शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सीडीएससीको व्यवस्थाले तरङ्ग

छुट्टाछुट्टै आईजीन नम्बर विवाद : नियमन कि नकारात्मक असर ?

लगानीकर्ता नै विभाजित, राजनीतिकस्तरकै लबिङमा इप्पान
बिहीबार, २२ साउन २०८२, १० : १३
बिहीबार, २२ साउन २०८२

सारांश

  • सीडीएससीले संस्थापक र साधारण सेयरका लागि छुट्टै आईजीन नम्बर अनिवार्य गर्ने व्यवस्था ल्याएको छ, जसको निजी क्षेत्रबाट विरोध भइरहेको छ।
  • विभिन्न सरोकारवालाहरू यस व्यवस्थाको पक्ष र विपक्षमा विभाजित छन्, कतिपयले यसले पुँजी बजारमा नकारात्मक असर पार्ने बताउँछन्।
  • आईजीन नम्बर फरक हुँदा सेयर धितो राखेर ऋण लिने प्रक्रियामा रोक लाग्ने र फेक कारोबार कम हुने सीडीएससीको तर्क छ।

काठमाडौँ । संस्थापक तथा साधारण सेयरका लागि छुट्टाछुट्टै आईजीन नम्बर अनिवार्य गर्नेगरी नेपालको एकमात्र धितोपत्र निक्षेप तथा क्लियरिङसम्बन्धी संस्था सीडीएस एण्ड क्लियरिङ (सीडीएससी) लिमिटेडले गरेको व्यवस्था यतिबेला चर्चामा छ । 

सीडीएसले धितोपत्र बोर्डमा उक्त (नयाँ सेयर निष्कासन हुने सेयरमा संस्थापक र साधारण सेयरका लागि छुट्टै आईजिन दिने) व्यवस्था सहितको निर्देशिका पठाएसँगै यतिबेला विभिन्न पक्षले त्यसको विरोध गरिरहेका छन् । विरोध मात्रै नभएर निजी क्षेत्रका ऊर्जा उत्पादक त राजनीतिकस्तरमा लबिङ समेत थालेको अवस्था छ ।

यो विषयमा बजारमा बहस भइरहँदा यसलाई लागु गर्नु हुन्छ कि हुँदैन भन्ने सम्बन्धमा दुईथरी धारणा देखिन्छ । खासगरी स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) यसलाई कुनै पनि हालतमा लागु गराउन हुँदैन भन्ने पक्षमा रहेको देखिन्छ । सीडीएस भने यसलाई लागु गराउनुपर्छ भन्ने पक्षमा समेत रहेको पाइएको छ । अहिले बोर्डमा विचाराधीन अवस्थामा रहेको निर्देशिकामाथि कसको पक्षमा ‘पासा पल्टिने’ हो अहिले पनि यकिन छैन । 

यद्यपि अझै पनि आम जनतामा यो के हो र यसले कस्तो असर (सकारात्मक वा नकारात्मक) गर्छ भन्नेमा अन्यौलता रहेको देखिन्छ । त्यसैले यो विषयमा बजारका लगानीकर्ता समेत दुई पक्षमा नै विभाजित भएको पाइन्छ । 

यहाँ हामी आईजीन तथा संस्थापक तथा साधारण सेयरका लागि यो छुट्टाछुट्टै उल्लेख गर्नुको कारण तथा प्रभाव र अहिले भइरहेको विरोधको कारणबारे चर्चा गर्नेछौँ । 

  • के हो आईजीन, यसले कसरी काम गर्छ ? 

केन्द्रीय निक्षेप प्रणालीमा आईजीन (आईएसआईएन) को पूरा अर्थ इन्टरनेशनल सेक्युरिटी आइडिन्टिफिकेसन नम्बर भन्ने हुन्छ । यो यस्तो नम्बर हो जसले कुनै पनि अभौतिक देशको सेक्युरिटी (सेयर, अग्राधिकार सेयर, डिवेञ्चर लगायत) लाई विश्वमै फरक रहेको भनेर बुझाउँछ । १२ वटा संख्या हुने यसमा पहिलो दुई वटा नम्बरले ‘कन्ट्री कोड’लाई जनाउँछ । 

बिचको ९ वटा नम्बरले ‘सेक्युरिटी आइडिन्टीफायर’लाई जनाउँछ भने अन्तिमको एउटा संख्यालाई ‘चेक डिजिट’ भनिन्छ । जसले लुन अल्गोरिदम (आईडिन्टीफिकेसन नम्बरलाई भ्यालिडेट) गर्ने काम गर्छ । अर्थात् कुनै पनि कम्पनीको त्यो नम्बरले त्यस कम्पनीलाई संसारको अर्को कुनै सेयर स्क्रिपसँग फरक देखाउँछ । यसको मुख्य विशेषता भनेको यही हो । 

तर, यस्तो आईजीन नम्बर एउटै कम्पनीको पनि फरक फरक हुन सक्छ । उदाहरणको लागि एउटा कम्पनीको सेयर र डिवेञ्चर दुवै बिक्री भएको छ र दोस्रो बजारमा सूचीकृत समेत छ भने यसको छुट्टाछुट्टै आईजीन हुन्छ । अग्राधिकार सेयर, म्युचुअल फण्ड लगायतको पनि यस्तो आईजीन हुन्छ । 

share-buy-and-sell_vTaM128jp8

सामान्यतया अन्य देशका साधारण सेयरको एउटै आईजीन नम्बर हुन्छ । नेपालमा भने बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीमा संस्थापक सेयर र साधारण सेयरका हकमा छुट्टाछुट्टै आईजीन नम्बर लिनसक्ने व्यवस्था रहँदै आएको छ । तर, त्यसबाहेकका कम्पनीका हकमा भने अहिलेसम्म सबै प्रकारका सेयरलाई एउटै आईजीन अनुसार कारोबार हुँदै आएको पाइन्छ । अहिले सीडीएस एण्ड क्लियरिङ लिमिटेडले त्यही संस्थापक सेयरलाई चिनाउने छुट्टै नम्बर लिनुपर्ने व्यवस्था गरेको हो ।

अहिले इप्पान लगायत संस्थाहरू संसारमा कहीँ पनि नभएको व्यवस्था नेपालमा लाद्न खोजिएको भन्दै विरोध गर्दै आएका छन् । वास्तवमा साधारण सेयरकै दुई आईजीन नम्बर संसारमा नभएको सत्य पनि हो । अर्कोतर्फ, नेपालको वित्तीय क्षेत्रमा यो वर्षौंदेखि चल्दै आएको पनि हो र अहिलेसम्म यसमा कुनै समस्या देखिएको पनि छैन, यो अर्को सत्य हो । त्यसो त, भौतिक रूपमा सेयर जारी गर्दा सेयरलाई संस्थापक र साधारण भनेर उल्लेख गरिएको हुन्छ, यो पनि एउटा पहिचान नम्बर नै हो ।

  • दुई वटा नम्बर हुँदाको फरक

अहिले इप्पान लगायत संस्थाले दुईवटा आईजीनको व्यवस्था कार्यान्वयन हुँदा लकिङ अवधिमै रहेका विभिन्न ५८ उद्योगको ८७ अर्ब रुपैयाँ बराबरको र ऊर्जा कम्पनीको मात्र ४७ कम्पनीको ५३ अर्ब रुपैयाँ बराबरको सेयर बन्धकमा रहने बताएको छ । त्यस्तै, आईपीओको पाइपलाइनमा रहेका ४३ कम्पनीको ४१ अर्ब रुपैयाँ बराबरको पुँजी बन्धक हुने भई पुँजी बजारमा ठुलो प्रभाव पार्ने इप्पानले जनाएको छ । 

गत साता इप्पानका अध्यक्ष गणेश कार्की र महासचिव बलराम खतिवडाले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा त यो व्यवस्थाले हाइड्रो क्षेत्रमा मात्रै नभएर सबै प्रकारका उत्पादनमूलक क्षेत्रमा पुँजी निरुत्साहित हुने, निजी क्षेत्रको लगानी रहेका पर्यटन, स्वास्थ्य, पूर्वाधार लगायतका उत्पादनमूलक उद्योगमा पनि पुँजी संकलन हुन नसक्ने उल्लेख गरिएको छ । त्यति मात्रै नभएर सेयर कारोबारमा समेत संकुचन आई बजारमा नकारात्मक असर पर्ने समेत इप्पानको तर्क छ । 

तर सीडीएससीको तर्क भने फरक छ । यो व्यवस्थाले संस्थापक सेयर र साधारण सेयरको फरक छुट्टयाउने र यसले फेक कारोबार तथा धितोको क्रमलाई निरुत्साहित गर्ने भएकोले यो व्यवस्था गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविन पन्दाक बताउँछिन् । 

दुई पक्षको आ–आफ्नै तर्क रहँदा अहिले एउटा आईजीनका कारण बजारमा समस्या रहेको विभिन्न सरोकारवालाको समेत स्वीकारोक्ति छ । खासगरी एउटै आईजीनमार्फत् सेयर कारोबार हुँदा सेयरको कारोबार तथा सेयर धितोमा राखेर ऋण लिने क्रम: बढेको छ । यसले वास्तविक क्षेत्रका कम्पनीलाई थप संकटमा पार्नसक्ने बुझाई सरोकारवालाको छ । 

उदाहरणका रूपमा कुनै कम्पनीले ५ मेगावाटको हाइड्रोपावर बनाउन १ अर्ब रुपैयाँ खर्च गरेको भने यसका लागि ३० करोड (३० प्रतिशत) बराबर स्वपुँजी जुटाउने र बाँकी ७० करोड (७० प्रतिशत) बैंकबाट ऋण लिने गर्छ । स्वपुँजी अन्तर्गतको ३० प्रतिशतलाई १०० रुपैयाँ मान्दा यसको ३० रुपैयाँ समेत साधारण सेयर निष्कासन (आईपीओ) मार्फत् उठाउने गर्छ । यसो गर्दा संस्थापक सेयरको हिस्सा जम्मा २१ प्रतिशतका झर्छ । 

यसरी संकलित रकम आईपीओ निष्कासन भएर कारोबार सुरु भएको ३ वर्षपछि स्वतः साधारण सेयरमा रूपान्तरण हुने व्यवस्था छँदैछ । त्यसरी साधारण सेयरमा रूपान्तरण भएपछि संस्थापक सेयरको स्वतः साधारण सेयरमा रूपान्तरण हुन्छ र आईजीन नम्बर समेत एउटै हुन्छ । अहिले पनि बैंक तथा वित्तीय संस्थाले संस्थापक र साधारण सेयरको हिस्सा परिवर्तन गर्दा यो भइरहेकै हो । त्यसैले ऊर्जा उत्पादकको अहिलेको लबिङ त्यही तीन वर्षको लागि रहेको देखिन्छ ।

अहिले एउटै आईजीन नम्बर हुँदा संस्थापक सेयर हुनेले बजारमा साधारण सेयरको मूल्यकै आधार लिएर उक्त सेयर बैंक तथा वित्तीय संस्थामा राखेर धितो समेत लिने गरेका छन् । आईजीन नम्बर फरक भएपछि यसमा रोक लाग्ने त्रास यतिबेला उनीहरूमा देखिन्छ ।

नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार अहिले सेयर धितोमा दिइने कर्जाको लोन–टू–भ्यालु रेसियो ७० प्रतिशत रहेको छ । १८० दिनको औसत बजार कारोबार मूल्यको सो प्रतिशत बराबरको ऋण बैंकले सेयरधनीलाई सो धितोमा दिन सक्छ । 

यदि साधारण सेयरको १००० रुपैयाँ मूल्य भएको कम्पनी रहेछ र एउटा व्यक्तिले एक लाख कित्ता संस्थापकले एक करोडमा किनेको रहेछ भने अहिले बजार मूल्य अनुसार उसको सेयर अहिले १० करोड पुगेको छ । राष्ट्र बैंकको नियम अनुसार यो धितोमा उसले ७ करोड (७० प्रतिशत) सम्म बैंकबाट ऋण लिन सक्छ, यो अवस्थाले जोखिमको अवस्थामा मुख्य लगानीकर्ता उम्किने र जनता र बैंकको पैसा मात्रै डुब्ने अवस्था रहन सक्छ । यदि आईजीन नम्बर फरक भएका बैंकहरूले यसलाई बजारमूल्य नभई नेटवर्थ वा अन्य सूचकका आधारमा मात्रै ऋण दिन्छन्, जुन निकै कम हुन्छ ।

त्यसो त, कतिपयले त सेयर रजिस्ट्रार (आरटीएस)सँग मिलेर अवैध रूपमा कारोबार नै गरिदिएको घटना समेत रहेको बताइन्छ । कुनै पनि सेयरको एउटै आईजीन नम्बर हुँदा यो सेयर संस्थापक हो कि साधारण हो भन्नेबारे केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) ले चिन्दैन । त्यस्तो अवस्थामा सेयर रजिस्ट्रारले चाहेमा यस्तो सेयर खरिदबिक्री हुन समेत सक्छ । आईजीन नै फरक हुँदा प्रणालीबाटै कारोबार रोक्का हुने भएकोले यसमा छेडखानी गर्ने कुनै सम्भावना हुँदैन ।

त्यसैले केही अभ्यासकर्ताहरू सीडीएससीको अहिलेको व्यवस्थालाई उपयुक्त मान्नुपर्ने बताउँछन् । बजारका जानकार देव गुरागाईँ यो व्यवस्था उपयुक्त र ल्याउनैपर्ने व्यवस्था रहेको बताउँछन् । ‘यसअघि दुई प्रकारको सेयर एउटै कोठामा राख्ने व्यवस्था थियो, तर संस्थापक सेयर ३ वर्षसम्म चलाउन पाइँदैन भनिएको थियो । अहिलेको निर्देशिकामा चलाउन नपाउने सेयरलाई छुट्टै कोठामा ताल्चा लगाएर राख्ने काम गर्न लागियो । त, यसले व्यवस्थामै फरक पर्ने अवस्था चाहिँ केही पनि होइन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप