर्ने गर्थ्यो । केन्द्रको मन्त्रिपरिषदमा पनि एमालेबाट कर्णालीको उपस्थिति अहिलेसम्म बलियो रूपमा हुन सकेको छैन ।

‘साङ्गठनिक रूपमा कर्णालीमा एमाले बलियो हुँदा पनि पार्टी केन्द्रको उपेक्षाले न केन्द्रीय मन्त्री पाइन्छ, न त पार्टीकै केन्द्रमा कर्णालीको उपस्थिति बलियो छ,’ अर्का एक केन्द्रीय सदस्यले भने, ‘सधैँ कर्णालीले मागिराख्नुपर्ने भयो, तर पनि केन्द्रले कर्णालीको कुरा सुन्दैन । अहिले पनि केन्द्रमा एमाले नेतृत्वको सरकार छ, तर कर्णालीको एक जना पनि मन्त्री छैन ।’

उनका अनुसार पटक–पटकको दबाबका कारणमात्रै ०८० चैतमा कर्णाली सरकारको नेतृत्व एमालेले पाएको हो । त्यो गठबन्धन बदलिए लगत्तै ‘यो पटक कर्णालीको नेतृत्व हामीले पाउनुपर्छ’ भनेर कर्णालीका नेताहरूले पार्टी केन्द्रमा दबाब दिएका थिए । त्यसपछि मात्रै यामलाल कँडेल कर्णालीको मुख्यमन्त्री बनेका हुन् ।

नाम नखुलाउन आग्रह गर्दै एमालेका अर्का एक नेता भन्छन्, ‘कर्णालीले त्यो बेला पनि मागेर मात्रै सरकारको नेतृत्व पाएको हो ।’ एमाले केन्द्रका नेताले कर्णालीलाई मायाभन्दा दयाभाव देखाउने गरेको उनको भनाइ छ ।

एमाले प्रदेश कमिटीले आयोजना गरेको मंगलबारको पत्रकार सम्मेलनमा एमाले निकट प्रेस चौतारीका कर्णाली प्रदेश अध्यक्ष प्रेम सिम्खडाले नेताहरूलाई भने, ‘कर्णाली गरिब नै हो र ? सधैँ भूगोलको, कोटाको भनेर पदाधिकारीमा मगन्ते नहुनुहोस्, क्षमताका आधारमा पदाधिकारी ल्याउने ल्याकत राख्नुहोस् ।’

एमाले महासचिव शंकर पोखरेलले ०८० भदौ ६ मा वीरेन्द्रनगरस्थित एक होटलमा आयोजित कार्यक्रममा कर्णालीका एमाले नेताहरूले पार्टी केन्द्रमा उपस्थिति बलियो बनाउन नसकेको जिकिर गरेका थिए ।

‘सापेक्ष रूपमा यामलाल कँडेल र गोरख बोगटीजस्ता नेताहरूको योगदान रहे पनि केन्द्रमा भूमिका बनाउने कुरामा उहाँहरू आफैँले संघर्ष गर्नुपर्छ,’ पोखरेलको भनाइ थियो, ‘राष्ट्रिय राजनीतिमा भूमिका बनाउने कुरा पहिलो त व्यक्ति आफैँमा भर पर्छ । यहाँका नेताहरू कर्णालीमै केन्द्रित हुने कि राष्ट्रिय राजनीतिमा स्थापित हुने, त्यो उहाँहरूमा निर्भर रहन्छ । लादेर लिने भन्ने कुरा हुँदैन ।’

एमालेका कर्णाली प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीले भने उक्त कुरा अस्वीकार गरे । केन्द्रको पदाधिकारीमा जाने कर्णालीका नेताहरूको क्षमता नै नभएको हो ? भन्ने रातोपाटीको प्रश्नमा बोगटीले भने, ‘त्यो होइन, हामीसँग क्षमता पनि छ, काम गर्न सक्ने ल्याकत पनि छ ।’ बोगटीले आगामी विधान महाधिवेशनमा पार्टीको केन्द्रीय पदाधिकारीमा कर्णालीको दाबी रहने प्रस्ट पारे । 

gorakh bogati (1)

  • यामलाल–ओली सम्बन्ध

यामलाल कँडेल एमालेभित्र इमानदार र सच्चा कम्युनिस्ट आचरण भएका नेतामा पर्दछन् । उनी प्रायः नेताकहाँ धाइरहने, नेतृत्वले जे गर्दा पनि गुनगान गाइरहने स्वभावका छैनन् । जसका कारण पनि उनी पार्टी केन्द्रका नेताहरूको उपेक्षामा पर्ने गरेको चर्चा हुन्छ ।  कर्णालीमा भने कँडेल प्रभावशाली नेता हुन् । एमाले कर्णालीमा अझै पनि उनी शक्तिशाली छन् । 

यसअघि कँडेल र पार्टी अध्यक्ष ओलीबिच पानी बाराबार छ भन्ने गरिन्थ्यो । कतिपयले कर्णाली उपेक्षामा पर्नुका पछाडि कँडेल—ओली सम्बन्ध समधुर बन्न नसक्नुलाई पनि अर्थ्याउने गर्छन् ।

०७४ देखिनै प्रदेशको नेतृत्व गर्ने भन्दै प्रदेश झरेका कँडेल प्रदेश सभामा २० सिट हुँदा पनि सरकारको नेतृत्व गर्ने अवसरबाट वञ्चित हुनुप¥यो । त्यसयता कँडेलले मुख्यमन्त्री बन्न पटक–पटक विद्रोह गरे, पार्टी केन्द्र (ओली) को असहयोगका कारण उनी मुख्यमन्त्री बन्न सकेनन् ।

०७९ मा पनि उनी प्रदेशमै बसे । उनले ०७९ को चुनावताका सरकारको नेतृत्व गर्ने गरी अघि बढ्ने भनेर चुनावी घोषणापत्रमै राखे । त्यो बेला पनि पार्टी केन्द्रले अरू प्रदेश रोज्यो भने कर्णालीमा माओवादीलाई सघाउने पक्षमा उभियो । 

स्वयं कँडेलले यसअघि पार्टी केन्द्रको असहयोगका कारण नै सरकारको नेतृत्व पाउनबाट एमाले चुकिरहेको बताएका थिए । कँडेल भन्थे, ‘मैले पार्टीभित्र बहस गरिरहेकै छु, त्यसो भन्दा लिडरहरूलाई कहिलेकाहीँ लाग्नुपर्ने हो– ए, यसले त यसो भनिरहेको छ । तर कतिपय हाम्रै भित्रकाहरूले फलानाको विरोधीका अर्थमा बुझ्ने, आफू राम्रो, बाँकी नराम्रो हुने तरिका भयो । दलले नै सरकारको नेतृत्व गर्ने भएका हुनाले सोच्नुपर्ने हो, हाम्रै दलबाट भएन ।’

ओलीका कतिपय गतिविधिलाई कँडेलले समर्थन गर्दैनथे । एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनमा कँडेलले ओलीको चाहना र निर्देशन विपरीत गुलावजंग शाह पक्षधर टिमलाई नै निर्वाचित गराउन सफल भएका थिए । जबकि ओलीले सर्वसम्मत तरिकाले अघि बढ्न भनेका थिए । 

kp_Ef4pP3v7hj

ओलीले ‘सिग्नल’ दिएका नेताहरू पराजित भए । त्यसलगत्तै ओली मध्यपश्चिम विश्वविद्यालयको एक कार्यक्रममा आएका थिए । त्यो वेला ओली—कँडेलबिच चर्काचर्की नै परेको थियो ।

कँडेलले तल प्रदेश कमिटी पनि आफैले चलाउने हो ? भन्दै ओलीलाई प्रतिप्रश्न गरेको कुरा बाहिर आएको थियो । त्यसपछि ओलीसहितको प्रदेश कमिटीको बस्ने भनिएको बैठक नै बस्न सकेको थिएन । काठमाडौँ पुगेपछि ओलीले कर्णालीमा समस्या देखिएको भन्दै ०८० माघमा कर्णालीका नेताहरूलाई पार्टी ‘हेडक्वाटर’मै बोलाएर छलफल गरेका थिए । 

ओलीले भनेका थिए, ‘पोलिटब्यूरो सदस्यले तल (प्रदेश अध्यक्ष बन्नेगरी) झर्नु हुँदैन भनेको थिएँ । लक्ष्मी पोखरेल, मोहन बानियाँ र भैरवसुन्दर श्रेष्ठले भेट्न आएर हामीमध्ये एक जनाले नेतृत्व गर्छौं भन्दा मैले हुन्न भनेको हो ।’ आफ्नो निर्देशन विपरीत कर्णालीमा निर्णय लिइएको ओलीले भनेका थिए । 

‘केपी ओलीलाई देखाइदिने भनेर लाग्नुभयो, साथीहरूले बिर्सनुभएन म पार्टीको अध्यक्ष हो । संसदीय दलको नेता हो,’ ओलीले यामलाल कँडेलतर्फ संकेत गर्दै भनेका थिए । 

ओलीको चाहना विपरीत पोलिटब्यूरो सदस्य गुलावजंग शाहलाई कँडेलले प्रदेश अध्यक्ष बनाएर देखाइदिएका थिए । ०८० चैतमा मुख्यमन्त्री बनेदेखि भने कँडेल र ओलीबिचको सम्बन्धमा सुधार भएको बताइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप