बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गलवान झडपपछि पहिलो पटक चीन जाँदै भारतीय प्रधानमन्त्री मोदी

एससीओ शिखर सम्मेलनमा सहभागी हुने
बुधबार, २१ साउन २०८२, २१ : ५६
बुधबार, २१ साउन २०८२

सारांश

  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एससीओ शिखर सम्मेलनमा भाग लिन चीन जाने भएका छन्, जुन अगस्ट ३१ र सेप्टेम्बर १ मा हुनेछ।
  • सन् २०२० मा गलवान घाटीमा भएको भारत-चीन सैन्य झडपपछि मोदीको यो पहिलो चीन भ्रमण हुनेछ, र उनी अघि सन् २०१८ मा चीन गएका थिए।
  • भ्रमण अघि, मोदी अगस्ट ३० मा जापान जानेछन्, जहाँ उनले भारत-जापान शिखर सम्मेलनमा भाग लिनेछन्।

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन चीन भ्रमणमा जाने भएका छन् ।

उनको यो भ्रमण अगस्ट ३१ र सेप्टेम्बर १ मा हुनेछ । सन् २०२० मा गलवान घाटीमा भएको भारत-चीन सैन्य झडपपछि मोदीको यो पहिलो चीन भ्रमण हुनेछ । मोदी यसअघि सन् २०१८ मा चीन गएका थिए ।प्रधानमन्त्रीको रूपमा यो उनको छैटौं चीन भ्रमण हुनेछ, जुन पछिल्लो ७० वर्षमा कुनै पनि भारतीय प्रधानमन्त्रीको सबैभन्दा धेरै चीन भ्रमण भएको भारतीय पत्रिका भाष्करले लेखेको छ । 

चीन जानुअघि प्रधानमन्त्री मोदी अगस्ट ३० मा जापान पुग्नेछन् । त्यहाँ उनले भारत-जापान शिखर सम्मेलनमा भाग लिनेछन् । 

गत महिना जयशंकरले गरेका थिए चीन भ्रमण 

गत महिना भारतीय विदेशमन्त्री एस जयशंकरले चीन भ्रमण गरेका थिए, जहाँ उनले राष्ट्रपति सी चिनफिङ र विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरे । जयशंकरले जलस्रोतको तथ्यांक आदानप्रदान, व्यापार प्रतिबन्ध, एलएसीमा तनाव कम गर्ने र आतंकवाद तथा उग्रवादविरुद्ध कडा अडान लिनेजस्ता विषयमा छलफल गरेका थिए । यही भेटवार्ताले मोदीको चीन भ्रमणको लागि मार्गचित्र तयार पारेको समाचारमा जनाइएको छ । 

पछिल्लो पटक रुसमा भएको थियो मोदी र चिनफिङको भेट

मोदी र चिनफिङले पछिल्लो पटक अक्टोबर २०२४ मा रुसको कजानमा भएको ब्रिक्स शिखर सम्मेलनका क्रममा भेटवार्ता गरेका थिए । यस क्रममा दुवैबिच द्विपक्षीय वार्ता पनि भएको थियो । ५० मिनेट लामो उक्त वार्तामा प्रधानमन्त्री मोदीले भनेका थिए –सीमामा शान्ति र स्थिरता कायम राख्नु हाम्रो प्राथमिकता हुनुपर्छ । आपसी विश्वास, आपसी सम्मान र आपसी संवेदनशीलता हाम्रो सम्बन्धको आधार रहनुपर्छ ।

प्रधानमन्त्री मोदीको चीन भ्रमण सम्पूर्ण विश्व अमेरिकी राष्ट्रपति ट्रम्पको ट्यारिफ नीतिसँग जुधिरहेको वेला हुन लाग्दै छ । ट्रम्पले रुसी तेल र हतियार खरिद गरेको कारण देखाउँदै भारतमाथि २५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका छन् । 

चीनपछि भारत विश्वमा रुसी तेलको सबैभन्दा ठुलो खरिदकर्ता हो । भारतले हरेक दिन रुसबाट १७ दशमलव ८ लाख ब्यारेल कच्चा तेल खरिद गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप