नेप वेष्ट विवाद : बालेनलाई अदालतकाे झड्का
सारांश
- पाटन उच्च अदालतले काठमाडौं महानगरपालिकाको नेप वेष्टसँगको सम्झौता रद्द गर्ने निर्णय बदर गरेको छ।
- अदालतले परियोजनालाई अघि बढाउन र समन्वयका लागि प्रधानमन्त्री कार्यालयलाई परमादेश जारी गरेको छ।
- महानगरपालिकाले परियोजना फिर्ता पठाउने निर्णय एकलौटी भएको भन्दै अदालतले प्रश्न उठाएको छ।
काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि नेप वेष्टसँग भएको सम्झौता एकतर्फी रूपमा रोक्ने काठमाडौँ महानगरपालिकाको निर्णयलाई पाटन उच्च अदालतले बदर गरेको छ ।
निवेदक वेष्टन प्रालिले दायर गरेको रिटमाथि फैसला गर्दै अदालतले रोकिएको परियोजना तत्काल अघि बढाउन र त्यसका लागि आवश्यक समन्वय गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाममा परमादेश जारी गरेको हो ।
न्यायाधीशद्वय श्री चन्द्रमणि ज्ञवाली र श्री हेमन्त रावलको संयुक्त इजलासले गरेको फैसलाले महानगरपालिकाको एकलौटी निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ ।
लगानी बोर्ड र वेष्टन प्रालिबिच २०७५ जेठ ९ गते भएको परियोजना विकास सम्झौता (पीडीए) भएको थियो । तर, २०७८ चैतमा काठमाडौँ महानगरपालिकाले आफैँ सञ्चालन गर्ने भन्दै परियोजना हस्तान्तरण गरायो । त्यसको एक वर्षपछि, २०८० वैशाख २३ गते, महानगरले परियोजना कार्यान्वयनमा कठिनाइ भएको भन्दै सम्पूर्ण कागजात लगानी बोर्डलाई फिर्ता पठायो । महानगरको यही कदमविरुद्ध वेष्टन अदालत पुगेको थियो ।
आदेशमा भनिएको छ, ‘परियोजना फिर्ता पठाउने निर्णय महानगर कार्यसमितिको हो वा नगरप्रमुखको हो? कुन तहको निर्णय हो भन्ने व्यहोरा उक्त पत्रमा खुलेको अवस्था देखिएन ।’
अदालतले बीस वर्षे, बहुपक्षीय र अर्बौँको वैदेशिक लगानी भएको राष्ट्रिय महत्वको परियोजनालाई एउटा पालिकाले मात्रै मनपरी ढङ्गले रोक्न नसक्ने स्पष्ट पारेको छ । अदालतले नेपालको संविधानको धारा २३२ ले व्यवस्था गरेको सङ्घ, प्रदेश र स्थानीय तहबिचको सहकारिता र समन्वयको सिद्धान्तलाई आत्मसात् गर्नुपर्नेमा जोड दिएको छ ।
यसै आधारमा अदालतले काठमाडौँ महानगरपालिका र अन्य सम्बन्धित पालिकाहरूबिच समन्वय गराई परियोजना कार्यान्वयनको वातावरण मिलाउन प्रधानमन्त्री कार्यालयलाई निर्देशनात्मक आदेश दिएको छ ।
साथै, आदेश कार्यान्वयनको प्रगतिबारे ३ महिनाभित्र लिखित जानकारी पेस गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई पनि जिम्मेवारी तोकिएको छ । यो आदेशसँगै महानगरको एकलौटी निर्णय बदर भएको छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण